बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘रामायण’मा सनी देओललाई ‘हनुमान’ बनाउने चर्चा

बिहीबार, २५ असोज २०८०, १४ : ५६
बिहीबार, २५ असोज २०८०

मुम्बई । निर्देशक नितेश तिवारीको चलचित्र रामायणमा सनी देओल हनुमानको भूमिका देखिन सक्नेछन् । स्रोतका अनुसार सनीको लुक्सलाई ध्यानमा राख्दै निर्माताहरुले यस भूमिका लागि उनीसँग कुराकानी गरेका हुन् । यस विषयमा औपचारिक घोषणा भने गरिएको छैन ।

पिंकभिल्लाको रिपोर्टअनुसार नितेश तिवारी र उनको टीम रामायणमा हनुमानको भूमिकाका लागि सनीसँग कुराकानी गरिरहेका छन् । ‘भगवान् हनुमान शक्तिको प्रतीक हुन् । फिल्म इन्डस्ट्रीमा बजरङ्ग बलीको भूमिकालाई पर्दामा सनी देओलभन्दा अरू कसैले निभाउन सक्दैनन्,’ निर्माण टोलीका एक सदस्यले भनेका छन् । सनीले पनि यस भूमिका लागि इच्छा देखाएको रिपोर्टमा उल्लेख छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

स्रोतका अनुसार निर्देशक तिवारी र निर्माता अल्लू अरविन्द, मधु मंटेना र नमित मलहोत्रासँग मिलेर हनुमानमाथि आधारित भएर छुट्टै चलचित्र पनि निर्माण गर्ने पनि सोचिरहेका छन् । उनीहरू चाहन्छन्, यो चलचित्रमा पनि हनुमानको भूमिका सनीले नै गरुन् । रामायणमा हनुमानको जीवनको हिस्सालाई धेरै देखाइँदैन । त्यही पनि निर्देशक उनको जीवनमा आधारित छुट्टै चलचित्र बनाउन चाहन्छन् ।

यदि सनी र निर्माण पक्षबिच सहमति भयो भने रणवीर कपुर र सनीलाई पहिलोपटक एउटै चलचित्रमा हेर्न पाइनेछ । यस चलचित्रमा रामको भूमिकाका लागि रणवीरको नाम यसअघि नै तय भइसकेको छ । मिडिया रिपोर्टका अनुसार सीताको भूमिकाका लागि तमिल अभिनेत्री साई पल्लवीलाई कास्ट गर्ने निर्णय गरिएको छ । यस चलचित्रबाट उनले बलिउडमा डेब्यू गर्नेछिन् ।

यसअघि यो भूमिकाका लागि दीपिका पादुकोण वा आलिया भट्टलाई लिने बताइएको थियो । यता रावणको भूमिकामा केजीएफका अभिनेता यशलाई अनुबन्ध गर्ने तयारी गरिएको छ । यो चलचित्रको सुटिङ सन् २०२४ को फेब्रुअरीबाट सुरु गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप