शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

शनिबार, २४ जेठ २०८२, १२ : २०
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • इलाममा कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिता फूलमती सोङ्मीको स्मृतिमा आयोजना गरिएको हो।
  • प्रतियोगितामा २९ विधामा पुरस्कार वितरण गरिनेछ, जसमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।
  • प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहनेछ र सात राउन्डसम्म खेल हुनेछ।

इलाम ।  बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ । जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । सदरमुकाममा  आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे ।

सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए । ‘पुरस्कारमा मात्र रु एक लाख १९ हजार खर्च हुनेछ’, उनले भने । आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले रु २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः रु १० हजार, रु सात हजार, रु छ हजार र रु पाँच हजार पाउनेछन् । छैटौँदेखि १० स्थानसम्मलाई जनही रु चार हजारले पुरस्कृत गरिनेछ । 

भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही रु चार हजार पाउनेछन् । विद्यालयस्तरीयमा प्रथमले रु तीन हजार र दोस्रोले रु दुई हजार, हिल च्याम्पियन प्रथमले रु चार हजार दोस्रोले रु तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् ।

इलाम प्रथमले रु चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मकाले रु दुई हजारका दरले पुरस्कार पाउनेछन् । स्वीस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । यो प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा रु एक लाख नगद सहयोग गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप