बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री

बिहीबार, ०७ साउन २०८३, १३ : ४०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • शिक्षा मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल गरेको बताएका छन् ।
  • मन्त्री पोखरेलले विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप र भागबन्डाको अन्त्य गरी योग्यता प्रणालीका आधारमा उच्च शिक्षा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले विदेशी विश्वविद्यालयहरूसँग प्रोफेसर एक्सचेन्ज प्रोग्राम सञ्चालन गरी त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको एक्सिलेन्स सेन्टर बनाउने तथा सुशासन कायम गरी उच्च शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन आफूले पहल गरेको बताएका छन् । त्रिविको ६७औँ स्थापना दिवसको अवसरमा त्रिविमा भएको कार्यक्रममा सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले यस विषयमा राजदूतहरूसँग कुरा राखेको बताएका हुन् ।

मन्त्री पोखरेलले भने– ‘विश्वविद्यालयलाई नयाँ एक्सेलेन्स सेन्टरका रूपमा इन्टरनेश्नल स्ट्याण्डर्ड युनिभर्सिटी बनाउने र विदेशी प्रोफेसर नेपाल आउने र त्रिविका प्रोफेसरलाई पनि विदेशी युनिभर्सिटीमा एक्सचेन्ज गर्ने प्रोग्राम ल्याउनेसम्म पुरानो पहिचानलाई कायम राख्दै नयाँ अध्यायबाट अगाडी बढ्न जरुरी छ । हरेक राजदूतसँग छलफल गर्दा त्रिविसहित अन्य विश्वविद्यालयहरूमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम गर्न आग्रह गर्छु । हामीले उच्च शिक्षालाई नयाँ तरिकाबाट अघि बढाउने भनेका छौँ ।’

मन्त्री पोखरेलले विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप र भागबन्डाको पूर्ण अन्त्य गर्दै उच्च शिक्षालाई मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति चयन भएसँगै समग्र उच्च शिक्षा क्षेत्रमा नयाँ ऊर्जा र प्रतिबद्धता थपिएको बताए ।

अबका चार वर्षभित्र विश्वविद्यालयहरूमा सरुवा, बढुवा र नियुक्तिमा हुने सबै प्रकारका राजनीतिक दबाब अन्त्य गरी स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता (एकेडेमिक फ्रिडम) कायम गरिने उनको भनाइ छ । यसका साथै, विदेशी विश्वविद्यालयहरूसँग’ प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गरी त्रिविलाई अन्तर्राष्ट्रिय स्तरको ‘एक्सिलेन्स सेन्टर’ बनाउने, त्रिविको अतिक्रमण गरिएको सम्पत्ति फिर्ता ल्याउने तथा सुशासन कायम गर्दै आगामी पाँच वर्षभित्र उच्च शिक्षामा व्यापक सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । 

यस्तो छ शिक्षामन्त्रीको मन्तव्य 

विश्वविद्यालयलाई रिफर्म गर्ने टिम बनेको छ । टिमको नेतृत्व गर्न पाउँदा गर्वको महसुस भएको छ । उच्च शिक्षामा सरकारले अबको पाँच वर्षमा लिइने नीतिहरुबारे छलफल गरिसकेका छौँ । नेपालको इतिहासमा पहिलो पटक एकैचोट खुला प्रतिस्पर्धाबाट उपकुलपति चयन भएर आउनुभएको छ । त्यसले गर्दाखेरि समग्र ऊर्जा थपिदिएको छ । र, नयाँ एउटा डेडिकेसन र मिसनका साथ सबै विश्वविद्यालयहरू एकैपटक अगाडी बढिसक्नुभएको छ । त्यसले गर्दा नेपालको उच्च शिक्षामा नयाँ ऊर्जा थपेको महसुस भएको छ ।

हामीले पटक पटक उपकुलतिज्यूहरुसँग केही कुराहरू गरेका छौँ । यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा अबको चार वर्षमा अन्त्य गर्नेछौँ । भागबन्डाको राजनीति होइन मेरटोक्रेसिका आधारमा विश्वविद्यालयको टिम निर्माण गर्ने भनेका छौँ ।

अब राजनीतिक हस्तक्षेप कहिल्यै पनि हुँदैन । राजनीतिक रूपमा कसैलाई कहाँ राख्नुपर्ने, कसैलाई सरुवा गर्नुपर्ने, बढुवा गर्नुपर्ने, नियुक्ति गर्नुपर्ने त्यो कहिलै पनि दबाब आउँदैन । यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोला । मेरिटोक्रेसका आधारमा विश्वविद्यालयलाई अघि बढाउन काम गछौँँ । हाम्रो पार्टीबाट वा अन्य कुनै पाटीबाट कुनै दबाब आयो भने फेस गर्न तयार छौँ । अब विश्वविद्यालयमा राजनीतिक रूपमा केही हुँदैन । विश्वविद्यालय स्थापना गर्दा खेरी जे सपना देखेका छौँ त्यो सम्झिन जरुरी छ । जुन पदमा छौँ पदको गरिमा कायम गरीदिनुहुन सबैमा अनुरोध गर्छु । 

विश्वविद्यालयलाई नयाँ एक्सेलेन्स सेन्टरका रूपमा इन्टरनेश्नल स्ट्याण्डर्ड युनिभर्सिटी बनाउने र विदेशी प्रोफेसर नेपाल आउने र त्रिविका प्रोफेसरलाई पनि विदेशी युनिभर्सिटीमा एक्सचेन्ज गर्ने प्रोग्राम ल्याउनेसम्म पुरानो पहिचानलाई कायम राख्दै नयाँ अध्यायबाट अगाडी बढ्न जरुरी छ । हरेक राजदूतसँग छलफल गर्दा त्रिविसहित अन्य विश्वविद्यालयहरूमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम गर्न आग्रह गर्छु । हामीले उच्च शिक्षालाई नयाँ तरिकाबाट अघि बढाउने भनेका छौँ । विश्वविद्यालयलाई अलि बढी स्वतन्त्रता दिने, स्वायत्तता दिने सोच छ । 

विश्वभरि हेर्दा प्रोफेसरहरूले एकेडेमिक फ्रिडम प्रयाक्टिस गर्नुहुन्छ । तर, नेपालमा धेरै नै कम पाउँछौँ । त्रिविको सम्पत्ति फिर्ता ल्याउने विषयमा सरकार प्रतिबद्ध छ । अन्य सुशासन कायम गर्ने मुद्दामा सबै टिम भएर अघि बढ्न जरुरी छ ।

प्राध्यापकहरूसँग विश्वविद्यालयसँग सम्बन्धित सुझावहरू छ भने उपकुलपतिको जहिले पनि ढोका खुला हुन्छ । मन्त्रालयमा विशेष पहल गर्नुपर्नेछ भने आउन सक्नुहुन्छ । प्राज्ञिक क्षेत्रलाई व्यावसायिक बनाउन छलफल गर्न प्रतिबद्ध छौँ । त्रिवि अझ बढी जिम्मेवार हुन जरुरी छ । टिम भएर सँगै मिलेर अगाडी बढौँ । फेरि एक पटक त्रिविको ६७ औँ स्थापना दिवसको शुभकामना दिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप