सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यो बेला भीआइपी घुम्ने होइन, राहत र उद्धारमा ध्यान दिने हो : गगन थापा

शनिबार, १८ कात्तिक २०८०, ०९ : ४८
शनिबार, १८ कात्तिक २०८०

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा सघाउन आग्रह गरे । 

‘यतिखेर सबैको ध्यान राहत र उद्धारमा हुनुपर्छ । त्यहाँका मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन् । अस्पताल भरिएको छ । भयावह अवस्था छ । कसरी चाँडो भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री जानुभएको छ । उहाँ जानु ठिक हो । त्यो सँगै सबै कुरा परिचालित पनि होस् । तर राहतको बेलाको हाम्रो नमिठो अनुभव पनि छ । अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो भने सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुन्छन् । प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ कामहरू हुनुपर्‍यो ।’ 

उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने समय आएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्न आग्रह गरे । ‘कोभिडको बेलामा प्रदेशले औचित्य पुष्टि गर्ने समय गुमाएको छ । जिम्मेवारी र अवसर थियो नि । कर्णाली काठमाडौँबाट टाढा भयो भनेर सङ्घीयता मागेको होइन ? सङ्घीयताको अपेक्षामा कर्णाली धेरै लागेको हो । अव प्रदेश सरकारले भूमिका देखाउनुपर्छ,’ उनले अघि भने, ‘पश्चिम नेपालमा लामो समय भूकम्प नगएका कारण कुनै समय ठुलो क्षति पु¥याउन सक्छ भनेर चेतावनी दिइएको छ । आजको भुकम्पले सङ्केत गरेको छ, त्यहाँको घरहरुको अवस्था । अब प्रदेश र स्थानीय सरकारले जोखिमपूर्ण बस्तीहरूको पुनः निर्माण गर्नुपर्ने सङ्केत हो । यो सङ्केतलाई बुझ्नुपर्छ । सङ्केतलाई बुझेनौँ र सामान्य रूपमा लियौँ भने भविष्यको क्षति ठुलो हुन सक्छ ।’ 

अहिलेको क्षति न्यूनीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालित हुन उनको अपिल छ । ‘पार्टीका तमाम साथीहरूलाई राहत र उद्धारमा खटिन अपिल गर्छु । स्थानीय सरकार र अरू सरकारलाई मद्दत गर्नुस्,’ थापाले भने । महामन्त्री थापा अन्नपूर्ण सर्किट अन्तर्गत घोरेपानी घान्द्रुक ट्रेकिङ गरेर फर्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप