आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

परमादेशबाट ‘कमब्याक’ गरेका कार्की फेरि सत्ताबाहिर

शनिबार, २० असोज २०८०, १६ : ०३
शनिबार, २० असोज २०८०

विराटनगर । सर्वोच्च अदालतको परमादेशबाट कमब्याक भएका कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः ३० दिनपछि सत्ताविहीन हुन पुगेका छन् । गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजको प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम थियो । तर विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका हुन् । 

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्यूत भएका थिए । गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए । 

भदौ २२ गते पुनः नियुक्ति भएका कार्कीले अघिल्लो कार्यकालमा सत्ताच्यूत हुँदा ल्याएको विश्वासको मत पनि अहिले नपाउने परिस्थिति बन्यो । राप्रपाले असहयोग गर्यो भने एमालेबाटै उपसभामुख रहेको कारण कार्कीको पक्षमा ३९ मत मात्रै हुने अवस्था थियो । प्रदेशसभा अहिलेसम्म सभामुख विहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् । 

एमालेको कोशी प्रदेशमा हालको गठबन्धन दल काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँग राम्रो सम्बन्ध छैन । यसअघि नै प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीले विश्वासको मत लिनका लागि अन्य दल मिलाउनै सकेनन् । जसका कारण दोस्रो पटक संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बन्ने अवसर पाए पनि उनले आफ्नो पद जोगाउन सकेनन् । कार्कीले राजीनामा दिएसँगै अब अर्को सरकार गठनको लागि संविधानको धारा १६८ को उपधारा (५) आकर्षित हुने भएको छ । जसको लागि दलहरूले तयारी सुरु गरिसकेका छन् । 

कोशी प्रदेशको दोस्रो कार्यकालमा अब बन्ने मुख्यमन्त्री पाँचौँ पटक हो । यसअघि कार्की १ पटक र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । पाँचौँ पटकमा बन्ने मुख्यमन्त्री को भन्ने विषय अहिले नै टुङ्गो लागिसकेको छैन । 

अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाएका थिए । 

अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । सोही अनुसार थापा पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भए । तर, उनले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए र सर्वोच्चले पुनः भदौ २१ गते उनलाई बर्खास्त गरेको थियो ।

कोशी प्रदेशको पहिलो प्रदेशसभाबाट तीन जना मुख्यमन्त्री बनेका थिए । पहिलो पटक एमालेका शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य र तेस्रो पटक नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । 

अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् । 

एमाले नेतृत्वमा बन्ने सरकारसँग भन्दा गठबन्धनसँग १ मत बढी छ । उपधारा (५) अनुसार सरकार गठन गर्ने अवस्थामा ४७ सांसदको हस्ताक्षर पुर्‍याउन गठबन्धनलाई सहज छ । तर, एमाले र राप्रपा लागि त्यो परिस्थितिमा मध्यावधिमा लाने कि सरकारलाई बहुमत सिद्ध गर्न दिने भन्ने अवस्था सिर्जना हुनसक्छ । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जान सक्ने धेरैले अनुमान गरिरहेका छन् । दलहरूले गठबन्धन फेरबदल नगरेसम्म वा नयाँ सहमति नगरेसम्म प्रदेशको परिस्थिति जटिल मोड तिर गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप