आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भगौडा पुँजीपति वर्ग नेपालको प्रधान शत्रु

सोमबार, २९ असोज २०८०, ०९ : ०१
सोमबार, २९ असोज २०८०

देशको वर्तमान राजनीतिमा अहिले तीन धार सक्रिय देखिन्छन् । एउटा, राजतन्त्र चाहने प्रतिगामी धार, अर्को यथास्थिति धार छ; जसले दलतन्त्र चाहन्छ । अहिलेको व्यवस्था भनेको दलतन्त्र हो । दलतन्त्रमा त्यही दल र त्यसका आसेपासेहरूको राज छ । 

अहिले जनता शासितको अवस्थामा छन् त्यसलाई बदलेर जनतालाई शासक बनाउने र अग्रगामी बाटो समात्ने अहिलेको प्रमुख आवश्यकता हो । अहिले भन्नलाई लोकतन्त्र भनिएपनि वास्तविकता परिस्थिति त्यस्तो होइन । दलका नेता र त्यसका आसेपासेहरू शासक हुने र त्यसै दलका फरक विचार राख्नेहरू शासित हुन् । आम जनताले अझै पनि शासकको अनुभूति गर्न सकेका छैनन् । जबकि लोकतन्त्रमा शासक र शासितको दूरी मेटिनुपर्थ्यो । तर, दूरी थप बढेको देखिन्छ । त्यसलाई हटाउँदै अघि बढ्नु आजको प्रमुख कार्यभार हो । 

देशमा सङ्कट देखिन्छ भने यसको मुख्य कारण के हो त ? पञ्चायतकालमा जमिनदार र सामन्तलाई प्रमुख शक्ति भनियो र सामन्तका कारण नै देश विकास हुन सकेन पनि भनियो । त्यसपछि दलाल नोकरणशाहीको कारण देशको विकास हुन सकेन भनेर भनियो । तर, अहिलेको व्यवस्थामा कसको कारण देश विकास भएन त ? को हो प्रमुख शत्रु ? वास्तवमा देश बन्न नसक्नुमा अहिले भगौडा पुँजीपति वर्ग प्रधान शत्रु हुन् । नेपाललाई सोहोरेर, लुटेर विदेश लैजाने अर्थात् विदेशमा मोज गर्ने र नेपाललाई दोहन गर्ने एउटा ठुलो कित्ता नेपालमा हाबी छ । ती व्यक्तिहरूले नेपाललाई खोक्रो बनाउने काम गरिरहेका छन् । जसरी तत्कालीन अवस्थामा अङ्ग्रेजहरूले भारतलाई लुटेर बेलायत सजाए, त्यसैगरी नेपालको एउटा ठुलो सम्भ्रान्त वर्ग हाबी छ, जो यस्तै कार्यमा सक्रिय छ । उसो त अहिलेको सत्ताको चरित्र पनि त्यही भगौडा वर्गको पक्षपोषण गर्ने खालको छ । यस्तो वर्ग जबसम्म नेपालमा हाबी रहन्छ, तबसम्म नेपालको उन्नति प्रगति सम्भव छैन । त्यो वर्गलाई हामीले नियन्त्रण गर्न सक्नुपर्छ, त्यसपछिमात्रै नेपाललाई विकास गर्न सक्छौँ । 

हिजो राजतन्त्रमा राज्यको चरित्र दमनकारी थियो भने आज लुटकारी छ । त्यसकारण रोगको समयमै सही पहिचान हुन सकेन भने निदान पनि सम्भव छैन ।

अहिले नेपालबाट दुई किसिमको मान्छे विदेशिइरहेका छन् । एउटा नेपालबाट सोहोरेर विदेश लैजानेहरु छन्, अर्को विदेशमा रगत पसिना बेचेर नेपाल ल्याउनेहरू छन् । तर, नेपालमा कसको हालिमुलाही छ त ? उदाहरणको लागि मलेसियाबाट श्रम गरेर आउनेको सम्मान छैन । तर, देशलाई सोहोरेर विदेश पुँजी पलायन गराउनेहरू नेपाल आउँदा उसको सम्मान अर्कै छ । 

हिजो राजतन्त्रमा राज्यको चरित्र दमनकारी थियो भने आज लुटकारी छ । त्यसकारण रोगको समयमै सही पहिचान हुन सकेन भने निदान पनि सम्भव छैन । सही बाटो नपहिल्याउँदासम्म गन्तव्यमा पुग्न सकिँदैन । हामीले अहिलेको समस्यालाई सही ढंगले ठम्याउनै सकेका छैनौँ । निर्यात बढेन, आयातको सन्तुलन भएन, भ्रष्टाचार बढ्यो भन्ने जस्ता कारणले देशको अर्थतन्त्रमा समस्या रहेको भन्ने गरिन्छ । तर मेरो बुझाइमा नेपालको ठुलो पुँजी बाहिर गएर नै अहिलेको समस्या निम्तिएको हो । नेपालको ठुलो पुँजी नै बाहिर गइदिएपछि स्वतः नेपाल खोक्रो हुने भइहाल्यो । आउने २५ खर्ब र जाने ५० खर्ब भयो भने कसरी देशको उन्नति गर्न सकिन्छ भन्ने मेरो प्रश्न हो । देशमा पैसाको अभाव छ, त्यसको एक मात्रै उदाहरणको रूपमा नेपालबाट ५० लाख भन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेशमा काम गर्छन् । उनका श्रम मूल्य हेर्ने हो एउटा मान्छेले सरदर वार्षिक ६ लाख कमाउला । ५० लाख मान्छे मात्रै मान्दा पनि झन्डै ३० खर्ब रुपैयाँ देशमा आउनु पर्ने हो । तर, नेपाल सरकारले २० खर्ब मात्रै देखाइरहेको छ । किन यस्तो भयो भनेर सरकारले खोज्नुपर्ने होइन र ? यसले नै सरकारले भगौडा वर्गको पक्षपोषण गर्न भन्ने दृष्टान्त हो । हरेक फ्याक्ट्री र व्यक्तिसम्म हुण्डी कारोबारी पुगेर अवैध कारोबार भइरहेको छ । सरकारकै कमजोरीले विदेशमै पैसा रोकिएको भने नेपालमा त भगौडा वर्गको कालोधनको मिलान हुन पुगेको छ । यो त मजदुरको मात्रै कुरा भयो अरू क्षेत्रमा पनि त्यस्तै छ । समग्रमा भन्नुपर्दा अवैध ढंगले ठुलो पुँजी पलायन भइरहेको छ । 

वास्तवमा अहिले जनताले धोखा खाएको जस्तो अनुभूति गरिरहेका छन् । हाम्रो पार्टीले विचलित अवस्थामा रहेकाका नागरिकलाई आशावादी बनाउनेतर्फ ध्यान दिइरहेको छ।  नेपाल बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । विभिन्न आन्दोलनमा जनता लागे पनि सबै ठाउँमा धोखा भएपछि अविश्वास र निराशा बढ्नु स्वाभाविकै पनि हो । तर, यस्तो पृष्ठभूमिमा सबैलाई आशा र सम्भावना देखाउनु आम जनता पार्टीको पहिलो दायित्व हो । नेपाल बनाउने एउटा मुट्ठीभरको मान्छेले होइन हाम जनताले हो । जनता उत्साहित भएको खण्डमा जस्तोसुकै चट्टानसँग पनि लड्न सकिन्छ ।

 हामीले सही बाटोमा देशलाई गाइड गर्नुपर्छ गर्ने सही बाटो अँगाल्दा नै देशलाई सही दिशामा लैजान सकिने निश्चित छ । त्यसका लागि इच्छाशक्ति, भिजन र इमानदारिता पनि हुनुपर्छ । 

रौतहटको बकैया खोलाको किनारमा मेरो गाउँ छ, त्यहाँका धेरै मान्छे सहरतिर भागिरहेका थिए । विगतमा मैले यहाँबाट भाग्ने होइन यसैलाई सहर बनाउँछु भनेर चुनाव जितेपछि जनतामा आशा जगाउने काम गरेको थिएँ । सहर सम्भव छ भन्ने नारा दिएर मैले योजना बनाए । मैले त्यहाँ सहर सम्भव छ, भन्दा त्यतिबेला धेरैले पत्याएका पनि थिएनन् । तर, निरन्तर त्यसमा लागिपर्दा अहिले सहरको पूर्वाधार खडा हुन सफल भएको छ । जसले जनतालाई आशावादी बनाउन सहयोगी भूमिका खेल्यो ।

कुनै पनि योजना बनाउँदा सबैभन्दा पहिला आफू सही हुनुपर्छ । दोस्रो भनेको हामी जनताको पक्षधर छ कि छैनौँ ? यदि जनताको पक्षधर छौँ भने हामी जित्छौँ ।

अहिले देशमा नेपाल बनाउनै सम्भव छैन यी नेताले केही गर्दैनन् भन्ने मनोविज्ञान हाबी छ । तर, हामी सक्छौँ भनेर एउटा रोशनी छर्न जरुरी छ । मुखले होइन, परिणामले नै हामी सक्छौँ भनेर आशा जगाउन सकिएको खण्डमा देश विकास पनि सम्भव छ । 

जसका लागि सबैभन्दा पहिलो भगौडा वर्ग जो देशमा हाबी छन्, त्यसविरुद्ध मुभमेन्टलाई केन्द्रित गर्न जरुरी छ । देश बनाउने या बनाउन चाहनेहरू निराश हुने र लुट्नेहरू शक्तिहरू हाबी भइरहने जुन स्थिति छ, त्यसको निरुत्साहन जरुरी छ । त्यसका लागि आम जनतालाई निराशा होइन उत्साह गर्ने, सम्भावना देखाउने र आम जनताको एउटा शक्तिका साथ अगाडि बढ्ने हाम्रो टार्गेट छ । 

कुनै पनि योजना बनाउँदा सबैभन्दा पहिला आफू सही हुनुपर्छ । दोस्रो भनेको हामी जनताको पक्षधर छ कि छैनौँ ? यदि जनताको पक्षधर छौँ भने हामी जित्छौँ । शासक वर्गको पक्षधर छौँ भने हामी जित्दैनौँ । तेस्रो कुरा हामी निःस्वार्थी र त्यागी छौँ कि छैनौँ ? स्वार्थी र त्यागीको बिचमा जहिले पनि झगडा हुँदा त्यागीले जित्छ । म त्यागी छु, जनपक्षीय छु, सत्यको बाटोमा हिँड्छु भने मेरो जीत कसैले रोक्न सक्दैन । सधैँ सङ्ख्याले मात्रै जित हारको मापन गर्न पनि सक्दैन । कतिपयले संसद् र संगठनमा तपाईँको उपस्थिति सानो छ भनेको पनि सुनिन्छ । तर, सानोको नै त भविष्य हुन्छ । हामी एउटा गतिशील शक्ति हौँ जसले देशलाई केही दिन चाहन्छ । मैले पार्टी बनाएर ७÷८ महिनामात्रै भएको छ, यो बिचमा हामीले धेरै गरेका छौँ ।

पछिल्लो समय हामीले भन्सार नियमावली संशोधन गर्न माग गरेका छौँ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था बदलिनुपर्छ । यसमा कानुन बनाएरै लुट्ने काम भएको छ । भन्सार नियमावली परिवर्तन भएको खण्डमा देशको अर्बौँ रुपैयाँ बचाउन सकिन्छ । वैदेशिक रोजगारमा युवाहरू दिनदहाडै लुटिइरहेका छन् । फी भिसा फ्री टिकट भनिएपनि लाखौँ रुपैयाँ तिरेर युवाहरू विदेशिन बाध्य छन् । पीडितको पक्षमा बोलिदिने कोही छैन । सरकारले गलत गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन पर्ने भए पनि त्यसो हुन नसकेपछि पीडितको पक्षमा हामी बोल्छौँ भनेर भनेका छौँ । जनताको सरोकारको मुद्दा हामी उठाउँछौँ । उनीहरूको साथमा हामी हुन्छौँ । यही व्यवस्थालाई सुधार गरेर बेथितिहरूलाई हटाउँदै जनता शासक बन्ने माहौल सिर्जना गर्न पार्टी निरन्तर लागिरहन्छ । 

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रभु साह
प्रभु साह
लेखकबाट थप