आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
इजरायलबाट नेपालीको उद्धार

‘हामी इजरायलबाट बाँचेर फर्कियौँ, तर साथीहरू गुमाउँदा पीडामा छौँ’

शुक्रबार, २६ असोज २०८०, ०३ : ५९
शुक्रबार, २६ असोज २०८०

इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, इन्टर्नमेट  साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको  उनले बताइन् । 

नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौँमा आइपुगेपछि विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उद्धार गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् ।  ‘इन्टर्नमेटहरु गुमाउँदा निकै पीडा भएको छ’, उनले भनिन्, ‘हामी बाँच्यौँ त्यो एक ठाउँमा छ, त्यसमा खुसी छौँ । तर, सँगसँगै पीडा पनि रहिस्यो ।सरकारले उद्धार गरेकोमा धन्यवाद ।’

उनका अनुसार घटनापछि तीन दिनसम्म १८ जना विद्यार्थी कष्टपूर्ण रूपमा बंकरमा बसेपछि त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । स्थानीयहरूले समेत यस्तो खालको घटना कहिल्यै नभोगेको बताएको भन्दै उनले यसबीचमा निकै त्रास भोगेको बताइन् । 

‘डरमर्दो अवस्थामा हामी तीन दिन बंकरमा बस्यौँ’, उनले भनिन्, ‘खाना २४ घण्टामा एक पटक पाएका थियौँ । अहिले उद्धारपछि सकुशल नेपाल टेक्न पाउँदा निकै खुसी लाग्यो ।’ बंकरमा बस्दा रकेट प्रहारदेखि फाइरिङसम्मको आवाज निरन्तर सुन्दा अहिले पनि अत्यास लागिरहेको उनको भनाइ थियो । 

आफू कार्यरत स्थानबाट १० नेपालीले ज्यान गुमाएको स्थान २७ मिनेटको दूरीमा भएको उनको भनाइ छ ।  अन्य नेपालीहरुले पनि ज्यान जोगाएर फर्किन पाउँँदा खुसी लागेको प्रतिक्रिया दिए । उद्धार गरिएका नेपालीलाई गन्तव्यमा लैजान नेपाल प्रहरीले बसको व्यवस्था गरेको छ । 

यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताए । अन्य नेपालीहरूलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए । 

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरूलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप