बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले कर्णाली बैठक

ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव

मङ्गलबार, ०९ असार २०८३, २२ : ५७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेकपा एमाले कर्णालीका नेता कार्यकर्ताहरूले पार्टीलाई 'रिफर्म' गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।
  • अधिकांशले व्यक्ति विशेषभन्दा पार्टीको समग्र सिस्टम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
  • नेता कार्यकर्ताहरूले केपी ओलीको बिदाइ कांग्रेस शैलीमा नभई संस्थागत, विधिसम्मत र एकताबद्ध ढङ्गले हुनुपर्ने सुझाव दिएका छन् ।

सुर्खेत । नेकपा एमाले कर्णालीका अधिकांश नेता, कार्यकर्ताहरूले अब पार्टीलाई ‘रिफर्म’ गर्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा एमालेको सुझाव संकलन कार्यदलको सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम’ राखेको थियो ।

जसमा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ सहभागी थिए । उपाध्यक्ष पौडेल सोमबार बेलुकी ५ बजेतिर सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परे । यद्यपि त्यसपछि पनि केही जिल्लाका नेताहरूले सुझाव राखे ।

एमाले प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईका अनुसार, दिनभर गरी करिब ८० जनाले पालैपालो पार्टीको वर्तमान अवस्था र अब गर्नु पर्ने विषयमा आ–आफ्ना धारणा र सुझाव राखेका थिए ।

जसमा ९० प्रतिशत नेता, कार्यकर्ताहरूको निष्कर्ष थियो—अब पार्टीलाई ‘रिफर्म’ गर्नुको विकल्प छैन । 

‘अहिले सिधै पार्टीको नेतृत्व नै बदल्नुपर्छ भन्ने होइन, नेताहरू पनि केपी ओलीलाई नै बदल्नुपर्छ भन्ने उद्देश्यसहित आउनु भएको होइन,’ पछाईले भने, ‘यद्यपि समग्र पार्टी संरचनानै पुनर्गठन अर्थात् परिवर्तन गर्नुपर्छ भन्ने कुरा कुरा आए ।’

व्यक्ति विशेष भन्दा पनि समग्र पार्टीको सिस्टमलाई गति दिने गरी नयाँ तरिकाले सोच्नुपर्ने तर्क सहभागीहरूको रहेको उनको भनाइ छ ।

सहभागी अर्का एक नेताका अनुसार, ८० मध्ये एक जना कालिकोट र एक मुगुका नेताले खुलेरै अहिलेको अवस्थामा केपी ओलीलाई हटाइहाल्न नहुने तर्क गरेका थिए, कार्यक्रममा । उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्छ भनेर भनिरहेका थिए ।

बाँकी अधिकांशले व्यक्ति विशेष भन्दा पनि समग्र पार्टीकै सिस्टम चाहिँ चेन्ज गर्नु पर्‍यो भन्ने तर्फ केन्द्रित रहेको ती नेताले बताए ।

‘विगतमा पार्टीप्रति वा नेतृत्वप्रति जुन भरोसा छ थियो, अहिले भएन,’ नेता, कार्यकर्ताको सुझावलाई उद्धृत गर्दै उनले भने, ‘त्यसलाई फिर्ता गराउनका लागि हामीले पुराना कमजोरीहरूलाई स्वीकार गर्नुपर्छ । हामीले विकास र समृद्धि भनेर जोड गर्‍यौँ ।  तर सुशासनको पाटो कमजोर हुँदा खेरी पार्टीमा समस्या भएको कुरा धेरैले राखे ।’

अहिलेको सरकारले उक्त मुद्दालाई उठाइएको विषयबारे पनि कुरा उठेको थियो ।

पार्टी पुनर्गठन भन्ने बित्तिकै केपी ओलीलाई नेतृत्वबाट बदल्ने कुरा मात्र नभएर समग्र पार्टीकै कुराबारे छलफल भएको थियो ।

तर अधिकांश नेता, कार्यकर्तामा केपी ओलीलाई हटाए पनि हुन्छ भन्ने कुरा वडा देखि केन्द्र सम्म आवश्यकता भयो र जनताले भने भने त्यसका लागि पनि तयार हुनुपर्छ भन्ने धारण धेरैका रहेको अर्का एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

‘मूल सन्देश सबैले यही दिए, कर्णालीका १० वटै जिल्लाले,’ उनले थपे ।

उनका अनुसार, एक जमानामा ओलीको व्यक्तित्व पनि बेचियो । ओलीले गर्न खोजेका पुराना कामहरू जुन छन् विकासका आयोजनादेखि नेसनालिटीको कुरा त्यो चाहिँ हाम्रो पार्टीको सम्पत्ति हो ।

‘त्यो सम्पत्तिलाई आगामी दिनमा बोकेरै जानुछ,’ उनले थपे, ‘त्यसैले ओलीको बिदाइ भएछ, गर्नु परे पनि कांग्रेस शैलीले भन्दा पनि आफ्नै संस्थागत ढङ्गले, विधि सम्मत ढङ्गले विवाद नहुने गरी एकताबद्ध ढङ्गले गर्नुपर्छ भन्ने प्रायको राय थियो ।’

यद्यपि कांग्रेसको जस्तो फेरि विधान महाधिवेशन भन्दै एउटा पक्षलाई मात्र बोकेर अगाडि हिँड्ने हतियार कसैलाई पनि प्राप्त नहुने तर्क नेता, कार्यकर्ताको थियो ।

एक नेताले त आवश्यकता भयो भने ओली जुन—घाम रहुन्जेल सम्म हुनुपर्ने भन्ने के छ र ? भन्दै प्रश्न गरेका थिए । 

महाधिवेशनबाट नेता, कार्यकर्ताले ओलीलाई अनुमोदन गरे पनि तर त्यो कुरा पब्लिकले एक्सेप्ट नगरेको चर्चा बैठकमा भएको थियो ।

‘एमाले लगायत पुराना दलमा जाम भएकै कारणले गर्दा पुराना पार्टीहरूका विरुद्धमा वैकल्पिक पार्टी र पुराना मान्छेका विरुद्धमा नयाँ मान्छे खडा भएको परिस्थिति त सबैले स्वीकार गर्नु पर्‍यो,’ ती सदस्यले भने । 

प्रदेश सरकारमाथि प्रश्नै प्रश्न

एमालेका केन्द्रीय सदस्य रुद्र शाहीका अनुसार, सुझाव दिने क्रममा अधिकांश नेता, कार्यकर्ता आफ्नै पार्टीको नेतृत्व रहेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादनप्रति असन्तुष्ट बनेका छन् ।

कार्यक्रममा राखेका विचार अनुसार, यामलाल कँडेल मुख्यमन्त्री भएको र एमाले सरकारले प्रदेशमा गरिरहेका कामकारबाहीमा खासै खुसी कोही देखिएनन् ।

अर्का एक नेताका अनुसार, योजना बैंकका नाममा निश्चित घेराका मान्छे मात्र राख्ने, लाभ लिने अनि विकास आयोजनामा पनि प्रभावकारी नभएका नस्ता कुरा उठे ।

‘नेतृत्व हाम्रो हुने तर हरेक ठाउँमा फाइदा कांग्रेसकाले लिने काम भएको देखियो,’ कार्यक्रममा एक नेताले राखेको भनाइ उद्धृत गर्दै उनले भने, ‘राजनीतिक नियुक्ति पनि उनैले पाउने, लोक सेवामा अहिलेसम्म भएका छैन ।’

साथै, बजेट, नीति तथा कार्यक्रमहरूमा पनि खासै यामलालबाट कोही पनि नेता कार्यकर्ता खुसी नभएको कुरा बैठकमा राखेका थिए ।

‘बाहिरबाट हेर्दा उहाँ (मुख्यमन्त्री)ले सुशासनको नारा दिनु भएकै छ, तर त्यो बिकेन वास्तवमा,’ एक नेताले खुलेरै बैठकमा भनेका थिए, ‘अर्को पार्टीसँग समन्वय स्वयम् यमलालले पनि गरेनन् । राजा जस्तो व्यवहार गरे ।’

कतिपय कर्मचारीलाई उनीहरूको व्यवस्थापन बिना हटाइएका कुरा पनि त्यहाँ उठेका थिए ।

‘अरूलाई दर्शन हाँक्ने बेला ठुलै दर्शन हाँक्ने प्रदर्शन चाहिँ पाँच पैसाको नगर्ने जस्ता कुरा उठेका थिए,’ ती नेता भन्छन् ।

केन्द्रीय सदस्य शाही प्रदेश सरकारसँगै समग्र पार्टीलाई नयाँ आयाम र आधारसहित जनतासँगको सम्बन्धलाई पुनः स्थापित गर्ने र थप सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने कुरा आएको बताउँछन् ।

के भने त शंकर पोखरेलले ?

सोमबार अधिकांशले सुझाव राख्ने मात्रै कार्य तालिका थियो ।

विष्णु पौडेल पक्राउपछि उपाध्यक्ष रामबहादुर थापा, पृथ्वीसुब्बा मंगलबार बिहानै काठमाडौँ हानिए ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा एमाले प्रदेश कमिटीले अभिमुखीकरण भनेर कार्यक्रम राख्यो । पोखरेलले उक्त कार्यक्रममा पार्टीको वर्तमान अवस्था र नेता, कार्यकर्ताले राखेका कुराको जवाफ दिए ।

पोखरेल स्वयम्ले केपी ओलीको विकल्प खोज्न नआएको र समग्रमा पार्टीलाई नयाँ जीवन कसरी दिन सकिन्छ भन्ने तरिकाले पुनर्गठन कार्यदल बनाएर काम भइरहेको बताए ।

‘हामीले कहाँ नेर कमजोरी गर्‍यौँ भनेर सुझाव संकलन गर्न आएको हो,’ पोखरेलले भने, ‘यहाँ ओलीलाई हटाउन आएको जस्तो गरी केही भाष्य पार्टीभित्र र बाहिरबाट बनाइयो । त्यसले विभाजन गर्ने अथवा त्यो मनोविज्ञानलाई विभाजन गर्ने जस्तो देखियो ।’

shanakar

पोखरेलले आवश्यकता परे सबैले पार्टी पुनर्गठन, पुनर्जागरण, पुनर्सुदृढिकरण, कमीकमजोरीलाई स्वीकार गर्ने र आमरुपमा हिजोको विकास र समृद्धिको एजेण्डा बोक्ने, सुशासन लगायत जनताको भावनालाई बोक्दै पार्टीलाई पुनः स्थापित गर्ने कुरा राखेका थिए । 

आगामी दिनमा देशभरिबाट आएका सुझाव अनुसार, अध्यक्ष हट्ने कि महासचिव हट्ने कि अहिलेका उपाध्यक्षहरू हट्ने कि फेसबुकमा लेख्नेहरू हट्ने कि वडा देखि केन्द्रका कमिटी सबै विघटन गरेर नयाँ बनाउने कि वा यसैलाई अब नयाँ भाषा दिएर जाने कि भन्ने विषयमा सोचिने कुरा बैठकमा पोखरेलले राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप