धनगढीको मुख्य सडक विस्तारमा बजेट अभाव
_04fu6Fptxp.jpg)
समाचार सारांश
- धनगढीमा निर्माणाधीन सडकको काम बजेट अभावका कारण तोकिएको समयमा सम्पन्न हुन सकेको छैन, जसले गर्दा म्याद थप गर्नुपर्ने अवस्था आएको छ।
- सडक विस्तारको जिम्मा पाएको केएस कन्स्ट्रक्सन प्रालिले २०८२ वैशाख २६ गतेभित्र काम सक्नुपर्ने थियो तर हालसम्म ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
- बजेट अभावका बाबजुद, धनगढी उपमहानगरपालिकाका मेयरले सडक निर्माणका लागि आवश्यक समन्वय गरिरहेका छन् र स्थानीयको सहयोग पनि रहेको छ।
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणाधीन अवस्थामा छ । सडक विस्तार पूरा गर्नुपर्ने समयावधि २०८२ वैशाख २६ गते सकिए पनि काम सकिएको छैन । बजेट अभावले गर्दा तोकिएको समयमै काम पूरा नभएको बताइएको छ ।
२०८० असार १३ गते सुदूरपश्चिम सरकारका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले यो सडक विस्तार शिलान्यास गरेका थिए ।
प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजारको लागतमा धनगढी बजारको कैलाली पुलदेखि क्याम्पसचोकसम्म २ दशमलव २८ किलोमिटर सडक विस्तार कार्य सुरु भएको थियो ।
धनगढीको केएस कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको जिम्मा पाएको हो । २०८० वैशाख २७ गते सडक निर्माणको सम्झौता गरेको कम्पनीले २०८२ वैशाख २६ गतेभित्र सम्पूर्ण काम सक्नुपर्ने थियो तर बजेट अभावमा काम समयमै पूरा हुन सकेन ।
बजेट अभावमा काम पूरा हुन नसकेकाले निर्माण सम्पन्न हुने म्याद थप गर्नुपर्ने अवस्था आएको सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
‘भौतिक संरचनाको कुरा गर्ने हो भने असार मसान्तसम्म सबै कालोपत्रेको काम पूरा हुन्छ । अहिले एक चरणको कालोपत्रेको काम पनि पूरा भएको छ । डबल कालोपत्रेको काम पनि आधा भएको छ । अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । फुटपाथ निर्माण लगायतका अन्य काम हुँदैछ,’ उनले भने ।
खत्रीका अनुसार बजेट अभाव हुँदा काम सुस्त भएको हो । ५२ करोड लागतमध्ये अहिलेसम्म सडक निर्माणमा ३३ करोड खर्च भइसकेको जानकारी दिँदै उनले बाँकी भुक्तानी दिन बजेट अभाव रहेको बताए ।
पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बन्दैछ । मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमी हुन नदिने प्रतिबद्धता त्यतिबेला प्रदेश सरकारले जनाए पनि अहिले अभावका कारण निर्माण सम्पन्नमा ढिलाइ भएको हो ।
‘हामीले थप बजेटका लागि भौतिक पूर्वाधार मन्त्रालय र त्यहाँबाट अर्थ मन्त्रालयमा जानकारी गराएका छौँ । त्यहाँबाट थप बजेट प्राप्त भए काम तीव्र गतिमा चल्ने छ,’ उनले भने, ‘अहिले काम सुस्त छ । समयमै भुक्तानी पाएको भए असारमै सबै काम सकिन्थ्यो तर बजेट अभाव हुँदा अब ६ महिनाजति म्याद थप गर्ने कुरा भइरहेको छ ।’
पूर्वाधार विकास कार्यालयका अनुसार कालोपत्रेको काम असारमा पूरा हुने र फुटपाथ लगायतका काम पुससम्ममा सकिने छ । प्रदेश सरकारले सडकलाई प्रदेशकै नमुना विकास योजनाका रूपमा बनाइने बताएको थियो ।
चार लेनको सडकमा दुवैतर्फ फुटपाथ, साइकल लेन र बिचमा मिडियन निर्माण गर्ने काम जारी छ । सडक बत्ती, पानी, बिजुली र ढलको निकासका लागि सडकमा युटिलिटी कोरिडोर बन्दैछ ।
पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बन्दैछ । मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमी हुन नदिने प्रतिबद्धता त्यतिबेला प्रदेश सरकारले जनाए पनि अहिले अभावका कारण निर्माण सम्पन्नमा ढिलाइ भएको हो ।
बजेट प्राप्त नहुँदा केही ढिला हुन पुगेको निर्माण कम्पनीका सञ्चालक सुरेन्द्र पालले जानकारी दिए । ‘हामीले तोकिएको समय अगावै निर्माण गर्ने भनेका थियौँ,’ उनले भने, ‘बजारमा कसैले पनि उधारो दिँदैन । सबै सामान किन्न नगद चाहिन्छ । सडकको माथिल्लो लेयरको कालोपत्रेका भइरहेको छ । पूर्वाधार विकास कार्यालयले बजेट मागका लागि मन्त्रालयमा फाइल पठाएको छ, त्यहाँबाट बजेट स्वीकृत भएर अहिलेसम्म आएको छैन ।’
बजेट स्वीकृत भएर आए काम गर्न सहज हुने पालले बताए । बजेट अभावका बाबजुद आफूले काम नरोकेको उनको भनाइ छ ।
सडक शिलान्यासका बेला धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले एक वर्षभित्र सडक निर्माणको काम सम्पन्न गरिए निर्माण व्यवसायी, प्रदेश सरकारका मन्त्री र निर्माणको नियमन गर्ने अधिकारीहरूलाई रथारोहणसहित नागरिक अभिनन्दन गर्ने घोषणा गरेका थिए ।
धनगढी उपमहानगरपालिकाले पनि सडक निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक समन्वय गरिरहेको छ ।
यसरी भएको थियो सडक विस्तारको काम
धनगढी उपमहानगर प्रमुख हमालले स्थानीय तह निर्वाचनमा धनगढीमा हुने सवारी जाम हटाउने बाचा गरेर भोट मागेका थिए । साँघुरो बाटोका कारण धनगढीमा सवारी जाम हुन्थ्यो । यो हटाउन बजारको मुख्य सडक फराकिलो बनाउनु पर्थ्यो ।
२०७० सालतिर हुलाकी सडक परियोजना अन्तर्गत यो सडक बनाउन लागिए पनि स्थानीयवासीले सडक किनाराका संरचना हटाउन नदिएपछि काम रोकिएको थियो ।
२०८० असोजमा उपमहानगरपालिकाले हुलाकी सडकको शून्य बिन्दुदेखि कैलाली पुलसम्म मध्यभागबाट दायाँ–बायाँ दुवैतर्फ १५–१५ मिटरभित्रका सबै संरचना हटाउन सूचना जारी गर्यो । सूचनाको विरोध भयो । कतिपयले घर नभत्काउने अडान लिए ।
यसपछि मेयर हमाल सबै टोल र घरघरमा पुगेर मानिसहरूलाई सम्झाए । वडानम्बर ६ का वडाध्यक्ष भागीराम चौधरीका अनुसार मेयर हमालले बाटो फराकिलो बनाउन किन आवश्यक छ भनेर बुझाउने प्रयास गरेका थिए ।
‘कतिपयले कुरा बुझे, कतैकतै विवाद पनि भयो । मेयरज्यू घरघरमा गएर व्यक्तिव्यक्तिलाई सम्झाउनु भयो,’ चौधरीले भने ।
उक्त सडक फराकिलो पारेर पुनर्निर्माण गर्न कम्तीमा ६० करोड रुपैयाँ चाहिने भयो । उपमहानगरपालिका एक्लैले यति ठुलो बजेट जुटाउन सक्दैनथ्यो । बजेट जुटाउन प्रदेश र संघीय सरकारसँग रणनीतिक रूपमा सहयोग मागेको मेयर हमालको भनाइ छ ।
व्यापारमा समेत संलग्न रहँदै आएका कारण हमाल धनगढी बजारमा दशकौँदेखि परिचित व्यक्ति हुन् । धेरैसँग उनको चिनजान छ । विवाद भएका ठाउँमा गएर आज बाटो फराकिलो बनाउनु भोलिको पुस्ताका लागि हो भनेर उनले कुरा बुझाए । उनले सडक कस्तो हुनपर्छ र त्यसका लागि के के गर्नुपर्छ भनेर धेरै व्यक्तिसँग सल्लाह–सुझाव पनि लिए । विरोध गर्ने वा गर्न सक्नेहरूसँगै उनले समाधान मागेपछि एक त विरोध हुन छोड्यो, अर्काेतिर मानिसले विकासका काममा अपनत्व लिने भए ।
‘हामीले स्थानीयसँग नै बाटो फराकिलो बनाउन के–के गर्नुपर्छ भनेर सोध्यौँ । भावी पुस्तासम्मलाई फाइदा हुने गरी विकास गर्नुपर्ने कुरा सम्झायौँ । भूकम्पीय जोखिमको कुरा गर्यौँ,’ मेयर हमालले रातोपाटीसँग भने, ‘विकासका लागि भनेर मलाई भोट दिनुभयो, अब काममा सहयोग गर्नुहोस् भनेँ । मैले काम गर्न नसके तपाईंले मलाई जिताएको मतलबै भएन भनेर सम्झाएपछि सबैले बुझ्नुभयो ।’
सरकारी जमिनमा भएका घर, सटर र संरचना धमाधम डोजर लगाएर खाली गराइयो । त्यसपछि स्वेच्छाले आफ्नो घर भत्काउन चाहनेहरूका संरचना भत्काइए । धनगढी उपमहानगरपालिकाले सडक किनारका ४२८ वटा घर कुनै अवरोधविना भत्काएको थियो ।
‘पुलिस नलगाई यति धेरै घर भत्काएको यो नै पहिलो होला,’ मेयर हमालले भने, ‘निःस्वार्थ भएर सबैको हित हुने काम गर्न मानिसहरू तयार छन् भन्ने कुरा मैले राम्ररी थाहा पाएँ ।’
सडक फराकिलो बनाउन स्वेच्छाले घर भत्काउने कुमारी सुवेदीले विकासका लागि साथ दिन पाउँदा गर्व लागेको बताइन् ।
‘साँघुरो सडकमा हिँडडुल गर्न गाह्रो हुन्थ्यो । सडकका लागि घर भत्काउन मलाई गाह्रो भएन । विकास गर्न एकजुट हुनुपर्छ, विनाश पो गर्नुभएन,’ उनले भनिन्, ‘यो सडक फराकिलो गर्न २०५८ सालदेखि कुरा उठेको हो तर काम भएको थिएन । अहिले हामी खुसी भएका छौँ ।’
उक्त सडक फराकिलो पारेर पुनर्निर्माण गर्न कम्तीमा ६० करोड रुपैयाँ चाहिने भयो । उपमहानगरपालिका एक्लैले यति ठुलो बजेट जुटाउन सक्दैनथ्यो । बजेट जुटाउन प्रदेश र संघीय सरकारसँग रणनीतिक रूपमा सहयोग मागेको मेयर हमालको भनाइ छ ।
चुनावपछि जिल्ला समन्वय समिति गठन हुँदै थिए । जिल्लाभरिका स्थानीय तह प्रमुखहरूको बहुमतबाट यो समिति गठन हुने प्रावधान छ । कैलालीमा १३ वटा स्थानीय तह छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा दुई पक्षबिच समान मत थियो ।
कैलालीमा नेपाली कांग्रेससहित तत्कालीन गठबन्धनको ६ मत थियो । एमाले सहितको गठबन्धनको ६ मत । बाँकी एक मत हमालको थियो । उनको एक मत निर्णायक हुने भयो ।
सत्तामा रहेको कांग्रेससहितको गठबन्धनसँग उनले आफ्नो कुरा राखे । मुख्य सडक बनाउन चाहिने बजेट प्रदेश सरकारले उपमहानगरलाई दिने भए निर्णायक मत दिन्छु भने ।
‘सत्ता गठबन्धन मेरो सर्तमा राजी भएपछि मैले उनीहरूको प्यानललाई भोट दिएँ,’ मेयर हमालले भने, ‘लगत्तै मैले राखेको सर्तअनुसार प्रदेश सरकारले बजेट छुट्ट्यायो ।’
संसदीय चुनावअघि त्रिलोचन भट्ट मुख्यमन्त्री रहँदै सुदूरपश्चिम प्रदेश सरकारले ६६ करोड रुपैयाँ छुट्ट्यायो । त्यसपछि ठेक्का आह्वान भएको थियो ।
पार्किङसहित चार लेनको सडकमा मिडियम, दुवैतिर नाली, र फुटपाथ भएको आधुनिक सडक बनाउने उपमहानगरपालिकाको योजना बन्यो ।
धनगढीमा अटो रिक्सा चलाउँदै आएका फागुराम चौधरी सडक फराकिलो हुने भएपछि खुसी छन् । उनले भने, ‘कुरा चलेको धेरै वर्षपछि सडक फराकिलो बन्दैछ । यो गर्वको कुरा हो । सडकसँग साइनो भएका हामीजस्तालाई त निकै सजिलो होला ।’