सार्वजनिक बिदामा नेपालको 'विश्व रेकर्ड'

काठमाडौं । 'राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो ।
विश्वव्यापी तथ्यांक राख्ने संस्था 'वर्ल्ड स्टाटिस्टिक्स'ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ।
एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन्, ''गम्भीर बनौं ! काम नगरी दिगो रूपले कोही धनी हुन सक्दैन भन्ने बुझौं ! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि !'
वर्ल्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन, तेस्रोमा इरान २६ दिन, चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश र इजिप्ट २२ र २२ दिन छन् ।
दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक विदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् ।
यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ । उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ । बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ