डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
सारांश
- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले धनगढीमा २४औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेपछि सुदूरपश्चिममा उनलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढेको छ।
- गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्दै राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा र स्थानीयले आन्दोलन रोक्न आग्रह गरेका हुन्।
- डा. केसीले सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेसँगै सुदूरपश्चिममा उनलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढेको छ।
गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्दै राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा र स्थानीयले आन्दोलन रोक्न आग्रह गरेका हुन्।
डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्। सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुनविपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै उनी पुनः सत्याग्रहमा बस्न लागेका हुन्।
यता सुदूरपश्चिममा भने लामो समयदेखि प्रतीक्षामा रहेको गेटा विश्वविद्यालय सञ्चालनको चरणमा पुगेका बेला आन्दोलन उचित नहुने धारणा सार्वजनिक हुन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका सदस्य नितिश जोशीले बुधबार कृष्ण मन्दिर धर्मशालामा पुगेर डा. केसीसँग भेट गरी सत्याग्रह नगर्न आग्रह गरेका छन्। उनले विश्वविद्यालय सञ्चालन प्रक्रिया अहिले निर्णायक चरणमा पुगेको उल्लेख गर्दै आन्दोलनका कारण प्रक्रिया प्रभावित हुन सक्ने बताएका थिए।
जोशीका अनुसार गेटा विश्वविद्यालय प्रदेशवासीको दशकौँदेखिको सपना भएकाले अहिलेको अवस्थामा आन्दोलनभन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा उनले डा. केसीसमक्ष राखेका थिए। तर, डा. केसीले आफू सत्याग्रहबाट पछि नहट्ने र कसैले अवरोध नगर्न आग्रह गरेको जोशीले बताए।
यस्तै, अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले कृष्ण मन्दिर धर्मशालाका सञ्चालक मुक्तिनाथ पन्तलाई फोन गरी डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गरेका छन्। विश्वविद्यालय सञ्चालनमा असर पर्ने अवस्था आउन नदिन आवश्यक पहल गर्न उनले अनुरोध गरेको जनाइएको छ।
सामाजिक सञ्जालमा पनि गेटा विश्वविद्यालय सञ्चालनको पक्षमा आवाज उठ्ने क्रम बढेको छ।
विद्यार्थी नेता यमराज जोशीले एक दशकभन्दा बढी समयदेखि गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रतीक्षामा रहेका सुदूरपश्चिमेलीका लागि अहिलेको आवश्यकता आन्दोलन नभई विश्वविद्यालय सञ्चालन भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भवनहरू तयार छन्, मेडिकल उपकरण आउने क्रम जारी छ, कुलपति, उपकुलपति र रजिस्ट्रार नियुक्त भइसकेका छन्, विश्वविद्यालय ऐन पनि बनिसकेको छ। विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्दै जनचेतना फैलाइरहेका छन्। यस्तो अवस्थामा विश्वविद्यालय सञ्चालनमा भाँजो हाल्ने गतिविधि उचित होइन।’
नागरिक अगुवा तीर्थराज पन्तले पनि अहिले विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार गेटा विश्वविद्यालय सञ्चालनमा आए सुदूरपश्चिमका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
यद्यपि डा. केसी पक्षले भने आफ्नो आन्दोलन विश्वविद्यालय सञ्चालन रोक्ने उद्देश्यले नभई विश्वविद्यालयलाई कानुनसम्मत, पारदर्शी र गुणस्तरीय ढंगले सञ्चालन गराउनका लागि भएको दाबी गर्दै आएको छ।
डा. केसीले यसपटक शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा कानुन तथा मापदण्डविपरीत गरिएको भनिएका नियुक्ति खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने तथा नियुक्तिमा राजनीतिक प्रभाव अन्त्य गर्नुपर्ने माग अघि सारेका छन्।
बुधबार सार्वजनिक विज्ञप्तिमा उनले सरकारले विगतका सहमति कार्यान्वयन नगरेको र आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनका पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले आन्दोलनको विकल्प नरहेको बताएका छन्।
उता विश्वविद्यालयका पदाधिकारीले भने सञ्चालनका लागि आवश्यक अधिकांश प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनीहरूका अनुसार कर्मचारी नियुक्तिको प्रक्रिया लगभग पूरा भइसकेको छ भने शिक्षण अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण