मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सिँचाइ सुविधा

दुई दशकपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्यो, स्थानीय किसानहरू हर्षित

नहरको पानी बाराको सिमानादेखि ५ सय मिटरभन्दा अगाडि आएको छैन : नगरप्रमुख यादव
शुक्रबार, १५ भदौ २०८०, १० : १८
शुक्रबार, १५ भदौ २०८०

बारा । दुई दशकपछि गण्डक नहरको पानी रौतहटका किसानहरूले सिँचाइ गर्न पाएका छन् । विगतमा छुटफुट रूपमा सिँचाइको व्यवस्था भए पनि लामो समयपछि नहरको पानी रौतहटमा पुगेको नारायणी सिँचाइ व्यवस्था कार्यालय पर्साले जनाएको छ । 

‘हामीले प्राविधिक र कर्मचारीको दुई वटा छुटाछुटै टोली बनाएर दिनरात खटिएर यस पटक रौतहट पानी पुर्याउन सफल भएका छौ, खेतमा सिँचाइको पानी पुगेपछि किसानहरू असाध्यै खुसी भएका छन्’ इन्जिनियर सुरेश प्रसाद साहले भने ‘विगतमा छुटफुट पानी पुगेको भए पनि यस पटक करिब ५ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ पुगेको छ ।’  

बारा पर्सा, रौतहटका किसानहरूको जीवनस्तर उकास्ने र कृषि उत्पादन अभिवृद्धि गर्ने उद्देश्यले नारायणी नदीको पानीलाई भारतको बिहार राज्यको वाल्मीकिमा गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणाली मार्फत दुवै देशमा सिँचाइको व्यवस्था मिलाइएको छ । 

नेपाल र भारत सरकारबीच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतीय पक्षले नेपालको लागि असार १५ देखि असोज १५ सम्म ८५० क्युसेक पानी नहर प्रणाली मार्फत दिनुपर्ने छ । 

इन्जिनियर साहले चौतर्फी दबाबपछि यस पटक भारतले करिब ७२४ क्युसेक सम्म पानी नहरमा छोडेको बताएका छन् । ‘हामीले यस पटक बारा, पर्सा, रौतहटको ३२ हजार हेक्टर कृषि भूभागमा सिँचाइ गर्न सफल भएका छौ’ साहले भने ‘राजनीतिक र प्रशासनिक रूपमा दबाब पुगेपछि भारतले यस पटक नहरमा ७२४ क्युसेक सम्म पानी छोडेको हाम्रो रेकर्डमा देखिएको छ ।’

गण्डक नहरको पानी रौतहटको चपुरबाट गौर जाने बाटोमा रहेको बम नहर मार्फत परोहा, बौधिमाई  नगरपालिका र आसपासको क्षेत्रमा पुगेको साहले जनाएका छन् । यता रौतहट बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले नहरको पानी बाराको सिमानादेखि ५ मिटर अगाडी सम्म मात्रै आएको बताएका छन् । ‘नहर त रौतहट र सर्लाहीको बोर्डरसम्म बनेको छ तर पानी बाराको सिमानादेखि ५ मिटर भन्दा अगाडी आएको छैन’ नगरप्रमुख यादवले भने । 

गण्डक नहरको नेपाल तर्फ पर्साको जगन्नाथपुरा गाउँपालिकाबाट सुरु भएर रौतहटसम्म करिब ८२ किलोमिटर लम्बाइमा फैलिएको छ । इन्जिनियर साहले यस पटक ७६ किलोमिटरसम्म नहरको पानी पुगेको जनाएका छन् । नारायणी सिँचाइको पानीलाई १६ वटा ब्लकमा विभाजन गरिएको छ जसमध्ये १२ वटा ब्लक बारा, पर्सामा पर्दछ भने १३, १४ र १५ नं ब्लक रौतहटमा छ । इन्जिनियर साहले १५ नं  ब्लक बाहेक सबै क्षेत्रमा यस पटक नहरको पानी पुगेको बताए ।

naryani sachai

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप