बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँलाई डिजिटल प्लेटफार्ममा दर्जनौँ फिल्म : हिटदेखि फ्लपसम्मका ताँती

आइतबार, ०५ कात्तिक २०८०, ११ : ०२
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । विश्व डिजिटल युगमा प्रवेश गरेसँगै अनेक डिजिटल प्लेटर्फमका विकाससमेत भएको छ । फिल्म हेर्नका लागि अचेल मानिसलाई हलमै जानु पर्छ भन्ने छैन । नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ, युट्युबलगायतका थुप्रै ओटीटी प्लेटफर्मको विकास भएको छ । जसबाट घरमै बसेर विश्वका फिल्म हेर्न सकिन्छ ।

विश्वका फिल्म मात्र होइन नेपाली फिल्म हेर्नसमेत अचेल हलमै जानु पर्छ भन्ने छैन । त्यसका लागि नेपालमा पनि युट्युब, डिसहोम, सिनेमा घर एप लगायतका धेरै डिजिटल प्लेटफर्म खुलेका छन् ।

विगत झैँ यो वर्ष पनि दसैँमा डिजिटल प्लेट फर्ममार्फत दर्जनभन्दा बढी फिल्म हेर्न पाइने भएको छ । बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल, डिस होम, सिनेमा घर एप, केन्द्र मोसन पिक्चर्सलगायतले यस्ता नयाँ प्लेटफर्ममा फिल्म ल्याउँदै छन् ।

गत वर्ष ‘ए मेरो हजुर २’ ल्याएको बुढासुब्बा डिजिटलले यो वर्ष फिल्म ‘छड्के २’ ल्याउँदै छ । बुढासुब्बा झैँ हाइलाइट नेपालले पनि फिल्म ‘रोमियो एन्ड मुना’ ल्याउने तयारीमा छ । 

त्यस्तै सिनेमा घर एपले पनि यो वर्ष एक मात्र फिल्म ‘जारी’ ल्याएको छ । केन्द्र मोसनले भने दसैँका लागि भनेर फिल्म ‘बाबरी’ ल्याएको हो ।

डिस होमले भने दसैँका लागि भनेर यी नौ फिल्म ल्याउने तयारी गरेको छ । डिस होमले ल्याउन लागेका नौ फिल्ममा केही हिट र केही फ्लप छन् । डिस होमले ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘प्रकाश’, ‘चिसो मान्छे’ र ‘झिँगे दाउ’ छन् । 

यो वर्ष सबैभन्दा धेरै फिल्म डिस होमले ल्याउने भएको हो । सधैँ केही न केही फिल्म ल्याउने ओएसआर डिजिटलले भने यो वर्ष फिल्म नल्याउने भएको छ । विभिन्न कारणले गर्दा दसैँका फिल्म ल्याउन नसकिएको ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओम प्रकाश अग्रवालले बताए ।

कस्ता छन् फिल्म ?

दसैँका लागि दर्जनभन्दा बढी फिल्म डिजिटल प्लेटफर्ममा आउने देखिएको छ । ती फिल्म हुन्– ‘छड्के २’, ‘रोमियो एन्ड मुना’, ‘जारी’, ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लीला’, ‘प्रेम गीत ३’, ‘प्रकाश’, ‘चिसो मान्छे’ र ‘झिँगे दाउ’ । त्यसरी आउन लागेको फिल्ममा स्टार कलाकार अनमोल केसी, प्रदीप खड्कादेखि नयाँ कलाकारसम्म र हिटदेखि फ्लपसम्म छन् ।

बुढासुब्बा डिजिटलले ल्याउन लागेको ‘छड्के २’ युवा स्टार अनमोल केसी अभिनीत फिल्म हो । ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशक गरेका हुन् । फिल्ममा अनमोलको अलावा स्वर्गीय रोबिन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बालगायतको अभिनय छ । बक्स अफिसमा यो फ्लप साबित भएको थियो ।

त्यस्तै सिनेमा घर एपले पनि दसैँका लागि भनेर ‘जारी’ फिल्म ल्याएको छ । हालै ल्याएको फिल्म ‘जारी’ यो वर्षको हिट फिल्म हो । उपेन्द्र सुब्बा निर्देशित जारीमा दयाहाङ राई, मिरुना मगरलगायतको अभिनय छ ।

केन्द्र मोसन फिक्चर्सले पनि आफ्नो युट्युबबाट दसैँैका लागि भनेर ‘बाबरी’ फिल्म ल्याएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायतको अभिनय छ ।

डिस होमले ल्याउन लागेको ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘प्रेम गीत ३’ र ‘झिँगे दाउ’ हिट फिल्म हुन् । ‘प्रकाश’, ‘चिसो मान्छे’ मेकिङको हिसबले चर्चा पाएको फिल्म हो भने ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लीला’ व्यावसायिक फ्लप मानिन्छ ।

‘शत्रु गते’ मह सञ्चारले निर्माण गरेको हिट फिल्म हो । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, दीपकराज गिरी, किरण केसी, पल शाह, आँचल शर्मालगायतको अभिनय छ ।

‘छक्का पञ्जा ४’ दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको हो । हेमराज बीसी निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय छ ।

‘प्रेम गीत ३’ सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्म हो । सार्वजनिक प्रदर्शनमा हिट मानिएको फिल्म प्रदीप खड्का, क्रिस्टिना, शिव श्रेष्ठ, मनीष राउतलगायतको अभिनय छ ।

‘झिँगे दाउ’ गत वर्षको हिट फिल्म हो । आमा र सन्तानबिचको भावनात्मक कथामा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाललगायतको अभिनय छ । फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । 

दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ गत वर्ष राम्रो चर्चा पाएको र समीक्षकले रुचाएको फिल्म हो । फिल्ममा प्रदीप खड्का र दिया मास्केको अभिनय छ । ‘चिसो मान्छे’ दीपेन्द्र के निर्देशित फिल्म हो । समीक्षकले राम्रो भनेको यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मालगायतको अभिनय छ ।

‘माइकल अधिकारी’, ‘पासो’ र ‘कृष्ण लीला’ सार्वजनिक प्रदर्शनमा फ्लप फिल्म हो । सौगात मल्ल, सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको फिल्म रञ्जित रौनियारले निर्देशन गरेका हुन् । ‘पासो’ मा भने रिस्ता बस्नेत, सुनिषा बजगाईं, रामकुमार बस्ताकोटीलगायतको अभिनय छ । फिल्म आरबी पुनले निर्देशन गरेका हुन् ।

‘कृष्ण लीला’ पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म हो । दीपक ओलीको निर्देशन रहेको फिल्मले प्रेमकथा उठाएको थियो ।

फिल्म रिलिज गर्दै ‘कान्तिपुर सिनेमाज’ घोषणा

दशैँमा दर्शकले सजिलै फिल्म हेर्न पाऊन् भनेर फिल्म कलेज कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ सुरु गरेको छ । सोमबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक सुरुवात गरेको ‘कान्तिपुर सिनेमाज’ मा सुरुवातसँगै फिचर फिल्मतर्फ ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, वेब सिरिजतर्फ ‘ची मुसी ची’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, सर्ट फिल्मतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ रिलिज गरेको छ । दसैँका लागि भनेर फिल्महरू रिलिज गरिएको सञ्चालक पुरीले बताए ।

‘नेपालमा एउटा राम्रो ओटीटी प्लेटफर्मको खाँचो महसुस देखेकाले ‘कान्तिपुर सिनेमाज’ ल्याएको हो,’ पुरीले भने ।

पूर्वप्रधानमन्त्री ओलीले मनोरञ्जन क्षेत्रमा नयाँ चिजको सुरुवात भएकोमा खुसी व्यक्त गरे । यो प्लेटफर्म कला क्षेत्रका लागि एउटा कोसेढुङ्गा साबित हुने उनले विश्वास व्यक्त गरे । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली मेकर र दर्शकले एउटा छुट्टै प्लेटफर्म पाएको र यो फिल्मकर्मीका लागि राम्रो अवसर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप