आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

मङ्गलबार, २३ असोज २०८०, १४ : ५९
मङ्गलबार, २३ असोज २०८०

खोटाङ । जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे । 

उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए ।  गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा नगरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ । 

दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो ।

तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक  पनि दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेर स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिएको छ । 

यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एन्ड मन्सुना फार्मेसीले पनि अवैध रुपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । 

आसन्न चाडबाडलाई लक्ष्य गरेर जिल्ला प्रशासनले  आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरुमा कडाइका साथ अनुगमन सुरु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप