आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

‘सामान्य चिनजान’ भनिएका राहुल महरा र वाङबीच ३ महिनामा १९५ पटक कुराकानी !

पूर्वसभामुख महराले दुई चिनियाँसँग गरेका थिए २२ पटक फोन संवाद
आइतबार, ३१ असार २०८०, २० : १८
आइतबार, ३१ असार २०८०

काठमाडौँ । असार ३० गते शनिबार रातोपाटीमा ‘सुन तस्करसँग पूर्वसभामुख महरा बाउछोराको कनेक्सन’ शीर्षकको समाचार प्रकाशन भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले समाचार तथ्यहीन र दुराशयपूर्ण रहेको भन्दै खण्डनसहितको विज्ञप्ति प्रकाशन गरे ।

तर पूर्वसभामुख समेत रहिसकेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकबीच सुन तस्करी भई विमानस्थलमा आइपुगेको मितिदेखि छानबिन सुरु भएको मितिसम्म २२ पटक कुराकानी भएको पाइएको छ ।

स्रोतबाट रातोपाटीलाई प्राप्त कल डिटेल्स रिपोर्ट (सीडीआर) अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको पाइएको हो । 

प्रहरीले सुन तस्करीमा संलग्न भनी किटान गरेका चिनियाँ नागरिक लुईसँग महराले ११ पटक कुराकानी गरेको पाइएको छ । त्यसैगरी अर्का तस्कर दाओजिन वाङसँग पनि महराले ११ पटक नै कुराकानी गरेको पाइएको छ । 

राहुल र वाङबीच १९५ पटक कुराकानी

रातोपाटीलाई प्राप्त कल डिटेल्स रिपोर्टमा प्रहरीले सुन तस्करीमा संलग्न भनी खुलाएका व्यक्ति वाङ र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराबीच सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्मको समयमा १९५ पटक कुराकानी भएको पाइएको छ । सो अवधिमा वाङले राहुललाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुलले वाङलाई १३१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । 

सुन तस्करीमा संलग्न भनिएका वाङले अर्का तस्कर लुईसँग १३ पटक मोबाइलमा कुराकानी गरेका छन् । त्यसैगरी वाङ र उनका चालक लोकेन्द्र पौडेलबीच ६५१ पटक कुराकानी भएको पाइएको छ ।

त्यस्तै वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाउने भन्दै सम्पर्कमा गएका श्याम साहलाई ५२ पटक टेलिफोन गरेका छन् भने साहले वाङलाई २०१ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ । वाङले भन्सार एजेन्ट भनिएका खुवाप्रसाद न्यौपानेलाई ५४ पटक टेलिफोन सम्पर्क गरेको पाइएको छ ।

d

जिल्ला अदालतबाट प्राप्त मिसिलबाट

नेता महराका छोरा राहुल महराले वाङका चालकसमेत रहेका लोकेन्द्र पौडेललाई ३६ पटक टेलिफोन सम्पर्क गरेका छन् । त्यस्तै राहुलले अशिन भन्ने व्यक्तिलाई ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक सम्पर्क गरेको पाइएको छ । 

यता वाङका सवारी चालक लोकेन्द्र पौडेल र श्याम साहबीच सो अवधिमा ९३ पटक कुराकानी भएको देखिएको छ भने श्याम साह र खुवाप्रसाद न्यौपानेबीच १३५ पटक कुराकानी भएको प्रमाण प्रहरीले अनुसन्धान प्रतिवेदनसहित गोप्य मिसिलमा समावेश गरेको छ ।

फलफूल व्यापारी होइनन् वाङ

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाङ फलफूल व्यापारी भएको र सामान्य चिनजान मात्रै भएको भने पनि वाङ फलफूल व्यापारी नभएर पहिले चीनमा मासु निर्यात गर्ने व्यवसायी थिए । 

राहुल महरासमेतका व्यक्तिहरूको सहयोगमा वाङले सुनसरीमा मासु प्रशोधन गरी चीनमा पठाउने गरी उद्योग सञ्चालन गरेका थिए । केही समय उनले त्यो उद्योगबाट मासु प्रशोधन गरी चीन पठाए पनि पछि क्वारेन्टाइन लगायतको समस्याका कारण उद्योग राम्रोसँग सञ्चालन भइरहेको थिएन । सोही समयमै वाङले भारतको बाटो हुँदै चीनसम्म मासु पुर्‍याएको स्रोतको दाबी छ । पछि उद्योगले गर्ने भनेको काम विपरीत उनले जडीबुटीको तस्करी सुरु गरेका थिए । प्रतिबन्धित जडीबुटीसहित यार्सागुम्बा लगायतका जडीबुटीको काम गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि प्रहरी प्रतिवेदनकै आधारमा वाङको उक्त उद्योग सरकारले बन्द गराएको थियो । 

मासु उद्योगका नाममा जडीबुटीको तस्करी गरेको भन्दै सरकारले उद्योग बन्द गराएपछि वाङ रेडिमेट कपडाको व्यापारमा लागेको पाइएको छ । देखिने गरी उनले गरेको काम भनेको रेडिमेड कपडाको व्यापार थियो । तर कपडा व्यापार थालेदेखि नै वाङले सुनको तस्करी गरेको प्रहरीको दाबी छ । 

वाङले अन्य मानिसको सामानसमेत चीनबाट नेपाल ल्याउन सहयोग गर्ने गरेको र अन्य देशबाट समेत सामान ल्याउन सहजीकरण गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

महरा परिवारसँग नजिकको सम्बन्ध, अन्य नेतासँग पनि नजिक

चिनियाँ व्यापारी दाओजिन वाङ र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पुरानो सम्बन्ध रहेको पाइएको छ । सामान्य नेपाली भाषासमेत बोल्ने वाङ र नेता महराबीच नजिकको सम्बन्ध रहेकै कारण महरा जेल परेको समयमा समेत वाङले पटकपटक लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रीहरू दिएको पहिले महरासँग नजिक रहेका एक सुरक्षाकर्मीले बताए । 

पछिल्लो समय चिनियाँ नागरिक वाङ महराका कान्छा छोरा राहुलसँग नजिक थिए । राहुलले नै वाङलाई लिएर परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र माओवादी केन्द्रका विभिन्न नेताहरूसँग भेटघाट गराउने गरेका थिए । वाङले नै माओवादी केन्द्रका प्रभावशाली नेता र उनका छोराछोरी तथा आफन्तलाई चीनको भ्रमणमा लैजाने गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप