आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

शनिबार, २० असोज २०८०, १५ : २८
शनिबार, २० असोज २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । 

त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गरे ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । यद्यपि प्रदेशमा सरकार गठनका क्रममा संविधान मिचिँदा सर्वोच्च गएर व्याख्या गर्नुपरेको स्पष्ट पारे । आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताए । ‘एमाले संवैधानिक सर्वोच्चताको पक्षमा रहेको छ । म दुई पटक अदालत जानु पदका लागि होइन,’ उनले भने । 

आज कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै दलहरूले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उनले जोड दिए । दलहरूबिचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने बताउँदै उनले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने बताए । प्रदेश संरचना खारेजको माग भइरहेको विषयलाई मध्यनजर गर्दै आगामी कदम चाल्नुपर्ने उनको जोड थियो । मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहौल नभएको भन्दै उनले मध्यावधि रोक्न आफूहरू सहयोग गर्न तयार भएको बताए ।

उनले प्रदेशको अङ्कगणितलाई ख्याल नगर्ने हो भने मध्यावधिमा जाने देखिएको बताए । यद्यपि जनताको चाहना र मुलुकको अवस्थाले निर्वाचन गराउनु उपर्युक्त नभएको उनको भनाइ छ । एमालेऽ कांगेस, माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले आफू चार वर्ष प्रतिपक्षीमा बसेर काम गर्न तयार रहेको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप