मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

भारतमा के गर्दैछन् उपेन्द्र यादव ?

आइतबार, १७ भदौ २०८०, १४ : २२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा गएको आज ९ दिन भइसकेको छ तर उनी यत्रो लामो समय भारतमा के गर्दैछन् भन्ने केही खुलेको छैन ।

केरलामा एउटा बिहेको कार्यक्रममा गएका उनी त्यसपछि भारतको कुन कार्यक्रममा सहभागी भए भन्नेबारे न पार्टीलाई कुनै जानकारी छ, न सञ्चारमाध्यमलाई । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘एउटा बिहे कार्यक्रममा सहभागी हुनका लागि भारत जानु भएको हो, बिहे कार्यक्रमपछि केही राजनीतिक भेटघाटको कार्यक्रम पनि छन् ।’

तर कोसँग कहिले कहाँ भेट्ने भन्नेबारे आफूलाई जानकारी नरहेको उनले बताए । पार्टी अध्यक्ष यादव जति दिन भारतमा बस्छन्, त्यसका लागि कार्यसूची बनाएरै गएको उनको भनाइ छ ।

त्यहाँ हुने कार्यक्रम र भेटघाट बाहिर नआए पनि सबै कार्यक्रम आफ्नो कार्यसूचीमै रहेको दाबी बस्नेतले गरे ।

जसपाका अध्यक्ष यादव भारत भ्रमणमा जाँदा बिहेबाहेक अरु आफ्ना कार्यक्रमको बारेमा कसैलाई जानकारी गराएका छैनन् । भारत भ्रमण राजनीतिक, धार्मिक या पारिवारिक हो भन्नेसमेत कतै खुलाइएको छैन ।

भारत गएका अध्यक्ष यादव लामो समय अलमलिएपछि नेपालमा विभिन्न अड्कलबाजी हुन थालेको छ । गौर घटनाको फाइल सरकारले खोलेका कारण उनी भूमिगत भएको चर्चासमेत भइरहेको छ भने कसैले प्रधानमन्त्री बन्नका लागि राजनीतिक माहौल बनाउन भारत गएको चर्चा गरिरहेका छन् । तर यीमध्ये केही पनि होइन भन्छन् बस्नेत । उनले अहिले बजारमा आएका चर्चा र हल्लामा कुनै सत्यता नरहेको दाबी गरे । गौर घटनाका कारण अध्यक्ष यादव भाग्ने कुनै कारण नरहेको उनले बताए ।

जुन समय गौर घटना भएको थियो, त्यो बेला माओवादीले उपेन्द्र यादवलाई जिउँदो वा मुर्दा खोजेर ल्याउन पार्टी पंक्तिमा निर्देशन दिँदासमेत नभाग्ने उपेन्द्र यादव १७ वर्ष पुरानो फाइल खोल्दा त्यसको डरले भारत लुक्न जाने अवस्था कल्पना पनि गर्न नसकिने उनले दाबी गरे ।

आफ्ना पार्टीले यस्ता विभिन्न घटनाको मुकाबिला गरेर आएको जिकिर गर्दै बस्नेतले यो घटना कुनै नौलो नरहेको बताए । उनले पार्टीका अध्यक्ष यादव प्रचारमुखी र देखावा गर्ने नेता नभएको पनि प्रस्ट पारे । अध्यक्ष यादव आफ्नो कामसँग मतलब राख्ने भएकाले भारतमा पनि आफ्नो पार्टीकै काममा लागेको हुन सक्ने विश्वास आफूले लिएको बस्नेत बताउँछन् ।

गौर घटनालाई लिएर गृह मन्त्रालयले पीडित पक्षसँग पाँच बुँदे सम्झौता गरेपछि प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबिचको दुरी बढेको हो । जसपाले छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग गरेको छ । यसअघि भएका विभिन्न छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले सरकारलाई दबाब दिइरहेको छ ।

१७ वर्षअघि रौतहटको गौर राइस मिलमा भएको सो घटनाका क्रममा उपेन्द्र यादव त्यहाँ उपस्थित नरहे पनि उनको नाममा समेत प्रहरीमाथि जाहेरी हालेको भन्दै जसपाका नेताहरुले आपत्ति जनाउँदै आएका छन् । उपेन्द्र यादवलाई राजनीतिक रुपमा समाप्त पार्न षड्यन्त्र भइरहेको जसपाका नेताहरुको दाबी छ ।

जसपा अध्यक्ष यादवका निजी सचिव महेश चौरसिया भन्छन्, ‘उपेन्द्र यादवको यो भारत भ्रमण नितान्त व्यक्तिगत भ्रमण हो, एउटा साथीको छोरीको बिहेमा सहभागी हुन केरला जानु भएको हो । अहिले पनि उहाँ केरलामै हुनुहुन्छ ।’

भारतमा कुनै राजनीतिक भेटघाट वा राजनीतिक गतिविधि नरहेको भन्दै उनले व्यक्तिगत तथा पारिवारिक भेटघाटका लागि मात्र त्यता गएको दाबी गरे । उनले दिल्लीलाई उपेन्द्र यादवले ट्रान्जिट बनाएर केरला गएको र फर्कने क्रममा पनि दिल्ली हुँदै फर्किने जानकारी दिए ।

चौरसियाले भने, ‘सबैको आआफ्नो पर्सनल लाइफ हुन्छ, भारत खुट्टा टेक्दैमा के–के न भयो भनी हल्ला गर्नुको कुनै तुक छैन, अध्यक्षजीको व्यक्तिगत भ्रमण हो ।’

अध्यक्ष यादव अझै केही दिन उतै बस्ने पनि उनले बताए । अध्यक्ष यादव फर्किने विषयमा केही जानकारी नगराइएको उनको भनाइ छ ।

यो भ्रमणलाई गौर घटनासँग जोडेर हेर्न नमिल्ने चौरसियाको दाबी छ । ‘किनभने उपेन्द्र यादव यसरी भागीभागी राजनीतिक गर्ने मान्छे होइन, क्रान्ति र आन्दोलन गरेरै राजनीतिमा स्थापित भएकाले यस्ता गौर घटनाको सामना गर्न उहाँ सक्षम हुनुहुन्छ,’ उनले भने ।

गौर घटनाको भएको दिन घटनास्थलमा नै नभएको व्यक्तिमाथि मुद्दा लगाउने र पूर्वाग्रही ढङ्गबाट १७ वर्षपछि फाइल खोल्न लगाउनु राज्यको पनि पूर्वाग्रही सोच रहेको चौरसियाको भनाइ छ । यदि पूर्वाग्रही ढङ्गले राजनीति गर्ने हो भने प्रचण्ड कति दिन सरकारमा बस्छन्, उनीमाथि पनि विभिन्न मुद्दा रहेकाले अर्को सरकारले यसैगरी ती मुद्दाका फाइल खोलेको खण्डमा के हुन्छ भन्ने प्रश्नसमेत चौरसियाले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप