सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तिज, उच्छृङ्खलता र सामाजिक मनोविज्ञान

आइतबार, ३१ भदौ २०८०, ११ : ३३
आइतबार, ३१ भदौ २०८०

नेपाल धेरै चाडपर्व मनाइने मुलुकमा पर्छ । यहाँ १२३ जातजातिका आआफ्नै खालका कला, संस्कृति, परम्परा र रीतिरिवाज छन् । यसरी मनाउने ठूला ठूला पर्वको शृङ्खलामा तिज पनि विशेष हो । तर यस पर्वलाई समय र आधुनिकताको बदलिँदो शैलीले परिवर्तन गर्दै लगेको छ । 

बृहत् नेपाली शब्दकोशले ‘नारीहरूले सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन, हरितालिका’ लाई तिज भनेको छ । शिव र पार्वतीको उपासना र पूजा गर्ने दिन भनिए पनि विशेष रूपमा शिव भक्ति प्रार्थना गर्ने दिन भनेर तिज परिचित छ । 

तिजको सादापन अहिले रङ्गीविरङ्गी मात्र होइन भड्किलो र ज्यादा खर्चिलो बन्दै गएको छ । पश्चिमाशैलीका गानाबजाना र नृत्यले नेपाली मौलिकता र तिजको अग्र्यानिकपन नासेको बुढापाकाको गुनासो छ । खानपानमा आएको बदलावका कारण लगातर र लामो समयसम्म होटेल, रेस्टुरेन्टका खानपानले हाम्रो स्वास्थ्यलाई दिने असर पारिरहेको छ । 

तिजको सामाजिक पक्ष 

सामाजिक व्यापकताको अध्ययन गर्ने विषय समाजशास्त्र हो । सामाजिक सम्बन्ध, अन्तत्र्रिmया, प्रक्रिया र परिवर्तनका बारेमा यसले अध्ययन गर्छ । तिज पर्वलाई समाजशास्त्रीय दृष्टिकोणले मूल्याङ्कन गर्नु आवश्यक छ ।

तिज बहुआयामिक विशेषता भएकाले समाजशास्त्रीय सिद्धान्तका थुप्रै दृष्टिकोणका आधारमा अध्ययन, विश्लेषण गर्न सकिन्छ । यसलाई लैङ्गिक, नारी पहिचान, धार्मिक, सांस्कृतिक पक्ष, सामाजिक आइडियोलोजी अनेकौँ शीर्षक र मानव शास्त्रीय समाजशास्त्रीय कोणबाट केलाउन निफन्न सकिन्छ । 

तिजको आयाम 

हिन्दु नारीको मात्र भनिएको तिजको आयाम फराकिलो बनेर अहिले सबै धर्म र संस्कृतिका समुदायका लागि पनि ग्राह्य बन्दैछ । यसको आयाम विस्तार भएर तिजको अघिल्लो दिन मात्र खाइने दर एक महिनाअघिदेखि खान थालिएको छ । 

महिलाले मात्र मनाउने भनिएको तिज अहिले पुरुषको पनि साझेदारी देखिन थालेको छ । विभिन्न सङ्घसंस्था र राजनीतिक पार्टी तिनका भातृ सङ्गठन आदिले पनि यो पर्वलाई विशेष रूपमा मनाउन थालेको कारण तिजको आयाममा बढोत्तरी भएको पाइन्छ । 

धार्मिक, सांस्कृतिक पक्ष 

तिज भाद्र शुक्ल द्वितीयदेखि प्रारम्भ भई पञ्चमीसम्म मनाइने भए पनि भाद्र शुक्ल तृतीयाको दिन नै विशेष गरेर मनाउने गरिन्छ । अघिल्लो दिन नै दर खाने निम्तो दिएर विवाह गरेर पतिका घर गएका छोरीचेलीलाई बोलाई विभिन्न खाद्य परिकार मिठाई बनाएर आफ्नो क्षमताले भ्याएसम्म तृप्त बनाउने प्रचलन रहेको छ । 

विशेष गरी यो पर्वमा शिव मन्दिरमा जम्मा भएर सुखदुःखका गीत गाएर नाचगान गर्छन् । तृतीयाको दिन जलाशयमा स्नान गरी विवाहिता महिलाहरू राता लुगा र गरगहनामा सजिन्छन् । कन्याहरू पनि व्रत बसी नाचगानमा सहभागी बन्छन् । यो व्रतबाट विवाहितले पतिको आयु बढ्ने र स्वस्थको कामना गर्छन् भने विवाहयोग्य कन्यालाई योग्य वर प्राप्त हुने विश्वास गरिन्छ ।   

दिनभर निराहार व्रत बसेर साँझमा शिवजीको पूजा आराधना गरी कन्यालाई टीका, दक्षिणा प्रदान गरेर फालाहर गरिन्छ । त्यसको भोलि वा पर्सिपल्ट पर्ने पञ्चमीमा ऋषि पञ्चमीको व्रत बसी बिहानै नदी वा खोला किनारा, स्नान गर्दछन् । यसको पछाडि समाजमा व्याप्त पौराणिक कथन पनि छ । पर्वतराज हिमालयकी पुत्री पार्वतीले सानै उमेरदेखि महादेव पति पाऊँ भनी कामना गरेको र सो पूरा भएको कथन छ । 

महादेवको रूप परिधान र भेष हिमालय पर्वतलाई रुचिकर नलाग्ने हुनाले उनी आफ्नो ज्वाइँ बनाउन चाहँदैनथे । एक दिन नारद आएको बेला हिमालय पर्वतले पार्वतीको वरको बारे नारदमुनिसँग चिन्ता व्यक्त गर्दा उनले भगवान विष्णु उपयुक्त वर हुने सल्लाह दिए । 

पार्वतीको इच्छा भने महादेव भएका कारण उनले आफ्ना साथीहरूलाई आफ्नो समस्या भनिन् र उनका सखीहरूले उनलाई लुकाए र लुकेकै ठाउँमा शिवलिङ्ग बनाई महादेव पति पाउने कठोर व्रत बस्न सहज गरिदिए । एक दिन महादेव प्रसन्न भई दर्शन दिए । पार्वतीले आफ्नो मनोकाङ्क्षा भनिन् र महादेवले तथास्तु भने । त्यसपछि विवाह भयो । 

आलिका नाम गरेकी सखीले पार्वतीलाई भगाएर लुकाउन लगेकीले आलिका अर्थात् आलिकाले हरण गरेको भन्ने अर्थमा हरितालिका तिज नाम रहेको भन्ने चलन छ । यस प्रकारको धार्मिक विश्वास भएको पर्वलाई सांस्कृतिक तरिकाले मनाउन थालिएको र साथीसङ्गीलाई आफ्नो पीर व्यथा सुनाउँदा यसैगरी हल हुन्छ भन्ने विश्वास पनि समजमा व्याप्त छ । 

सामाजिक पक्ष 

तिज एक सामाजिक पर्व हो । विवाह गरेर पतिको घर गएका आफ्ना चेलीबेटीलाई आमन्त्रण गरेर दर खुवाई परिवारका सदस्य वरपरका छोरीचेली भेला भएर रमाइलो गर्दै नाचगान दुःखसुखका कुरा गरिने पर्व भएको हुँदा यसको सामाजिक मूल्य र महत्त्व छ । सानैदेखि सँगै हुर्कीबढी, खाईखेली, पढेर बसेका छोरीचेली बिहेपछि कता कता पुगेका हुन्छन् । त्यस्तो बेला तिजमा भेट गरेर गफिनु र रमाइलो गर्नु बाल्यकाल स्मरण गर्दा उनीहरूको आत्मीयता झन् कसिलो बन्छ । सामजिक अन्तक्र्रिया हुने फरक फरक समाज र भूगोलबारे जानकारी हुने र परस्परमा सामजिकीकरणमा मद्दत पुग्ने हुनाले तिजको सामाजिक पक्ष निकै मजबुत छ । 

सामाजिक सद्भाव वृद्धि गर्न, मेलमिलाप र सामाजिक सम्बन्ध बलियो बनाउन तिजको महत्त्वपूर्ण योगदान देखिन्छ । आधुनिक देखिने नाममा महिलाहरूले यो पर्वको हुर्मत लिने गरी जथाभावी मदिरापान गर्ने र यसलाई अस्वस्थ प्रतिस्पर्धाको विषय बनाउने विषय लाभकारी छैन । अन्ध विश्वासमा हुने सकारात्मक पक्ष जोगाउन सकियो भने पनि समाजलाई एउटा लयमा राख्न यसले योगदान दिन्छ । तिज का जुनसुकै गतिविधि पनि सामाजिक एकता कायम राख्ने र समाजसँग समाज जोडिने हुनु वाञ्छनीय देखिन्छ । 

आर्थिक पक्ष 

नयाँ लुगा, खानपान, गहना, कोसेलीपात आदि कारण बजारको अर्थतन्त्र चलायमान बन्छ । यसले बजारको कारोबार बढ्ने हुँदा आर्थिक गतिशीलता देखिन्छ । गरगहना, लुगाफाटोदेखि शृङ्गारका समान, खाद्यान्न, माछामासु मदिरा, चिसो पेय पदार्थ आदिको किनमेलले बजारमा सकरात्मक आर्थिक तरङ्ग ल्याउँछ । तिजको अर्थशास्त्र पनि समाज चलायमान बनाउने समय हो । 

हुने र नहुने बीचको खाडल भएको समाज भएको कारण आर्थिक विषमताले कतै समाज भड्काउने र उत्ताउलो बन्ने, धनी र गरिबको भेद प्रत्यक्ष देखिने हुँदा समाजमा वर्ग द्वन्द्व उत्पन्न भएर कुनै दुर्घटना नहोला भन्न सकिन्न । त्यसैले आर्थिक सम्पन्नताको प्रदर्शनभन्दा सामाजिक एकता भाइचारा, दिदीबहिनीबीच सुमधुर सम्बन्ध स्थापनार्थ समाजलाई अभिप्रेरित गर्ने गतिविधि ज्यादा हुनपुग्छ । 

मनोवैज्ञानिक पक्ष 

तिज का अनेक आयाममध्ये एउटा हो– मनोवैज्ञानिक पक्ष । यसमा परिवारका बालबालिकामा पर्ने मनोविज्ञान एउटा पक्ष हो, जसले समाजको संस्कृति हस्तान्तरणमा सहजता प्रदान गर्छ । घरपरिवारका बालबालिकाले यस्ता विशेष दिनबाट धेरै कुरा सिक्न सक्छन् । व्रत बस्ने, चोखोमीठो बनाउने, खाने, नाच्ने गाउनेदेखि यावत् पक्षमा जानकार बन्छन् । समाजको अभिन्न पक्ष संस्कृति र पर्वको बारे बुझ्छन् । 

गरगहना, लुगाफाटो र भोज भतेर गरेर मनाइने प्रचलन बढेका कारण कतै आर्थिक रूपमा कमजोरलाई हीनताबोध र खर्च गर्न सक्नेमा अहम् बढ्ने, बढाउने कार्य हुन्छ । त्यस्तो मनोविज्ञानबाट जोगिन, जोगाउन सक्नु यसको मनोवैज्ञानिक पक्ष हो । म कमजोर छु कि भन्ने भयको मनोविज्ञान र म सबैभन्दा माथि छु भन्ने घमण्डको मनोविज्ञान हाबी हुन नदिन सचेत वर्गले ध्यान पुर्‍याउनुपर्छ । 

लैङ्गिक पक्ष र नारीवाद 

नारीले यो हाम्रो र विशेष चाडको रूपमा लिने दिन हुनाले एकातिर नारी स्वतन्त्रता, पहिचान, अस्तित्व र नारीवादसँग जोडिएर हेर्ने गरिन्छ भने अर्काेतिर आफ्ना श्रीमानप्रतिको प्रेम सद्भाव आदर र उन्नतिको कुरामा नारीको लगाव प्रकट हुन्छ । त्यसै गरी यस पर्वको अध्ययन गर्दा पुरुषको मात्र पूजा किन, पुरुषप्रति नारीको परनिर्भरताको प्रश्न पनि सँगसँगै आउँछ । 

वैज्ञानिक युगमा शिवलिङ्गको पूजा कति उचित र अनुचित भनेर पनि बहस प्रारम्भ भएको छ । पुरुष ठूलो र नारी सानो भन्ने धारणा पनि पुरुष पुजन संस्कृतिले दिएको त छैन यसले कतै नारीको सकारात्मक प्रभावमा असर त पुग्दैन ? आलोचनात्मक चेतहरू यसरी बन्छन् । 

नारीको विशेष दिन भएकाले उनीहरूको स्वतन्त्रता र मर्यादाको सम्मान गर्ने पर्वका रूपमा पनि हेरिन्छ । शिवलिङ्गको पूजा नै किन भन्ने प्रश्नमा अध्येताहरूको खोजले यसलाई शिवलिङ्गको पूजा भनिए पनि योनी र लिङ्ग अर्थात् सृष्टिको पूजाका रूपमा पनि परिभाषित गरिएको छ । किनभने जहाँ शिवलिङ्ग छ त्यहाँ सँगै योनीको आकार पनि निर्मित हुन्छ ।  

स्वास्थ्य र शरीर 

विगतमा दर अघिल्लो दिन मात्र खाने हुँदा त्यति धेरै समस्या थिएन । आजकल लगातारको भोजन, अस्वस्थ खानपानले अपच भई कैयौँ मान्छे बिरामी हुने गरेका छन् । निर्जल बस्दा खाली पेटमा अम्लीय पदार्थ पैदा हुन्छ । त्यो अवस्थामा नाचगान गर्दा रिँगटा लाग्ने, बेहोस भएर लड्ने सम्भावना बढी हुन्छ । त्यसैले स्वास्थ्यलाई ध्यानमा राख्दै व्रत बस्नु बुद्धिमानी हुन्छ । 

आधुनिक खानपान र रहनसहनले स्वास्थ्यमा नदेखिने गरी असर परेको हुन सक्छ । त्यसैले भोको बस्नुपर्दा फलफूल, फ्रेस जुस र पानी सेवन गर्दै स्वास्थ्य सन्तुलित राख्नु आवश्यक हुन्छ । अति अन्धविश्वासको सिकार भएर ज्यान जोखिममा नपारी पर्व मनाउनु पर्छ । 

साङ्गीतिक पक्ष 

तिजमा गरिने नाचगानले वातावरण र माहोललाई रमाइलो गर्ने मात्र नभएर सासूबुहारीबीचको छेडखानीले कतै वातावरणलाई खलल पार्छ कि भनेर सचेत हुनुपर्ने देखिन्छ । त्यस्तै आफ्ना मनमा गुम्सेका दुःखसुख गीतसङ्गीतको माध्यमबाट प्रस्फुटन हुँदा मन हल्का र सफा हुनपुग्छ । तिज का अवसरमा आउने नयाँ नयाँ गीत सङ्गीतको होडले साङ्गीतिक बजार पनि चलायमान बन्न सहयोग गर्छ । यसले बजारको आर्थिक महत्त्व बढाउने र रोजीरोटीको व्यवस्था हुने र कलाकारको जीवनमा बहार ल्याई दिन पनि सहयोग पुग्छ । 

तिज का गीतले जागरण र समाजमा नयाँ चेतना निर्माणका लागि पनि भूमिका खेल्न सक्छ । यसरी तिजको साङ्गीतिक पक्ष पनि हाम्रा पर्वहरूको विशेष पक्ष रहेको छ । आधुनिक बन्ने नाउँमा तिजको गीत सङ्गीतलाई पनि पूरै बिगार्नु हुन्न । यसको मौलिकता झल्कने गरी गीत सङ्गीतमार्फत पर्वका मर्महरू धानिनु पर्छ । 

टीकापोते र गरगहना 

तिजमा प्रयोग हुने गरगहना सिन्दुरपोते, चुराधागोको छुट्टै महत्त्व छ । महिलाहरूले लगाउने रातो पहिरनमा सुख शान्ति र समृद्धि साहसको प्रतीकका रूपमा लिइन्छ भने अनेक रङले झकिझकाउ बन्दा जीवन रङ्गीन पोते र टीकासँग सौभाग्य र अलौकिक शक्ति प्राप्त हुने जनश्रुति पाइन्छ । 

स्वच्छ हृदयको उपवासले मन कामना सिद्धि भनेर अथ्र्याइन्छ । अर्काेतिर टीकापोते र सिन्दुर दासता र बन्धन भन्ने आधुनिक तर्क पनि गरिन्छ । आजको समाज यी दुवै पक्ष र विषयलाई समन्वय गरी चल्नु पर्छ । यसबाट मात्र हाम्रो संस्कृति सुरक्षित र सुन्दर बन्छ । कुनै पनि अतिवाद घातक हुन्छ । संस्कृति कला सङ्गीत र पर्वहरू मानव जगतका मान्छे हुने विशेषता हुन् । 

नारी स्वतन्त्रता र नारी मुक्तिको दिन 

विगतदेखि नै तिज लाई नारी स्वतन्त्रताको दिनको रूपमा उल्लेख गरिन्थ्यो । आफ्ना मनका पीडा व्यथा पोख्ने, माइत गएर दुःखसुखका बारे सेयर गर्ने दिन भनेर तिज लाई स्मरण गर्ने धेरै छन् । उपसभामुख इन्दिरा राना ‘तिज लाई महिला सशक्तीकरण समानता र अधिकारको पैरवी गर्ने अभियानका रूपमा मनाउनु पर्छ भन्नुहुन्छ । 

हाम्रा चाडपर्व हाम्रो देशका सामाजिक सौन्दर्य र सामाजिक एकताका प्रतीक हुन् । चाडपर्वलाई भड्किलो, ज्यादै खर्चिलो र अनुशासनहीन नबनाएर सन्तुलित, मर्यादित र मौलिकता नमर्ने गरी मनाउँदै यसको आधुनिकीकरण गर्नु उचित हुन्छ । 

चेली–माइती सम्बन्ध विस्तार 

यस पर्वले चेली माइतीको सम्बन्धमा विस्तार गर्छ । लामो समयपछि भेट्ने, साथी सङ्गीको आत्मीय सम्बन्ध र अतीतको स्मरण गर्ने वर्तमानको दुःखसुख साट्ने र श्रीमान्को सुस्वास्थ्य, प्रगति र दीर्घायुका लागि निराहार व्रत बस्ने पर्व भएकाले आपसी सम्बन्धको मजबुत हुन्छ । 

हाम्रा चाड पर्व हाम्रा सांस्कृतिक धरोहर हुन् । चाडपर्वका अन्तर्निहित सकारात्मक उद्देश्यलाई आफूमा अवलम्बन गर्ने हो । गलत खानपिन, गलत संस्कार होहल्ला, देखासिकी, अनावश्यक प्रतिस्पर्धा अन्धता, अविश्वास,अनर्गल प्रचारप्रसार भड्किलो स्वभाव र खराब रवैयाबाट बचाएर सामाजिक सहिष्णुता सौहार्दता र न्यानोपन आपसी एकता, समता र मानव मर्यादाको मानक बनाएर चलाउनु, मनाउनुपर्छ । 

सभ्य र सुसंस्कृति चाडपर्व हाम्रा संस्कार र आचरण हुन् । जीवन शैली हुन् । सदियौँदेखि मनाउँदै आएका जीवन्त संस्कारले हामीलाई सुमार्ग देखाउन मद्दत गर्छ । विगत केही वर्षदेखि तिजको नाममा जुन छाडापन बढेको छ । एक महिनाअघिदेखि पार्टी, भोज आदिको तामझाम दखिन थालेको छ । यसले हाम्रो मौलिकतालाई सखाप पारेर खानपिनका लागि मात्र मरिहत्ते गर्ने समाज निर्माण गर्छ । तिजको अभिन्न समाजशास्त्रीय पाटोलाई आत्मसात गरी खराब समाजशास्त्रलाई विस्मृतिमा धकेलौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप