मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जातीय-धार्मिक द्वन्द्व गराएर शान्ति र सुव्यवस्थालाई बिथोल्ने प्रयत्नप्रति खबरदारी गर्न चाहन्छु : जनार्दन शर्मा

मङ्गलबार, १६ असोज २०८०, २१ : ०२
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले देशमा धार्मिक तथा जातीय द्वन्द्व बढिरहेको भन्दै समाधानका लागि सरकारलाई आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले त्यस्ता घटनाले समाजको शान्ति र सुव्यवस्थालाई बिथोल्ने खालको प्रयत्न भइरहेकोले त्यसप्रति खबरदारी गरेका छन् । उनले कहाँबाट यस्ता घटना बढिरहेको हो, त्यसको गहिराइसम्म पुगेर समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । 

सांसद शर्माले भने,‘आज देशमा बहुजाती, बहुभाषा, बहुसंस्कृति, बहुधर्म भएको यो देश आज जुन जातीय धार्मिक द्वन्द्व भइरहेको छ, आज नेपालगञ्जमा भएको, विगतदेखि तराईका केही भागमा र पूर्वी भागमा भएका जुन घटनाहरु छन्, ती अत्यन्तै गम्भीर प्रकृतिका घटनाहरु छन्, यी घटनाहरु किन, कसरी उत्पन्न भइरहेका छन्, कहाँबाट के कसरी अघि बढिरहेको छ, त्यसको अध्ययन गरेर गहिराइसम्म पुगेर समाधान गर्नुपर्ने आजको आवश्यकता छ ।’ 

यस्ता घटना हुन नदिनका लागि मेलमिलाप र सहिंष्णुका साथ अघि बढ्नका लागि सरकारले गम्भीर ढंगले कदम चालोस् भन्दै उनले यस्ता घटनाले समाजको शान्ति र सुव्यवस्थालाई बिथोल्ने खालको प्रयत्न भइरहेको बताए । 

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनका लागि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा ल्याएर पारित गर्न आग्रह गरे । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याएर देशलाई विकास र शान्तिको बाटोलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । 

सांसद शर्माले नेपालका महान् पर्वहरु नजिकै आइरहेको बेला नेपालीहरुले महँगीको सामना गरिरहनु परेको भन्दै सरकारले बजार अनुगमन र नियन्त्रण गर्न आग्रह गरे ।  

उनले कर्णालीको क्षेत्रमा खाद्यवस्तुको अभाव रहेको र बजार व्यवस्था गर्न माग गर्दै सडक मर्मत गर्न, बस, प्लेनको टिकट सहज गर्नपनि आग्रह गरेका छन् । यस्तै जनताहरु घर जाँदा खाना खाने राजमार्गका होटलहरुमा पनि अनुगमन गर्न आग्रह गरे ।  डोल्पा जानका लागि भेरी नदीमा बेलीब्रिज, चौरजाहारी पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।  

चीनमा भइरहेको एसियाली खेलकुद प्रतियोगीतामा नेपाली क्रिकेट टिमले हासिल गरेको कीर्तिमानलाई सम्मान गर्दै पुरस्कृत गर्न सरकारलाई आग्रह गरेका छन् । 

उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीप्रति संकेत गर्दै संसदमा बोल्ने कुरालाई सबैलाई समान समय दिन र समय दिने कुरामा विभेद नगर्न माग पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप