शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको अपिल

बुधबार, १७ असोज २०८०, १५ : ०६
बुधबार, १७ असोज २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न अपिल गरेको छ । बाँकेको नेपालगन्जमा मंगलबार र्‍यालीको क्रममा हिन्दु र मुस्लिम समुदायबिच विवाद सिर्जना भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार र उच्छृङ्खल गतिविधिहरू भएसँगै आयोगले बुधवार विज्ञप्तिमार्फत यस्तो अपिल गरेको हो । 

आयोगले तनावका कारण केही स्थानमा झडप हुँदा ५ जना सुरक्षाकर्मीसहित २२ जना व्यक्ति घाइते भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा आयोगको नेपालगन्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको प्रवक्ता टीकाराम पोख्रेलले जानकारी दिए । 

‘केही दिनअघि सामाजिक सञ्जालमा भएका टिप्पणी र प्रतिक्रियाको विषयलाई लिएर असोज १४ गते मुस्लिम समुदायबाट जिल्ला प्रशासन कार्यालय परिसरमा टायर बालेर प्रदर्शन गरिएको, यसको विरोधमा ओमकार समाज र शिव सेनासहितका केही हिन्दु समर्थकहरूले असोज १६ गते नेपालगन्ज उपमहानगरपालिका बन्दको आह्वान गर्दै बिहान १० बजेदेखि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएकोमा जिल्ला प्रशासन कार्यालय बाँकेमा असामान्य अवस्थालाई सम्बोधन गर्नका लागि असोज १५ गते सर्वदलीय बैठक बसेको आयोगको अनुगमनको क्रममा पाइएको छ’, आयोगले भनेको छ, ‘बैठकको निर्णय बमोजिम असोज १६ गते बिहान ७ बजे सद्भाव र्‍याली निकालिएको थियो । सोही दिन बिहान ओमकार समाजसहितका हिन्दु समर्थकहरूको प्रदर्शनको क्रममा ढुंगामुढा प्रहार भएपश्चात् दुई समूह बिच दोहोरो झडप भएकोले अवस्थालाई थप हिंसात्मक हुन नदिन नेपालगन्ज उपमहानगरपालिकाभित्र जिल्ला प्रशासन कार्यालयद्वारा असोज १६ गतेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको जानकारी प्राप्त भएको छ । झडपको क्रममा घाइते भएका २१ जना उपचारपश्चात् घर फर्किएका र एक जना सर्वसाधारणको भेरी अस्पतालमा उपचार भइरहेको देखिएको छ ।’ 

आयोगले नेपालको संविधानको प्रस्तावनामा नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उल्लेख गरिएको स्मरण गराएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात् गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउने आयोगले स्पष्ट गरेको छ । 

‘अतः साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन, मर्यादित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न, घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू नगर्न/नगराउन र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप