शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस उपसभापति र महामन्त्रीहरुबाट महासमितिमा कस्तो आउँछ प्रतिवेदन ?

शुक्रबार, १२ असोज २०८०, १७ : ५६
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेस आगामी मंसिरमा हुने महासमिति बैठकमा केन्द्रित भएको छ । कांग्रेसले असोज ८ मा सम्पन्न केन्द्रीय समिति बैठकबाट आगामी मंसिर १३, १४ र १५ मा हुने महासमिति बैठकको तयारीका लागि चार समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै (काठमाडौँ, ललितपुर र भक्तपुर) जिल्लाका पार्टी सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष सदस्य छन् ।

महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ ।

समितिमा केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता रहनेछन् । आवश्यकतानुसार सभापतिले थप सदस्य मनोनयन गर्न सक्ने अधिकार बैठकले दिएको छ । महामन्त्री गगन थापाले पार्टीको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले  समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महामन्त्रीद्वयले समिति बनाएर सांगठनिक र राजनीतिक प्रतिवेदन तयार पार्ने छन् ।

यता कांग्रेसको केन्द्रीय अनुशासन समितिले पनि महासमिति सदस्यको निर्वाचन हुन बाँकी स्थानको कारबाही प्रक्रिया करिब टुङ्गो लगाएको छ । अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले महासमिति सदस्यको निर्वाचन हुन बाँकी २३ जिल्लामा कारबाहीको टुङ्गो लागेको बताए ।

‘महासमिति निर्वाचनलाई मध्यनजर गरेर हामीले अनुशासनको कारबाहीलाई केन्द्रित गरेका छौँ । महासमिति सदस्य निर्वाचनका लागि अनुशासनको कारबाहीका कारण समस्या छैन । हामीले निर्वाचनको बाटो खोलिसकेका छौँ,’ उनले भने ।

कस्तो आउँछ उपसभापति र महामन्त्रीहरुको प्रतिवेदन ?

महासमिति बैठकमा समसामयिक राजनीतिक र पार्टीको कार्यदिशाबारे वैचारिक छलफल हुनेछ । कांग्रेस महामन्त्री थापाले केही दिनमा समिति बनाएर प्रतिवेदन लेखनको काम सुरु गर्ने रातोपाटीलाई बताए । उपभापति खड्का नेतृत्व समितिले कांग्रेसको राष्ट्रिय नीतिको विषय समेट्छ ।

महामन्त्री थापाले भने, ‘हामीले अहिले राष्ट्रिय राजनीति, समाजवादीको विषय, परराष्ट्र, आर्थिक स्थिति, युवा विदेश पलायन लगायतका विषयलाई कसरी हेर्छौँ ? नीतिगत प्रस्तावमा आउँछ ।’

उक्त विषयमा कांग्रेसको नीति र धारणासहित नीतिगत प्रस्ताव बैठकमा पेस हुने उनको भनाइ छ । कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको स्मृतिमा  कात्तिक २४ र २५ मा हुने ‘इकोनोमी कन्क्लेभ’ ले खड्काको प्रतिवेदनलाई मद्दत पुग्ने महामन्त्री थापाले बताए ।

उनका अनुसार कार्यक्रममा पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अबको बाटो लगायतमा छलफल गरिने छ । इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसामयिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।

महामन्त्री शर्माले वर्तमान राजनीतिक विषय वस्तु समेटर राजनीतिक प्रतिवेदन तयार पार्ने छन् । गठबन्धन, सरकार, विपक्ष पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्था लगायतका विषयले शर्माको प्रतिवेदनमा स्थान पाउने छन् ।

यस्तै महामन्त्री थापाको प्रतिवेदन पार्टीको सांगठनिक गतिविधिमा मात्र केन्द्रित हुने छ । महामन्त्री थापाका अनुसार त्यसलाई कुन ढाँचामा लेख्ने, कसरी लेख्ने, के गर्ने भन्नेबारे समिति बनेपछि छलफल हुन्छ ।

‘पार्टीको आधारभूत कुराहरु सदस्यता प्रणाली, उम्मेदवार छान्ने तरिका, शुभेच्छुक संस्थाका सदस्यलाई पार्टी सदस्य बनाउने, नबनाउने लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री थापाले भने ।

उनका अनुसार अहिले कांग्रेसले शिक्षक, प्राध्यापक, कर्मचारीहरुसँग औपचारिक रुपमा सम्बन्ध राख्नु हुन्न भन्ने छ । ‘यस्ता थुप्रै विषयमा महासमितिको बैठकमा छलफल हुन्छ । यसमा बहस हुन्छ । यसबारे ठोस निर्णय अर्को महासमिति बैठकमा मात्र हुन्छ,’ उनी भन्छन् ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनले यी विषयलाई बहसका रुपमा महासमितिमा प्रवेश गराउने छ । उनले भने, ‘यो प्रतिवेदनबाट पनि प्रवेश हुन्छ । त्यहाँको छलफलबाट पनि प्रवेश हुन्छ । यी पार्टीभित्र बहस चलिरहेका विषय हुन् ।’

यो महासमिति बैठकमा विधान संशोधनको बहस भने हुने छैन । ‘हाम्रो विधान संशोधन गरे पनि यो संशोधित विधान कार्यान्वयनमा जाने भनेको अर्को अधिवेशनबाट हो । आगामी महाधिवेशनअघि हाम्रो अर्को महासमिति बैठक बस्छ,’ महामन्त्री थापाले भने, ‘त्यतिबेला विधान संशोधन छुट्टै एजेण्डा हुन्छ । हाम्रो पार्टी संरचना कस्तो बनाउने भन्ने विषयमा त्यतिबेला छलफल हुन्छ । त्यसैले यो महासमितिको बैठकमा विधान संशोधन गरिराख्न परेन ।’

कांग्रेसमा अहिले पार्टीको नयाँ संरचना, राष्ट्रिय अवस्था, पार्टीमा ल्याउनुपर्ने नवीनता र समयको आवश्यकता सबै कुराले गर्दा थुप्रै विषयमा बहस चलिरहेको महामन्त्री थापाले बताए ।

‘हाम्रो संसदीय समितिबाट उम्मेदवार छान्छौँ । अब उम्मेदवार कार्यकर्ता तहबाट छान्नुपर्छ भन्ने बहस छ,’ उनले भने । त्यसो हुँदा संसदीय दलबाट उम्मेदवार छान्ने कुरा बदलेर कार्यकर्ताबाट छान्ने व्यवस्था विधानमा राख्नुपर्छ ।

‘पार्टीभित्र अहिले बहुपद छ । त्यसले झन् अलमल्यायो । बरु पार्टीमा सबै पदको निर्वाचन गराउने भन्दा पनि सभापतीय पद्धतिमा जानुपर्ने हो कि भन्ने बहस छ,’  उनी भन्छन् ।

विभिन्न क्षेत्रका पेसा–व्यवसायमा काम गरेका मान्छेले कांग्रेसको माध्यमबाट केही कुरा गर्न चाहे भने कसरी आउने भन्ने पनि महासमितिमा छलफल हुने थापाको भनाइ छ । पार्टीभित्रका केही सामान्य विषय संशोधन गरिए पनि कार्यान्वयन भने १५ औँ महाधिवेशनपछि मात्र हुने थापाले जनाकारी दिए । उनका अनुसार यो महासमिति पार्टी सांगठनिक संरचना फेरबदलभन्दा नीतिका विषयमा केन्द्रित हुनेछ ।

महासमितिमा को को हुन्छन् सहभागी ?

०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनले पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय लिएको थियो । विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नीति महाधिवेशनको विकल्पमा केन्द्रित गर्न लागेको देखिन्छ । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।

कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ । पार्टीको १४ औँ महाधिवेशनकै बेलामा केही महासमिति सदस्य चयन भइसकेका छन् । त्यतिबेला निर्वाचन हुन नसकेका केही जिल्लामा महासमिति छनोट गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृसंस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । १३ भ्रातृसंस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप