सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : इजरायलमा फसेका नेपालीहरुको उद्धार गर्न सांसदहरुको माग

सोमबार, २२ असोज २०८०, १७ : ००
सोमबार, २२ असोज २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।  

सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् । उनीहरुले द्वन्द्वमा परी घाइते भएकाहरुको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् । 

प्रतिनिधिसभा सदस्यहरुले छिटोभन्दा छिटो कूटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरुको उद्धार गर्न सरकारको गम्भीर रुपले ध्यानाकर्षण गराएका छन् । 

बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरुको उपचार गर्न र नेपालीहरुलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रस्तुत गर्न पनि सरकारसँग माग गरे ।

प्रतिनिधिसभा सदस्य असिम साहले नेपालको सत्तामा रहेकाहरुलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरु इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताए । देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरु विदेशीनु परेको बताए । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरुको उद्धार गरी उनीहरुलाई आफ्नो देश र राज्य छ भन्ने अनुभूति गराउनुपर्ने बताए । उनले उनीहरुको प्राण बचाउन सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले सरकारको इजरायलसँगको कूटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रुपमा पोखिएको बताए । उनले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा तत्काल देश फर्काउन माग गरे ।

प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले कूटनीतिक पहल यथाशीघ्र गर्न सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भूमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप