बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण

बुधबार, १७ असार २०८३, ११ : ४७
बुधबार, १७ असार २०८३

सारांश

  • अर्लिङ हालान्डले ५३ सिनियर अन्तर्राष्ट्रिय खेलमा ६० गोल गरेका छन्, जसले उनलाई क्रिस्टियानो रोनाल्डोको कीर्तिमान नजिक पुर्याएको छ ।
  • नर्वेले आइभोरी कोस्टलाई २-१ गोलले हराउँदै विश्वकप इतिहासमा पहिलो नकआउट जित हासिल गरेको छ ।
  • हालान्डले हालसम्म विश्वकपका तीन खेलमा पाँच गोल गरिसकेका छन् र उनलाई वर्तमान फुटबलका उत्कृष्ट गोलकर्ताको संज्ञा दिइएको छ ।

डलास । अर्लिङ हालान्ड डलासको मैदानमा उभिएका थिए । उनको अनुहारमा चम्किलो मुस्कान छाएको थियो भने टाउकोमा भाइकिङ हेल्मेट ढल्किएको थियो । उनी यो ऐतिहासिक क्षणको भरपूर आनन्द लिइरहेका थिए ।

नर्वेले आइभोरी कोस्टलाई २-१ गोलले हराएको थियो । यो विश्वकप इतिहासमा नर्वेको पहिलो नकआउट जित हो । 

खेलाडी र समर्थकले सँगै मिलेर प्रख्यात ‘भाइकिङ रो’ सेलिब्रेसन मनाए, जहाँ मार्टिन ओडेगार्डले ड्रम बजाइरहेका थिए । यस ऐतिहासिक जितको नायक उनै हालान्ड बने । 

उनले प्याट्रिक बर्गको पासमा गरेको प्रहार आइभोरियन गोलकिपर याया फोफानाले गोललाइन नजिकैबाट रोक्ने प्रयास गरे पनि सफल भएनन् । यो उनको उत्कृष्ट अन्तर्राष्ट्रिय गोल नभए पनि सबैभन्दा महत्त्वपूर्ण गोल थियो ।

haaland

जर्मनी र नेदरल्यान्ड्स चुकेको अवस्थामा नर्वे अन्तिम १६ मा पुग्ने पहिलो युरोपेली टोली बनेको छ । यसले २८ वर्षअघि सन् १९९८ मा नर्वेले विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनसँग बराबरी गरेको छ । अब नर्वेको भिडन्त ब्राजिलसँग हुनेछ । 

हालान्डले ५३ सिनियर अन्तर्राष्ट्रिय खेलमा ६० गोल गरिसकेका छन् । उनले औसतमा हरेक ७२ मिनेटमा एक गोल गरेका छन् । यसअघिका ५५ गोल कुनै ठुला प्रतियोगितामा आएका थिएनन् । नर्वेले उनको जीवनकालमा कुनै ठूलो प्रतियोगितामा छनोट हुने अवसर पाएको थिएन । 

तर २०२६ को विश्वकपमा हालान्डले ठुलो मञ्चमा आफूलाई प्रमाणित गरेका छन् । उनले तीन खेलमा पाँच गोल गरिसकेका छन् । उत्तर अमेरिकामा जारी विश्वकपमा लियोनल मेस्सी र किलियन एम्बाप्पेले मात्र उनीभन्दा बढी गोल गरेका छन् ।

इंग्ल्याण्डका पूर्वकप्तान वेयन रुनीले भने, ‘नर्वे निकै राम्रो टोली हो र यसको मुख्य कारण उनी नै हुन् । आफ्ना गोलमार्फत उनले आफू विश्वकप स्तरको खेलाडी भएको प्रमाणित गरेका छन् । उनी निकै खतरनाक छन् । उनी खेलमा धेरै नदेखिए पनि विजयी गोल गर्न सफल भए ।’ इंग्ल्याण्डकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी स्टेफ हउटनले यी ठूला खेलाडीले विजयी गोल गर्ने निश्चित जस्तै रहेको प्रतिक्रिया दिइन् ।

हालान्डले नर्वेका लागि पछिल्ला १३ प्रतिस्पर्धात्मक खेलमा लगातार गोल गर्दै २५ गोल पुर्‍याएका छन् । यसमा मोल्डोभा, इजरायल र इस्टोनियाविरुद्धको गोल मात्र समावेश छैन । इटालीलाई ४-१ ले हराएर नर्वेलाई सन् २००० पछिको पहिलो ठूलो प्रतियोगितामा छनोट गराउन पनि उनले दुई गोल गरेका थिए । 

विश्वकपमा उनले इराक र सेनेगलविरुद्ध दुई-दुई गोल गरे । फ्रान्सविरुद्ध उनलाई विश्राम दिइएको थियो । आइभोरी कोस्टविरुद्ध मैदानमा फर्किएका उनले सही समयमा गोल गरेर टोलीलाई जिताए ।

डलासको मैदानमा उनी उत्कृष्ट खेलाडी भने थिएनन् । एन्टोनियो नुसा र अमाद डियालोले उनीभन्दा राम्रा गोल गरेका थिए । ८६औँ मिनेटसम्म हालान्ड शान्त देखिएका थिए । उनले खेलमा जम्मा १० पास खेले जसमध्ये ८ सफल भए । उनले ९० मिनेटमा जम्मा २७ पटक बल छोए । 

haaland-2

तर उनका गोल देखावटी नभए पनि सही समय र स्थानमा हुने गर्छन् । नर्वेका लागि उनले पेनाल्टीबाट जम्मा ६ गोल मात्र गरेका छन् । 

डलासमा एक नर्वेजियन समर्थकले भने, ‘उनी हाम्रो लागि सबैथोक हुन् । यस्तो क्षणमा उनी निर्णायक बन्छन् । उनी नर्वेले अहिलेसम्म पाएका र सायद भविष्यमा पाउने उत्कृष्ट खेलाडी हुन् ।’ 

प्रशिक्षक सोल्बाकेनले पनि विश्वकपका तीन खेलमा पाँच गोल गर्ने यी खेलाडीलाई आफूले अरू कोहीसँग साट्न नचाहने बताए । उनले हालान्डलाई आजको विश्व फुटबलका उत्कृष्ट गोलकर्ताको संज्ञा दिए ।

यस्तो अवस्थामा हालान्डको तथ्यांक कतिसम्म पुग्न सक्ला भन्ने प्रश्न उब्जिएको छ । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोसँग उनको तुलना गरेर हेर्न सकिन्छ । 

रोनाल्डोले पोर्चुगलका लागि २३१ खेलमा १४५ गोल गरेका छन् । यो भनेको हरेक १.५९ खेलमा एक गोल हो । हालान्डले हरेक ०.८८ खेलमा एक गोल गरेका छन् । यस हिसाबले हालान्डले आफ्नो १२८औं खेलमा रोनाल्डोको कीर्तिमान भेट्टाउन सक्छन् । 

नर्वेले वर्षमा करिब १० खेल खेल्ने हो भने हालान्डले ३२ वर्षको उमेरमै रोनाल्डोको कीर्तिमान छुन सक्छन् । यदि नर्वे सन् २०४० सम्मका सबै ठुला प्रतियोगितामा छनोट भयो र हालान्डले सबै खेल खेले भने उनी ४१ वर्षको हुँदासम्म २६० अन्तर्राष्ट्रिय गोल गर्न सक्छन् । यो अनुमान मात्र भए पनि अहिलेका लागि हालान्ड नर्वेका सर्वोत्कृष्ट भाइकिङ हुन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप