सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हवाई टिकटमा भ्याट

हवाई टिकटमा भ्याट, हुण्डीलाई प्रश्रय

नेपालको पर्यटन नै ‘कोल्याप्स’ हुने व्यवसायीको चिन्ता
बिहीबार, १८ असोज २०८०, १३ : २३
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा)ले बुधबार मात्रै सरोकारवालासँग छलफल गर्‍यो । सरकारले हवाई उडानमा १३ प्रतिशत भ्याट अनिवार्य गरेपछि यसको कार्यान्वयन कसरी हुन्छ र नेपालको पर्यटनको भविष्य के हुन्छ भन्ने विषयमा छलफल गरिएको हो ।

विभिन्न ट्राभल्स एजेन्सी तथा टुर अपरेटरसँगको छलफलमा अधिकांशले नेपालको पर्यटनको भविष्य समाप्त (कोल्याप्स) पार्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । सरकारको निर्णयसँगै अन्य देशबाट टिकट बिक्री हुने र विदेशी पर्यटकको गन्तव्य पनि परिवर्तन हुनसक्ने उनीहरूको भनाइ थियो । सरकारको निर्णयले पर्यटन क्षेत्रलाई दूरगामी असर गर्ने र गन्तव्य महँगो हुँदा नेपाल आउने पर्यटक भारत, कम्बोडिया, भियतनाम लगायतका देशमा डाइभर्ट हुने चिन्तासमेत उनीहरूले व्यक्त गरे ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा आर्थिक वर्ष २०८०/०८१ बाट अन्तर्राष्ट्रिय हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने घोषणा गर्‍यो । यद्यपि वायुसेवा कम्पनी र ट्राभल्स एजेन्सीको असहयोगका कारण कार्यान्वयनमा आउन सकेन । त्यही बिचमा नाट्टाले सर्वोच्च अदालतमा हवाई टिकटमा भ्याट लगाउनेसम्बन्धी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दर्ता गरायो ।

अदालतले अल्पकालीन अन्तरिम आदेश दिएर रोकिएको भ्याटको कार्यान्वयन अन्तरिम आदेशको निरन्तरता नहुने भएपछि सेप्टेम्बर २७ बाट अनिवार्यरुपमा लागू हुने र त्यसबापतको रकम सरकारको राजस्व खातामा बुझाउनुपर्ने भन्दै दबाब दियो । त्यसपछि ट्राभल एजेन्सीहरूले बाध्य भएर हवाई टिकटमा पनि भ्याट उठाउन थाले ।

करिब २० प्रतिशत महँगियो हवाई टिकट

सरकारले अनिवार्यरुपमा भ्याट लगाउने घोषणा गरेपछि यतिबेला नेपालबाट जारी हुने हवाई टिकटमा करिब २० प्रतिशतले वृद्धि भएको छ । १३ प्रतिशत भ्याट र अन्य प्रशासनिक खर्च पनि बढ्ने भन्दै वायुसेवा कम्पनी र ट्राभल्स एजेन्सीले यसअघि बेचिरहेको हवाई टिकटको मूल्यमा करिब २० प्रतिशतले वृद्धि गरेका छन् ।

पहिले औसतमा ५५ हजार रुपैयाँ रहेको काठमाडौँ–मलेसिया–काठमाडौँ उडानको भाडा यतिबेला ७२ हजार रुपैयाँ पुगेको छ । उदाहरणका लागि २६ अक्टोबर, २०२३ मा काठमाडौँबाट मलेसिया गई ३१ अक्टोबरमा काठमाडौँ फर्कने हो भने दुईतर्फीको सबैभन्दा सस्तो भाडा ६३ हजार ७ रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भ्याटसहितको मूल्य जोड्दा ७१ हजार १९० रुपैयाँ हुन्छ । विमान कम्पनीको वेबसाइटमा देखाएको टिकटको मूल्यमा पनि १३ प्रतिशत थप गरेर रकम लिने भएका कारण भाडामा वृद्धि भइसकेको छ ।

NAC (1)

विदेशबाट टिकट काटे सस्तो, नेपालबाट महँगो

अहिले नेपालबाट टिकट खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भए पनि अन्य देशबाट टिकट खरिद गर्दा भ्याट लाग्दैन । जसका कारण अहिले नै विदेशी भूमिबाट टिकट खरिदबिक्री हुन थालिसकेको छ । नेपाल सरकारले नेपालबाट अन्यत्र जाँदा टिकटमा भ्याट अनिवार्य लाग्ने भने पनि अन्य देशबाट नेपालमा आउँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयको टुङ्गो लागिसकेको छैन । जसका कारण यदि कुनै व्यक्तिलाई मलेसिया जानु परेको अवस्थामा पनि नेपालबाट मलेसियाका लागि एकतर्फी टिकट काट्ने र उताबाट फर्कँदा अर्को टिकट काट्न सुरु गरिएको छ । परिणामस्वरुप नेपालका ट्राभल एजेन्सीहरूले अबदेखि टिकट बिक्री गर्दा एकतर्फीको मात्रै टिकट काट्नेछन् । यसबाट नेपालका ट्राभल एजेन्सीहरूले गर्ने व्यापारमा पनि आधा कमी आउने र आयकरमा पनि राज्यलाई हानि हुने उनीहरूको विश्लेषण छ ।

यसरी फस्टाउँछ हुण्डीको कारोबार

नेपालमा हुण्डीको कारोबार र अश्वेत अर्थतन्त्र एउटा जटिल समस्या रहँदै आएको छ । सरकारले हवाई भाडामा भ्याट लगाउने नीति लिएपछि हुण्डीको कारोबार झनै बढ्ने र अश्वेत अर्थतन्त्र अझै बढी फस्टाउने व्यवसायीको चिन्ता छ ।

नेपालबाट अस्ट्रेलिया जाने यात्रुहरुले हवाई टिकटको माग गरेमा अब नेपालबाट भारत वा सिंगापुरको एकतर्फी टिकट काटिने र त्यहाँबाट त्यहीँको ट्राभल्स एजेन्सीमार्फत् अर्को गन्तव्यको टिकट काट्ने दर बढ्ने व्यवसायीको दाबी छ ।

नाट्टाको पदाधिकारी तहमा रहेका एक व्यवसायीले अबदेखि नेपालबाट दुईतर्फी र कनेक्टिङ फ्लाइटबाट हुने उडानमा टिकट जारी नै नहुने बताए । उनले भने, ‘अब नेपालबाट अस्ट्रेलिया जान–आउन पर्‍यो भने किन यहीँबाट टिकट जारी हुन्छ र ? यहाँबाट दिल्लीसम्मको एकतर्फी टिकट जारी हुन्छ, त्यहाँबाट त्यहीँको ट्राभल्स एजेन्सीमार्फत् अस्ट्रेलियाको टिकट जारी हुन्छ । अनि फर्कँदा पनि अस्ट्रेलिया–दिल्ली–काठमाडौँको टिकट जारी हुन्छ । यस्तो हुँदा राज्यलाई आउने कर भनेको काठमाडौँ–दिल्लीको एकतर्फी हवाई भाडामा आउने करिब १ हजार रुपैयाँमात्रै हो ।’

उनले आफूलाई कसैले टिकट काटिदेऊ भन्यो भने बाध्य भएर दिल्ली, मलेसिया, सिंगापुर आदि स्थानको एकतर्फी टिकट काट्नुपर्ने बताए । ‘त्यसपछि अन्य गन्तव्यका लागि त्यहीँको ट्राभल्स एजेन्सीलाई टिकट काट्न भन्नुपर्छ र मैले नेपालबाट हुण्डीमार्फत् रकम पठाउनुपर्छ,’ उनले भने, ‘ग्राहकले सस्तोमा टिकट खोज्छन् र मैले महँगो लिँदा व्यापार गर्न नसकिने भएकाले पनि बाध्य भएरै त्यो बाटो अपनाउनु पर्छ । त्यसकारण यसले वित्तीय अराजकता, हुण्डी आदिको कारोबारलाई बढावा दिन्छ ।’

अहिले नेपाल सरकारले नेपालबाट अन्य देशमा जाने यात्रुहरूका लागि मात्रै हवाई उडानमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ । अन्य देशबाट नेपालमा आउने यात्रुका लागि त्यस्तो व्यवस्था नभएका कारण पनि अब नेपालबाट टिकट जारी हुँदा एकतर्फी मात्रै टिकट जारी हुन्छ ।

दुईतर्फी काट्दा नेपालमा आएको पनि भ्याट लाग्ने भएकाले यहाँबाट एकतर्फी नै टिकट काट्ने र अर्को देशको ट्राभल एजेन्सीबाट टिकट काटेर नेपाल फर्कने अवस्था रहन्छ । अन्य देशबाट टिकट काटेपछि नेपालमा लिइएको टिकटको पैसा हुण्डीमार्फत् नै सम्बन्धित देशमा पठाउनुपर्छ ।

Nilhari Bastolaपर्यटकको गन्तव्य बदलियो : टानका अध्यक्ष नीलहरि बास्तोला

ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोलाका अनुसार पर्यटकहरूले नेपालको आगमनलाई होल्ड गर्न थालेका छन् । रसिया र युक्रेन युद्धका कारण पहिलेदेखि नै हवाई भाडा महँगो रहेकामा अहिले थप भ्याट तिर्नुपर्ने भएपछि नेपाल आउन अति नै महँगो हुने कारण उनीहरूले गन्तव्य बदल्न थालेको उनले बताए ।

बुकिङ भएका ट्रेकिङ पनि क्यान्सिल हुन थालेको हो भन्ने रातोपाटीको प्रश्नमा अध्यक्ष बास्तोलाले अहिले नै त्यति धेरै रिपोर्टिङ नभए पनि यसले केही अन्तरालमा सोही अवस्था आउने बताए । उनले भने, ‘तत्कालै यसको असर नदेखिन पनि सक्छ । तर पछि पर्यटकहरूले नेपालको गन्तव्य बदल्न थाल्छन् र यस्तै देशहरुमा जान थाल्नेछन् । कम्बोडिया, भियतनाम लगायतका देशहरुमा उनीहरूको गन्तव्य मोडिन थाल्नेछ र समग्रमा होटल, रेष्टुरेण्ट, ट्रेकिङ, ट्राभल्स आदि सबैमा यसको असर देखिएर नेपालको पर्यटन नै कोल्याप्सको अवस्थामा पुग्न सक्नेछ ।’

सरकारले छलफल नै नगरी एकतर्फीरुपमा यस्तो व्यवस्था गर्दा यसले नेपालको पर्यटनलाई दूरगामी असर गर्ने बास्तोलाको भनाइ छ ।

हवाई भाडाको करभन्दा कम कर उठ्ने चिन्ता

टानका अध्यक्ष नीलहरि बास्तोला सरकारलाई जसरी पनि आम्दानी चाहिएको कारण हवाई टिकटमा कर लगाएको र यसले अन्य क्षेत्रबाट आम्दानी हुने राज्यलाई समेत असर गर्ने बताउँछन् । बास्तोलाका अनुसार नेपालमा पर्यटक नै कम आएपछि होटल, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ लगायतका सेवामा पनि असर गर्ने भएकाले पर्यटन क्षेत्रबाट उठ्ने करमा व्यापक कमी आउने छ । बास्तोला भन्छन्, ‘सरकारले हवाई टिकटबाट कर आएपछि अहिले आएको करमा थप हुन्छ भन्ने सोचेको होला, तर अवस्था त्यस्तो हुँदैन । अब होटलमा पर्यटक कम हुन्छन्, रेस्टुरेन्टमा कम हुन्छन्, सफारी र र्‍याफ्टिङमा कम हुन्छन्, हिमाल आरोहण, ट्रेकिङ आदिमा कम हुन्छन् । टिकट बिक्रीमा पनि कमी आउँछ र पर्यटन क्षेत्रबाट हुने आम्दानीमा आधाले कमी आउँछ ।’

त्यस्तो हुँदा हवाई टिकटबाट आम्दानी बढाउँछु भनेको सरकारले पर्यटन क्षेत्रबाट आधा राजस्व गुमाउने सम्भावना रहेको उनले बताए ।

Kumarmani Thapaliyaतेस्रो मुलुकबाट नेपाल आउनुभन्दा भारत आउनु आधा सस्तो

नाट्टाका महासचिव कुमार थपलियाका अनुसार यदि एक पर्यटकले नेपाल आउने कि भारत आउने भनेर योजना बनायो भने वा नेपालबाट दोहा हुँदै अमेरिका जानु र नेपालबाट भारत हुँदै दोहा र त्यहाँबाट अमेरिका जानुमा आधा सस्तो पर्ने हुन्छ । थपलियाका अनुसार अहिले नेपालबाट दोहा हुँदै अमेरिका गई नेपाल आउन जान ३ लाख ९० हजार जति पर्छ भने नेपालबाट भारत हुँदै अमेरिका गई नेपाल फर्कन करिब २ लाख रुपैयाँ भए पुग्छ ।

नेपाल आउनुभन्दा भारत आउनुमा आधा सस्तो हुने भएपछि विदेशीहरू भारततर्फ बढी आकर्षित हुने डर बढेको पर्यटन व्यवसायी थपलियाले बताए ।

आइकाओको नीति विपरीत हवाई टिकटमा भ्याट

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सदस्य राष्ट्र हो नेपाल । नेपालसमेत पक्ष राष्ट्र भई गरेको हस्ताक्षरमा अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा आइकाओको नीतिमा कर नलाग्ने भन्ने नै छ ।

आइकाओको नीति विपरीत नेपालले अन्तर्राष्ट्रिय उडानमा भ्याट लगाएसँगै सदस्य राष्ट्रहरुले आपत्ति जनाएका थिए । तर नेपाल सरकार आफ्नो नीतिबाट पछाडि नहटेपछि आइकाओले अहिले सिस्टममा ‘टी सिक्स’ भन्ने कोड थप गरेर नेपालबाट जारी हुने हवाई टिकटमा ट्याक्स लाग्ने गरी तयारी गरेको छ ।

यद्यपि यो नीतिका सम्बन्धमा आइकाओले सदस्य राष्ट्रसँग पनि छलफल गरिरहेको टानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप