शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बागमतीको सौन्दर्यीकरणमा सफलता (सम्पदा फिचर)

बागमतीको सौन्दर्यीकरणमा सफलता (सम्पदा फिचर)

शनिबार, २७ असोज २०८०

काठमाडौँ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । नदीलाई सफा बनाउन निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । नदी पूर्ण रूपमा सफा हुन नसके पनि सौन्दर्यीकरण अन्तर्गत बागमती नदीको दायाँबायाँ कोरिडोरले बागमतीलाई सुन्दर र मनमोहक सौन्दर्य थपेको छ ।

उपत्यकाको वातावरण स्वच्छ र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान गर्ने उद्देश्य बोकेको अधिकार सम्पन्न एकीकृत विकास समितिले वाग्मती कोरिडोरमा पार्क निर्माणलाई जोड दिँदै आएको छ ।

गोकर्णेश्वर नगरपालिका क्षेत्र हुँदै बग्ने बागमती नदी कोरिडोर सफा र हराभरा भएसँगै बिहान र साँझको समयमा शारीरिक व्यायाम गर्नेहरूको बाक्लो उपस्थिति हुन थालेको छ । त्यसै गरी अत्तर खेल र माकलबारी तिर बाग्मती नदीको किनारमा हरेक साँझ सानोतिनो मेला नै लाग्छ । 

सिनामंगलदेखि उत्तर गोकर्णसम्मको कोरिडोर स्वच्छ र सफा भएका कारण आज भोलि साँझतिर मेला नै लाग्ने गर्दछ । यो ठाउँमा नदी किनार सुन्दर छ र फोहर र दुगन्र्धबाट मुक्त भएर बागमती बग्ने गरेको छ । बढ्दो गर्मी र दिनभरको घर, कार्यालयको व्यस्ततामा टहल्ने ठाउँको रूपमा नदी किनार परिणत भएको छ । गोकर्ण क्षेत्रमा नदी किनारमा विश्राम स्थल, क्रियापुत्री घर समेत बनेको छ । 

नेपाल सरकार सहरी विकास मन्त्रालय अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको कामले सो क्षेत्रमा बागमती निकै सफा बग्न पाएको छ । समितिले निजी क्षेत्रसहितको सहभागितामा नदी किनारामा ३१ वटा हरियाली प्रवर्द्धन तथा उद्यानहरू निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैङ्कको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यीकरणको काम भइरहेको छ । 

नदी वरपर फुटपाथ, साइकल लेन, शौचालय, विश्राम स्थल आदि बनेका छन् । यस उदाहरणीय कामले सहरको स्वरूप बदलिएको छ । आयोजनाले सिनामंगल उत्तर गोकर्णसम्मको ७.५ किमी नदीको दुवै किनारा सिँगारेको छ । थापाथली पुलदेखि बल्खुसम्मको क्षेत्रमा पनि यस्तै सिँगार पटार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया