शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
जग्गा प्रकरणमा नेपालविरुद्ध मुद्दा

अग्निपरीक्षाको घडीमा माधव नेपाल, दोहोरिएला १८ वर्षअघिको नैतिक मानक ?

शुक्रबार, २३ जेठ २०८२, २० : ००
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ, जसमा १८ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ।
  • अख्तियारले मुद्दा दायर गरेपछि नेपालको सांसद पद निलम्बन भएको छ र उनले पतञ्जली जग्गा प्रकरणमा कुनै अनियमितता नगरेको दाबी गरेका छन्।
  • पार्टी अध्यक्ष नेपालमाथि नैतिकताको प्रश्न उठेको छ र उनलाई राजीनामा दिन सुझाव दिइएको छ, तर उनले राजीनामा दिने वा नदिने अझै स्पष्ट छैन।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बेलाबखत आफ्नै पार्टीका नेता–कार्यकर्तालाई मात्र होइन, अन्य दलका नेतालाई समेत नैतिकताको पाठ पढाउने गर्दछन् । उनका अभिव्यक्तिमा भ्रष्टाचारबारे चिन्ता, सुशासनप्रतिको चासो रहने गर्दछ ।

यतिबेला अध्यक्ष नेपाल आफूविरुद्धको भ्रष्टाचार मुद्दा झेलिरहेका छन् । उनी प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषदले गरेको भूमि सम्बन्धी एउटा निर्णयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर गरेसँगै अध्यक्ष नेपाल अग्निपरीक्षाको घडीमा पुगेका छन् । उनी दोषी हुन् या होइनन् भन्नेबारे अदालतले फैसला गर्ने नै छ, तर त्यतिन्जेल उनको राजनीतिक हैसियत के हुने भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उठेको छ ।

१८ वर्षअघि अर्थात् २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा आफू र पार्टी नराम्ररी पराजित भएपछि माधवकुमार नेपालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । त्यतिबेला उनी नेकपा एमालेको महासचिव थिए । तत्कालीन महासचिव नेपालले काठमाडौँ र रौतहटबाट संविधान सभा सदस्यमा उम्मेदवारी दिएका थिए, तर दुवै स्थानमा पराजित हुन पुगे ।

उनी पराजितमात्र भएको होइन, उनले नेतृत्व गरेको नेकपा एमाले तेस्रो दलमा सीमित बन्यो । यो पराजयको जिम्मेवारी लिँदै नेपालले नैतिकताका आधारमा एमाले महासचिवको पदबाट राजीनामा दिए । त्यसपछि उनी एमालेको सर्वोच्च पदमा पुग्न सकेनन् । बरु नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेर २०७८ यता अध्यक्ष बनेका उनी अहिले पनि अध्यक्ष नै छन् ।

निर्वाचनमा व्यहोरेको पराजयलाई आधार मानेर एमाले महासचिव पदबाट राजीनामा दिएको विषयलाई लिएर धेरैले ‘नैतिकवान नेता’ भनेर नेपालको प्रशंसा पनि गरे, गर्छन् ।

भनिन्छ, नेपाली राजनीतिमा नैतिकताको खडेरी नै छ । भ्रष्टाचार, अनियमितता र चुनाव हारे पनि पार्टीको पदमा टाँसिइरहने प्रवृत्ति धेरैजसो नेतामा कायमै छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेपछि राजनीतिक वृत्तमा हलचल त मच्चिएको छ नै, नैतिकताको प्रश्न फेरि मुखरित बन्न पुगेको हो ।

प्रधानमन्त्री भएका वेला पतञ्जली जग्गा किनबेचमा अनियमितता गरेको आरोपमा नेपालमाथि अख्तियारले १८ करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले नेता नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएको छ, जसमा पूर्वप्रधानमन्त्री नेपालले बदनियतपूर्वक मन्त्रिपरिषद्बाट आफू र पतञ्जलीलाई फाइदा पुग्नेगरी जग्गा सट्टापट्टाको स्वीकृति दिलाएको उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको अख्तियारको मुख्य आरोप छ । यो घटनापछि नेता नेपालमाथि १८ वर्षअघिको जस्तै नैतिकता देखाउने अवसर रहेको टिप्पणी गर्ने पनि प्रशस्त छन् ।

अख्तियारले मुद्दा दायर गरेपछि रौतहटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता नेपालको सांसद पद स्वतः निलम्बन भइसकेको छ । अख्तियारले मुद्दा दायर गरे पनि आफूले पतञ्जली जग्गा प्रकरणमा कुनै अनियमितता नगरेकाले अदालतबाट न्याय पाउने अध्यक्ष नेपालले बताएका छन् ।

उनको यस्तो अपेक्षालाई स्वाभाविक मान्न सकिन्छ । किनभने उनको पक्षमा प्रमाण नपुगे अदालतले सफाइ दिने नै छ । भ्रष्टाचार मुद्दा दायरसँगै नेता नेपालको राजनीतिक जीवनको उत्तरार्द्धमा कालो धब्बा अवश्य लागेको छ, तर यो धब्बा मेटाउन र नेपाली राजनीतिमा अलिकति भए पनि नैतिकता बाँकी छ भन्ने मानक स्थापित गर्न उनलाई अवसरसमेत मिलेको छ ।

राजनीतिक नाफा–घाटा जेसुकै भए पनि ०६४ मा नेता नेपालले देखाएको नैतिकताकै बलमा उनलाई माओवादीसहित कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको जोडबलमा संविधान निर्माणका लागि चाहिने व्यक्ति भन्दै संविधानसभा सदस्य मनोनीत गरिएको थियो । संविधान सभा सदस्य बनेपछि नेता नेपाल २० महिना प्रधानमन्त्री बने । तर, त्यही अवधिमा भएको एक निर्णयले आज उनीमाथि भ्रष्टाचार मुद्दाको धब्बा लाग्न पुगेको छ ।

अख्तियारले मुद्दा दर्ता गरे उनी अब पार्टी अध्यक्षमा रहने या नरहने भन्ने प्रश्न उठेको छ । पार्टीभित्रकै कतिपय नेताले उनलाई अध्यक्षबाट राजीनामा दिन सुझावसमेत दिइसकेका छन् ।

‘प्रश्न उठेपछि राजीनामा गर्ने साहस भए राम्रै हो । किनभने उहाँले यसअघि पनि नैतिकता देखाएको उदाहरण छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘विषय अदालतमा पुगिसकेको छ । अब अदालतको नतिजा कुर्नुको विकल्प छैन, तर अध्यक्ष पदबाट पनि उहाँले राजीनामा दिएर नेपालको राजनीतिमा नैतिकताको नयाँ मानक बनाउने अवसरका रूपमा प्रयोग गर्न सके यो प्रकरणमा उहाँकै दाबी अनुसार पनि हाइट बढ्न मद्दत पुग्छ ।’

तर आफ्नै बलबुतामा गठन भएको पार्टीबाट हचुवाका भरमा राजीनामा दिइहाल्ने अवस्था भने नेता नेपालसँग देखिँदैन । किनभने आफूले पदबाट राजीनामा दिए सिङ्गो पार्टीकै अस्तित्व सङ्कटमा पर्न सक्ने चिन्ता उनमा देखिनुलाई अस्वाभाविक मान्न सकिँदैन । अर्कोतिर, भ्रष्टाचार मुद्दा झेलिरहेको अवस्थामा पार्टी सङ्गठनमा ऊर्जा भर्ने तागत पनि स्वाभाविक रूपमा कमजोर हुने अवस्था उनका सामु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप