आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

शनिबार, ०६ असोज २०८०, ११ : ५८
शनिबार, ०६ असोज २०८०

जानकी । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ ।  शुक्रबार निकुञ्ज संरक्षणमा रहेको अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका पाँच विद्यालयका छात्रछात्रालाई  प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको हो । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई निकुञ्जसम्बन्धित चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रमको पनि आयोजना गरिएको थियो । निकुञ्ज सुरक्षामा खटिएको अर्जुनवाण गणका गणपति एवं प्रमुख सेनानी अशोक खड्काले आगामी दिनहरुमा विद्यालय सञ्चालक र विद्यार्थीसँग यस्ता कार्यक्रम निरन्तररुपमा गरिने जानकारी दिए । 

“प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी विषयमा विद्यार्थी सचेत रहन आवश्यक भएकाले हामीले यस्ता कार्यक्रम गरेका हौँ”, गणपति खड्काले भने, “यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा हामीले सम्बन्धित पक्षसँग सहकार्य पनि गर्नेछौँ ।” 

कार्यक्रममा सहभागी विद्यार्थीले पनि प्रकृति र वन्यजन्तु संरक्षणसम्बन्धी आफूहरुले धेरै कुरा सिक्न पाएको बताएका थिए । कार्यक्रममा चित्रकला प्रतियोगितामा राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रथम, भगवती आधारभूत विद्यालयका छात्र यमलाल कुवँर द्वितीय, शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समीक्षा थारु तृतीय र चौथो पुरस्कार भगवती आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरेका हुन् ।

प्रतियोगितामा विजेता छात्रछात्रालाई राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनका लागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न सङ्घसंस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तक पनि उपलब्ध गराइएको थियो । 

चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भू–परिधि कार्यक्रम (ताल) लगायतले सहकार्य गरेका थिए । कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप