बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रसंघको महासभामा तेस्रो मुलुकले भोग्नुपरेका समस्यालाई प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, १५ भदौ २०८०, १७ : ४८
शुक्रबार, १५ भदौ २०८०

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका  छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले  जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको बताए । 

उनले भने, ‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा कुनै आवेगमा नबनाइएको पनि बताए । उनले भने, ‘मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।’

उनले समाजवादी मोर्चाको बाटोमा आधिकांश सहयोद्धाहरु रहेको बताए । ‘यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ। विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छ’ प्रधानमन्त्रीले भने, ‘सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्पसहित यो मोर्चा बनाएका हौँ।’

सरकारको मोर्चाबाट आफूहरुले सकेसम्म जनमुखी काम गरिरहेको उनले बताए । उनले भने, ‘सरकारको मोर्चाबाट हामीले सकेसम्म जनमुखी काम गरिरहेका छौँ। यहाँ परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस छ। संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर यहाँ आएका छौँ। चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जानेछ। अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकतावद्ध हुँदै जानेछन्। यो विशाल शक्ति बन्दै जानेछ ।’

सरकार बेथितिका विरूद्ध लडिरहेको बताउँदै उनले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेको समेत दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियान मात्रै होइन राष्ट्रिय गौरवका आयोजनलाई पनि गति दिने प्रयासमा सरकार रहेको बताए ।  उनले भने, ‘यो भ्रष्टाचारविरोधी अभियान मात्रै होइन। राष्ट्रिय गौरवका आयोजनालाई पनि गति दिने प्रयास गरिएको छ। देशमा राम्रो वातावरण बन्दै गएको छ।’

भ्रष्टाचारका कारण देश थिलोथिलो भएको बताउँदै उनले सरकार त्यसविरुद्ध कठोर रुपमा प्रस्तुत भैरहेको बताए । ‘

भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ। राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ। त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ। ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ, सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा छ। प्रधानमन्त्रीले भने, ‘मिटरब्याज पीडित गरिब किसानहरूको पक्षमा प्रहार गर्‍यौँ, ऐन बनायौँ, आयोग बनायौँ। जनयुद्ध दिवस, सहिद घोषणा गर्‍यौं। देश र जनताको पक्षमा लिइएका पहलहरू सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्त्वका छन्।’

उनले अर्थतन्त्रलाई गतिमा ल्याउन महत्वपूर्ण कामहरु भएको समेत बताए । ‘अर्थतन्त्रमा गति ल्याउन महत्त्वपूर्ण काम भएका छन्। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। यसले लगानीको राम्रो वातावरण बनेको छ। सीमा समस्या समाधानका लागि महत्त्वपूर्ण काम भएको छ। पञ्चेश्वर परियोजना अगाडि बढेको छ। पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ। बंगलादेशसँग विद्युत व्यापारको सम्झौता भएको छ। १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी परियोजना अगाडि बढाइँदैछ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप