सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘निज्जर हत्याको गोप्य जानकारी अमेरिकाले क्यानडालाई दिएको थियो’

आइतबार, ०७ असोज २०८०, २० : २६
आइतबार, ०७ असोज २०८०

न्यूयोर्क । अमेरिकाको न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार अमेरिकाले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्याको बारेमा क्यानडालाई गुप्तचर जानकारी दिएको थियो । 

न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै क्यानडाले कसैको कुराकानी सुनेपछि निज्जरको हत्यामा भारतको 'सम्भावित' भूमिका बलियो बनेको दाबी गरेको छ।

शनिबार क्यानाडामा रहेका अमेरिकी शीर्ष कूटनीतिज्ञले फाइभ आइज सहयोगीहरू (अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजील्याण्ड) बीच साझा गरिएको गोप्य जानकारीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भारतविरुद्ध आक्रामक आरोप लगाउन बाध्य पारेको पुष्टि गरेका थिए । 

प्रधानमन्त्री ट्रुडोले सोमबार क्यानडाको संसदमा निज्जरको हत्यामा भारतीय एजेन्सीहरुको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

क्यानडाले भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई स्वदेश फर्किन आदेश पनि दिएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ ।

भारतले क्यानडाको आरोपलाई अस्वीकार गर्दै उसको आरोप 'बेतुकको' र 'उत्तेजक' भएको बताएको छ। भारतले नयाँ दिल्लीमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ। साथै क्यानडाबाट भारत आउने भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोकिएको छ ।

वर्षौंदेखि क्यानडामा बस्दै आएका हरदीप सिंह निज्जरको जुनमा हत्या भएको थियो । निज्जरलाई चरमपन्थी भन्दै भारतले क्यानडा सरकारसँग उनलाई सुपुर्दगी गर्न माग गरिरहेको थियो । भारत सरकारले यसै साता पञ्जाबमा रहेको निज्जरको सम्पत्ति जफत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप