बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंककाे सर्कुलर

के ‘मार्जिन लेण्डिङ’को सीमा पूर्णरुपमा खारेज भएको हो ?

‘अंक बढ्यो तर उत्साह बढेन’
शुक्रबार, १९ असोज २०८०, १४ : ५५
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । केन्द्रीय बैंकले मार्जिन प्रकृतिका सेयर धितो कर्जाको सीमा बढाएको छ । बुधबार साँझ केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै सेयर धितो कर्जाको सीमा २० करोडसम्म पुर्याइदिएको हो । दुई वर्षपछि बैंकले सेयर धितो कर्जाको सीमा ८ करोड रुपैयाँले बढाइदिएको छ ।

तीव्र आयात, घट्दो रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चितिमा चाप परेसँगै केन्द्रीय बैंकले गत आर्थिक वर्ष, २०७७/०७८ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिका सेयर धितो कर्जालाई नियन्त्रण गर्नेगरी ४/१२ को सीमा तोकिदिएको थियो । अर्थात् व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा पाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरिदिएको थियो ।

तर, सेयर बजारप्रति राष्ट्र बैंक अनुदार भएको, समग्र पुँजी बजार नै ध्वस्त बनाउन लागेको भन्दै लगानीकर्ताहरु गभर्नरको विरुद्धमा लागेपछि आर्थिक वर्ष, २०७८/०७९ को मौद्रिक नीतिमार्फत बैंकले ४/१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा १२ करोडमात्र कायम गरिदियो ।

यति बेला बजारको दबाब सहन नसकेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबिच एक खालको द्वन्द्वकै स्थिति बन्न पुगेको थियो । जनार्दन शर्मा, विष्णु प्रसाद पौडेल हुँदै यतिबेला अर्थमन्त्री डा.प्रकाशशरण महत छन् । तथापि, सेयर धितो कर्जाको १२ करोडको सीमा भने कायम राखिराखेको भन्दै लगानीकर्ताहरुले सरकारको निरन्तर विरोध गरे । ३२ सय अंकमाथि पुगिसकेको सेयर बजार सरकारकै गलत नीतिका कारण १८ सयमा झरेको आम लगानीकर्ताहरुको आरोप छ ।

दुई वर्ष यताका प्रायः सबैखाले आर्थिक मुद्दामा केन्द्रित फोरमहरुमा यही सेयरधितो कर्जाको विषयले स्थान पाइरह्यो । अन्ततः नेतृत्वको दबाब सहन नसकेर बाध्य भएर केन्द्रीय बैंकले बुधबार निर्देशिका संशोधनमार्फत सेयरधितो कर्जाको १२ करोडको अन्तिम सीमालाई वृद्धि गर्दै २० करोडसम्म पुर्याइदिएको छ ।

संशोधित निर्देशिकाको बुँदा नम्बर ४ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यवस्था गर्दै केन्द्रीय बैंकले कुनै एक वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम् एकल ग्राहक कर्जा सीमा कुल रु.१५ करोड र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु.२० करोड कायम गरिएको बताएको छ ।

के ८ करोडको सीमा वृद्धिले बजार फर्किएला ?

सेयर लगानीकर्ता तथा पुँजीबजार विज्ञ छोटेलाल रौनियार अहिलेको सेयर धितो कर्जाको सीमा वृद्धिले बजार नबढ्ने बताउँछन् ।

‘नहुने मामाभन्दा कुन्नि के मामा जाती’ भनेजस्तै केही नहुनुभन्दा केही भएको छ, यसमा खुसी मान्नुपर्छ । तर, पूर्ण रुपमा हामी लगानीकर्ताहरु खुसी हुनुपर्ने वातावरण अझै बनेको छैन । हाम्रो माग भनेको व्यक्तिगतमा कम्तीमा २० करोड र संस्थागतमा ५० करोडसम्म चाहिन्छ भन्ने हो,’ रौनियारले रातोपाटीसँग भने, ‘तर, राष्ट्र बैंकले मानेन ।’

यद्यपि, अहिलेको यो परिवर्तनले मार्केटको डाउन फल (गिरावट) रोक्न भूमिका खेल्ने रौनियार बताउँछन् । ‘मार्केट बढ्नेमा भने शंका छ । बजारले यो परिवर्तनलाई कसरी हेर्छ र बुझ्छ भन्नेमा भर पर्छ,’ उनले भने ।

सेयर धितोकर्जामा कुनै सीमा नै लगाउन नहुने तर्क गरिरहेका रौनियार बजारको श्रीवृद्धिका लागि सेयर धितोकर्जाको सीमासँगै जोखिम भार र ब्रोकर कमिसनसमेत घटाउनुपर्ने बताउँछन् ।

सेयर धितोकर्जाको जोखिम भार कम्तीमा १०० प्रतिशत र ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्नुपर्ने उनको माग छ । हाल मार्जिन प्रकृतिको कर्जाको जोखिमभार १५० प्रतिशत छ ।

यस्तै सेयर लगानीकर्ताहरुको संगठन नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले समेत केन्द्रीय बैंकको सीमा वृद्धिले पुँजी बजारमा खासै उत्साह नदिएको बताइन् ।

‘सेयर बजारलाई कुनै खालको क्याप लगाउन हुँदैन भन्ने हाम्रो धारणा हो । तर, केन्द्रीय बैंकले यसपटक पनि सोही सीमा निर्धारणको गतिविधिलाई निरन्तरता दियो । यसबाट बजारमा खासै फरक पार्ने र परिणाम ल्याउनेमा हामी विश्वस्त छैनौँ,’ अध्यक्ष पोखरेलले रातोपाटीसँग भनिन्, ‘अंक बढ्यो तर उत्साह बढेन ।’

झण्डै साढे २ वर्षदेखि पेनिक (दुःख) मा परेको लगानीकर्ताहरुलाई यो नीतिले केही हौसला बढाए पनि लगानीको वातावरण भने अझैँ नभएको उनको भनाइ छ । यसका लागि खुला भएर नीति बनाउन उनले केन्द्रीय बैंकलाई आग्रहसमेत गरिन् ।

यद्यपि, केन्द्रीय बैंकको संशोधित निर्देशनको सोही बुँदामा यस्तो (मार्जिन प्रकृतिको) कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा तोकिएको सीमा ननाघेको यकिन गरेरमात्र कर्जा प्रवाह÷नवीकरण गर्नुपर्नेछ । अन्यथा तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने बैंकको सर्त छ ।

यसको मतलब घुमाउरो पारामा केन्द्रीय बैंकले सेयर धितो कर्जालाई खुला गरिएको तर त्यसका लागि कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई कर्जा सुरक्षणमा विशेष ख्याल गर्न भनिएको बुझिन्छ । बैंकले आफ्नो निर्देशनमै तोकिएको भन्दा बढी कर्जा प्रवाह गर्ने हो भने सोही कर्जा बराबरको कर्जा नोक्सान व्यवस्थापन गर्न भनेको हो । यसो हो भने राष्ट्र बैंकले खुलस्त भन्नुपर्ने लगानीकर्ता रौनियारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप