सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ संवाद

‘उद्योगी व्यवसायीलाई थुन्ने गलत परम्परा सुरु भएको छ’

उद्योगी व्यवसायी ज्वाइँ हुन्, उनीहरूलाई रेड कार्पेट ओछ्याउनु पर्छ – मोतीलाल दुगड
शुक्रबार, ०५ असोज २०८०

यतिबेला बजारमा उत्पादन र आपूर्तिको शृङ्खला बिग्रिँदा उद्योग व्यवसाय प्रभावित बनेका छन् । बजार महँगी र कोरोना महामारीका कारण उपभोक्ताको क्रयशक्ति खस्केको छ । फलस्वरूप समग्र उद्योगको उत्पादन नै घटेको छ । जसबाट समग्र अर्थतन्त्र सुस्त बनेको छ भने यही समयमा सरकारले उद्योगी व्यवसायीलाई विभिन्न बहानामा धरपकड गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उद्योग विभागले तीव्र विरोध गरिरहेको छ । यस्तै एमाले निकट व्यवसायी सङ्गठनले १० बुँदे माग राख्दै पूरा नभए आन्दोलनको चेतावनी दिएको छ । यिनै विषयमा नेकपा एमालेका उद्योग विभाग प्रमुख तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

–उद्योग राज्यमन्त्री र तत्कालीन प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनेर काम गरिसक्नुभएको छ । त्यो समयमा तपाईंको व्यस्तता उच्च थियो । अहिले कता व्यस्त हुनुहुन्छ ?

अहिले मेरो व्यस्तता झनै बढेको छ, घटेको छैन । म मन्त्री हुँदासमेत सबैको काम गर्ने मान्यता बनाएको थियो । सोही कारण सबैले ठूलो सहयोगको आशा राखेर मलाई सम्पर्क गर्छन् । म सबैको काम गर्छु । उद्योगीका काम गराउनका लागि म सक्दो प्रयास गर्छु । राज्यमन्त्री हुँदा एउटा विषयमा मात्रै केन्द्रित हुन्थेँ । अहिले चारैतर्फको काम गर्नु पर्छ ।

–तपाईं उद्योग राज्यमन्त्री हुँदा सबै उद्योगीको फाइल अघि बढाउनुपर्थ्यो । अहिले एमालेको उद्योग विभाग प्रमुख हुनुहुन्छ । सबै उद्योगी–व्यवसायीलाई सहयोग गर्नुहुन्छ वा एमाले निकटको मात्रै ?

उद्योगी व्यवसायीको जाति हुँदैन । उनीहरू राजनीतिक पार्टीसँग सम्बन्धित बनेर मात्रै हुँदैन । उनीहरू समग्र देशका हुन् र राज्यलाई राजस्व सिर्जना गराउने, रोजगारी उपलब्ध गराउने गर्छन् । मैले एमाले निकटस्थका साथै अन्य उद्योगी व्यवसायीको समेत काम गर्नु पर्छ ।

–राज्यमन्त्री हुँदाताका र प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदाको समय अहिले कत्तिको ‘मिस’ हुन्छ ?

त्यो एउटा अवसर थियो । मन्त्री हुनु राजयोग हो । त्यो अवसरलाई मैले चुनौतीका रूपमा लिएको थिएँ । पार्टी अध्यक्षले सबै उद्योगी–व्यवसायीमध्येबाट छानेर मलाई अवसर दिनुभएको थियो । उद्योगी व्यवसायी भनेको भिजनरी हुन्छ । जसले चुनौतीपूर्ण काम गर्न सक्ने हुन्छ । मलाई यो मौका दिइयो र मैले देश र उद्योगीका लागि काम गर्नेगरी भरपुर सदुपयोग गरेँ ।

–पछिल्लो समय नेकपा एमालेमा तपाईंले निरन्तर अवसर पाइरहनुभएको देखिन्छ । राज्यमन्त्री, प्रमुख आर्थिक सल्लाहकार र अहिले उद्योग विभाग प्रमुख हुनुहुन्छ । यो विभागमा तपाईं नै किन ?

मलाई नकरात्मक सोच राख्ने र गलत व्याख्या राख्ने व्यक्तिहरूले तपाईंले यो अवसर पाउनका लागि कति रकम बुझाउनुपर्‍यो भनेरसमेत सोधेका थिए । म ५०औँ करोड बुझाउन सक्ने हैसियतको छैन र ४–५ करोडमा कोही मन्त्री बन्न सक्दैन । म आफैँ पार्टी चलाएर आएको मान्छे । सक्रिय रूपमा पार्टी सञ्चालन गरेको थिएँ र देशभर मेरो समर्थन थियो । त्यसपछि अध्यक्ष ओलीले मलाई पार्टीमा निम्तो गर्नुभयो र मारवाडी समुदायबाट पार्टीको पहिलो महत्त्वपूर्ण सदस्य बनेको हो ।

छिमेकी मुलुक बङ्गलादेशमा धेरै व्यवसायी सांसद बन्छन् । एमालेले उतैबाट सिकेर तपाईंलाई ‘हाइलाइट’ मा राखेको हो ?

मेरा बारेमा पार्टीमा चासो पनि थियो । पार्टीले मेरो ब्याग्राउन्डसमेत पत्ता लाइसकेको थियो । म आउनुअघि एमालेमा उद्योगी व्यवसायी नै थिएनन् । अन्य राजनीतिक दलले उनीहरूलाई दुरुपयोग गरेका थिए । मैले बालुवाटारबाटै ३५० जना उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेलेको थिए । अहिले पार्टीमा हजारौँ उद्योगी व्यवसायी छन् । यो पार्टीले उद्योगी व्यवसायीलाई सम्मान गर्छ । अध्यक्षज्यूको एउटै चाहना छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । यही कारण पार्टीले उद्योगी व्यवसायीलाई महत्त्व दिएको हो ।

motilal

–तपाईं एमालेको उद्योग विभागको प्रमुख बनेको साढे दुई वर्ष भइसकेको छ । तर पछिल्लो समय मात्रै सक्रिय देखिनुभएको छ वा हामीले यस्तो देखिरहेका छौँ । यो अवधिमा अन्य के–के काम गर्नुभयो ?

पहिला पार्टी कार्यालय रहेको थापाथलीमा उद्योग विभागको कार्यालयसमेत राखिएको छ । हामीसँग चार्टर्ड एकाउन्टेन्ट, उद्योगी, कानुन व्यवसायी समेत छन् । यस्तै एमबीए गरेका उद्योगी व्यवसायीसमेत छन् । यो टिमले उद्योगी व्यवसायीको सम्पूर्ण काम गर्छ । उद्योगी व्यवसायी ज्वाइँ हुन्, उनीहरूलाई रेड कार्पेट ओछ्याउनुुपर्छ । कोही बदमास होला तर सबै व्यवसायी चोर, फटा हुँदैनन् । यो सोचाइ र मानसिकतामा परिवर्तन ल्याउनु पर्छ ।

–उद्योगी व्यवसायीलाई बदमास ठान्ने एउटा जमात छ । यो जमात अधिकांश राजनीतिक दलकै कार्यकर्ता हुन् । आफ्ना कार्यकर्तालाई उद्योग व्यवसायको महत्त्वबारे कत्तिको बुझाउन सक्नुभएको छ ?

उद्योगी व्यवसायीले आफूसँग भएको जायजेथाको चुनौती मोलेर लगानी गर्छ । उनीहरूको लगानीलाई संरक्षण गर्नुको साटो अहिलेको सरकारले छापा मार्ने, दुःख दिने काम गरिरहेका छन् ।

–यो विषयमा एक छिनपछि आउँला । आफ्ना कार्यकर्तालाई उद्योग व्यवसायको महत्त्वबारे कत्तिको बुझाउन सक्नुभएको छ ?

यो विषयमा हामीले विभिन्न फोरममा कार्यकर्तालाई स्कुलिङ गरिरहेका छौँ । उद्योगी व्यवसायी हाम्रा ‘एसेट’ हुन् । एसेटलाई हामीले संरक्षण गर्नु पर्छ भनेर हामीले स्कुलिङ गरिरहेका छौँ । उद्योगी–व्यवसायी भएनन् र पलायन भए भने समस्या हुन्छ । तर यतिबेला राज्यले धेरै नै दुःख दिइरहेको छ ।

–तपाईंले काठमाडौँमै एउटा कार्यक्रमको आयोजना गरेर राज्यले दुःख दिएको भाषण गर्नुभएको थियो । यतिबेला राज्यले साँच्चै दुःख दिएको हो ?

त्यो कार्यक्रममा सबै उद्योगी व्यवसायीको एउटै भाषा थियो । उनीहरूले यस्तो समस्या र चुनौती यसअघि कहिले नआएको बताएका थिए । बजारमा माग छैन, ब्याजदर उच्च छ, उत्पादन छैन तर राज्य उद्योगी व्यवसायीलाई पक्राउ गरिरहेको छ र छापा मारिरहेको छ । यस्तो अवस्थामा उद्योगी व्यवसायीको मनोबल घटाएर के गर्न खोजेको हो, बुझ्न सकेको छैन । सरकारले उद्योगीलाई सहयोग गर्नुपर्नेमा असहयोग गरिरहेको छ ।

–कुनै एउटा विषयमा अनुसन्धान गर्दै गर्दा आरोपितको पेसा के हो भनेर छुट्याउने प्रचलन छैन नि । अनुसन्धानका क्रममा उद्योगी, व्यवसायी पत्रकार वा अन्य पेसाकर्मी भन्ने प्रचलन छ र ?

उद्योगी व्यवसायी सरल र सीधा हुन्छन् । उनीहरू आन्दोलनमा पनि आउँदैनन् । तर पछिल्लो समय साङ्केतिक हड्ताल देखिन थालेको छ । उनीहरूले तोडफोड गर्ने, साँचो बुझाउने, सडक जाम गर्ने र टायर बाल्ने काम गरेका छैनन् । उद्योगी व्यवसायीलाई दुःख दिने नीति सरकारले लिन्छ भने अब चुप लागेर बस्दैनन् । राजस्व अनुसन्धान विभागले चालू वर्षमा अर्बौँ रुपैयाँको लक्ष्य पाएको छ । सोअनुसार कामसमेत गर्दै छ । यसबाट बजारमा एक खालको त्रास सिर्जना भएको छ ।

motilal dugad

–तर उद्योगी व्यवसायीले राजस्व छल्ने नियत नलिएमा राजस्व अनुसन्धानको छापाले समस्या हुन्छ र ?

अदालतले गलत काम गर्ने कति व्यवसायीलाई सजाय दिएको छ । कोही व्यवसायीले गलत काम गरेका होला । तर सबै उस्तै हुँदैनन् । देशभर ३० वटाभन्दा धेरै रिटेल चेन चलाउने व्यवसायीलाई लगेर सिधै थुन्दिन मिल्दैन । यो त ठिक भएन ।

–राज्यले अनुसन्धानका क्रममा कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन नि ? यो व्यवस्थाका लागि नयाँ ऐन कानुन आवश्यक पर्न सक्छ ।

विश्वको कुनै पनि देशमा आर्थिक रूपमा गलत काम गरेमा आर्थिक जरिवाना लगाउनु पर्छ । व्यवसायीले आपराधिक काम गरेको हुँदैनन् । आर्थिक अपराध गरेको हुन सक्छ । त्यसैले जेल हाल्नुको सट्टा आर्थिक कारबाही गर्नु पर्छ । कर छल्ने, राजस्व छल्ने काम गरेको भए सोहीअनुसार कारबाही गर्नु पर्छ ।

–अहिले सरकारले एमाले निकट व्यवसायीलाई बढी टार्गेट गरेको हो ? कि तपाईंहरू सबै व्यवसायीको हकहितका लागि बोल्नुभएको हो ?

सरकारले त्यसरी एमाले निकट व्यवसायीलाई नै तारो बनाएको छैन । हामी यतिबेला सबै उद्योगी व्यवसायीका लागि बोलिरहेका छौँ । तर पनि उद्योगी व्यवसायी सरकारसँग त्रासमा बाच्नुपर्ने छैन । किनकि हामी उनीहरूका पक्षमा बोल्छौँ । सरकारले आर्थिक अपराध गर्ने उद्योगी व्यवसायीलाई जेल हाल्दै गएमा नयाँ जेल बनाउनु पर्छ । अहिले सरकारले दैनिक रूपमा एक जना उद्योगी जेल पठाइरहेको छ । उद्योगी व्यवसायीलाई थुन्ने गलत परम्परा बसेको छ । यो परम्परा अन्त्य हुनु पर्छ । यतिबेला कसैले उजुरी गरेकै भरमा अनुसन्धानबिना सरकारले लगेर थुनिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया