सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायलय

सर्वोच्चमा एक तिहाइ न्यायाधीश खाली, मुद्दाको चाप बढ्दो

न्याय परिषद्का सदस्य घुमघाममा व्यस्त, कोरम नपुग्दा बसेन बैठक
मङ्गलबार, २१ कात्तिक २०८०, ०९ : ३९
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । कात्तिक २० गतेसम्म सर्वोच्च अदालतको लगतमा रहेका मुद्दाको सङ्ख्या हेर्ने हो भने २७ हजार ९७२ थान छन् । सर्वोच्च अदालतमा विचाराधीन २७ हजार ९७२ मुद्दामध्ये २ वर्ष नाघेका मुद्दा १५ हजार २०२ थान र ५ वर्ष नाघेका मुद्दाको सङ्ख्या ४ हजार २८१ थान छ ।

संविधानको धारा १२९ मा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २१ न्यायाधीश रहने व्यवस्था छ । अर्थात् सर्वोच्च अदालतमा बढीमा २१ जना न्यायाधीशको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

हाल सर्वोच्च अदालतमा रहेका मुद्दाको सङ्ख्या र हाल कायम दरबन्दीलाई हेर्ने हो भने यदि २१ जना न्यायाधीश नै उपस्थित भएको अवस्थामा पनि

एक वर्षमा एक न्यायाधीशको जिम्मेवारीमा १ हजार ३३२ थान मुद्दा छन् ।

सर्वोच्च अदालतका मुद्दा कम्तीमा दुई न्यायाधीशको इजलासबाट फैसला हुने भएकाले पूर्ण दरबन्दीमा न्यायाधीशको उपलब्धता हुने हो भने पनि एक बेञ्चले कम्तीमा २ हजार ६ सय ६४ थान मुद्दा फैसला गर्नुपर्ने अवस्था हुन जान्छ ।

तर २ हजार ६ सय ६४ थान मुद्दा फैसला पनि पूर्ण क्षमतामा न्यायाधीश रहँदा र ३६५ दिन नै काम गर्दाको अवस्था हो । सार्वजनिक बिदा, न्यायाधीशको व्यक्तिगत बिदा, दुईभन्दा बढी न्यायाधीशको बेञ्च आदि कारणबाट हेर्ने हो भने एक इजलासलाई औसतमा ४ हजार ५ सय मुद्दाको भार पर्छ, त्यो पनि २१ जना न्यायाधीश नै नियुक्त भएको र इजलासमा रहेको अवस्थामा ।

तर कात्तिक २० गतेसम्मको अवस्था हेर्ने हो भने अहिले एक तिहाइभन्दा कम अर्थात् दरबन्दी सङ्ख्याको करिब ६२ प्रतिशतमात्रै न्यायाधीश छन् । २१ जना दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले १३ जनामात्रै न्यायाधीश कार्यरत छन् भने अबको ४ महिनापछि ६५ वर्षे उमेरहदका कारण वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा पनि अनिवार्य अवकाशमा जाने भएकाले तीन महिनापछि इजलासमा बस्दैनन् ।

तर अवकाशमा गएका न्यायाधीशको स्थानमा नयाँ न्यायाधीश नियुक्ति नहुँदा सर्वोच्च अदालतमा रहेका मुद्दाको चाप बढ्दो क्रममा छ । अहिले मुद्दाको चापका कारण सबैभन्दा बढी दबाब रहेको अदालत भनेकै सर्वोच्च अदालत हो ।

सर्वोच्चमा तत्कालै न्यायाधीशको नियुक्ति सिफारिस गर्नुपर्ने भए पनि न्याय परिषद्का सदस्यहरु कहिले को कता र कहिले को कता हुँदा कोरम नपुगेर बैठक नै बस्न सकेको छैन । जसका कारण सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस अन्यालमै छ ।

संविधानको धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीशको सिफारिस न्याय परिषद्ले गर्ने र संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट शपथ गराउने व्यवस्था छ ।

न्याय परिषद्का अध्यक्षसमेत रहने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ एक साता लामो चीन भ्रमणबाट शुक्रबार राति नेपाल फर्किएका छन् । त्यसभन्दा अगाडि न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी करिब एक महिना अमेरिका बसेर फर्किएका थिए । अहिले न्याय परिषद्का सदस्य रहेका कानुनमन्त्री धनराज गुरुङ अष्ट्रेलियामा छन् । उनी कात्तिक १६ गते अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियाबाट फर्किएलगत्तै उनी तिहारको समयमा पुनः अमेरिकाको भ्रमणमा जान लागेका छन् ।

न्याय परिषद् सदस्यका ‘व्यस्तता’का कारण न्याय परिषद्को बैठक बस्न नसक्दा सर्वोच्चमा न्यायाधीश सिफारिस हुन सकेको छैन । सर्वोच्चमा न्यायाधीशका आकांक्षी रहेका उच्च अदालतका मुख्य न्यायाधीश र कामु मुख्य न्यायाधीशहरु पनि न्याय परिषद्को बैठक कुरिरहेका छन् भने कानुन व्यवसायीको तर्फबाट सर्वोच्चको न्यायाधीश बन्न लालयित रहेकाहरु पनि न्याय परिषद्को बैठक कुरिरहेका छन् । सबैतिरबाट परिषद्को बैठकको अपेक्षा गरिए पनि विविध कारणले परिषद्को बैठक बस्न सकेको छैन ।

तर न्याय परिषद्का एक सदस्यका अनुसार भागबण्डा नमिलेकै कारण र मुख्यतः प्रमुख राजनीतिक दलको तर्फबाट सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा पर्न सक्ने सम्भावित व्यक्तिको नाममा सहमति जुट्न नसक्दा नै न्याय परिषद्को बैठक बस्न नसकेको हो ।

यी हुन् सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन सक्ने व्यक्ति

सर्वोच्च अदालतमा सात न्यायाधीशको रिक्त पदमा करिब १३ जना प्रतिस्पर्धी देखिएका छन् । १३ प्रतिस्पर्धी वा आकांक्षीमध्ये ९ जना उच्च अदालतका न्यायाधीशबाट देखिएका छन् भने ४ जना कानुन व्यवसायीको तर्फबाट छन् ।

सम्भावित नाम १ : नृपध्वज निरौला

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा पर्ने सम्भावित पहिलो नाम हो नृपध्वज निरौला । हाल उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहेका निरौला सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका व्यक्ति हुन् । उच्च अदालतबाट सबैभन्दा सिनियरका रुपमा उनी सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रमुख दाबेदार छन् । उनी अहिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ नियुक्त भएमा २०९३ सालको असार महिनादेखि सोही सालको माघ महिनासम्म करिब ७ महिना नेपालको प्रधानन्यायाधीशसमेत बन्ने सम्भावना रहन्छ ।

सम्भावित नाम २ : डा. राजन भट्टराई

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने दोस्रो नाम हो डा. राजन भट्टराई । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका भट्टराई यसअघि वरीयताको ७४ औं नम्बरमा थिए । तर न्याय परिषद्ले नियमावलीमा संशोधन गरेलगत्तै उनी मुख्य न्यायाधीशपछि वरिष्ठताको पहिलो नम्बरमा छन् । अर्थात् डा. राजन भट्टराई मुख्य न्यायाधीश नृपध्वज निरौलापछिको वरीयतामा छन् ।

२०४७ साल असोज १ गतेबाट न्याय सेवामा प्रवेश गरेका भट्टराई सरकारी वकिल समूहबाट न्याय परिषद्को सचिव हुँदै सर्वोच्चको मुख्य रजिष्ट्रार नियुक्त भएका थिए । २०७५ माघ ८ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भइ हाल उच्च अदालत पोखराको कामु मुख्य न्यायाधीश रहेका भट्टराई संशोधित नियमावलीको आधारमा उच्च अदालतको न्यायाधीशबाट दोस्रो नम्बरमा रहेका कारण सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित नाम हो ।

सम्भावित नाम ३ : सत्यमोहन जोशी थारु

सर्वोच्च अदालतको न्यायाधीशका लागि अर्को सम्भावित प्रतिस्पर्धीको नाम हो सत्यमोहन जोशी थारु । २०६६ साल भदौ २१ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा कानुन व्यवसायीबाट नियुक्त भएका थारु यतिबेला उच्च अदालत विराटनगरको कामु मुख्य न्यायाधीश पदमा छन् । २०१८ साल माघ १५ गते जन्मिएका थारु सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा उनले करिब ३ वर्ष सर्वोच्च अदालतमा सेवा गर्नेछन् ।

सम्भावित नाम ४ : शारङ्गा सुवेदी

सर्वोच्च अदालतको न्यायाधीशका लागि अर्को सम्भावित नाम हो शारङ्गा सुवेदी । २०२३ साल माघ २१ गते जन्मिएकी सुवेदी पनि २०६६ साल भदौ २१ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा कानुन व्यवसायीबाट नियुक्त भएकी हुन् । हाल उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश पदमा रहेकी उनी वरिष्ठता र महिलासमेत भएको कारण सर्वोच्च अदालतको न्यायाधीशमा आउनसक्ने सम्भावना छ । उनी सर्वोच्च अदालतको न्यायाधीश बनेमा करिब ८ वर्ष न्यायाधीश रहनेछिन् ।

सम्भावित नाम ५ : डा. रत्न बहादुर बागचन्द

सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित अर्को नाम हो डा. रत्न बहादुर बागचन्द । २०६६ साल भदौ २१ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा कानुन व्यवसायीतर्फबाट नियुक्त भएका बागचन्द दलित समूहबाट प्रतिनिधित्व गर्छन् । हाल उच्च अदालत तुलसीपुरमा कामु मुख्य न्यायाधीश रहेका बागचन्द २०२६ भदौ १४ गते कैलालीमा जन्मिएका हुन् । उच्च अदालतको न्यायाधीशबाट सर्वोच्च अदालतमा आउन सक्ने सम्भावित सूचीमा बागचन्दको सम्भावना पनि बलियो छ ।

सम्भावित नाम ६ : माधवप्रसाद पोखरेल

सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित अर्को नाम हो माधवप्रसाद पोखरेल । २०१७ साल माघ १२ गते जन्मिएका पोखरेल २०४२ साल असार २ गतेदेखि न्याय सेवामा कार्यरत छन् । सहसचिवबाट जिल्ला न्यायाधीश भइ २०७० साल जेठ २७ गते उनी उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । हाल उच्च अदालत सुर्खेतको कामु मुख्य न्यायाधीश रहेका पोखरेल सर्वोच्चमा न्यायाधीश सिफारिस भएमा हालका लागि जिल्ला न्यायाधीशबाट जाने उनी एकमात्रै न्यायाधीश हुनेछन् ।  

सम्भावित नाम ७ : लोहितचन्द्र शाह

सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित अर्को नाम हो लोहितचन्द्र शाह । २०४३ असार ३० गतेदेखि न्याय सेवामा प्रवेश गरेका उनी क्याडर जज हुन् । सर्वोच्च अदालतको रजिष्ट्रारबाट उनी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । २०७१ भदौ १२ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भइ हाल उनी उच्च अदालत विराटनगरको इलाम इजलासमा न्यायाधीशका रुपमा कार्यरत छन् । २०१८ मंसिर २१ गते जन्मिएका शाह उच्च अदालतमै रहेमा ६३ वर्षे उमेर हदका कारण २०८१ को मंसिर २० गतेबाट अवकाशमा जानेछन् । सर्वोच्चमा नियुक्त भएमा भने उनी २०८३ मंसिर २० गतेसम्म सेवा गर्नेछन् ।

सम्भावित नाम ८ : महेश शर्मा पौडेल

सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित अर्को नाम हो महेश शर्मा पौडेल । २०५० साल साउन १ गतेदेखि न्याय सेवामा प्रवेश गरेका पौडेल क्याडर जज हुन् । २०७३ पुष २९ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भइ हाल उच्च अदालत पाटनको कामु मुख्य न्यायाधीश रहेका पौडेल पनि सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित नाम हो । २०२२ जेठ १२ गते जन्मिएका पौडेल सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा २०८७ सालसम्म सेवामा रहनेछन् ।

सम्भावित नाम ९ : टेकप्रसाद ढुङ्गाना

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने अर्को नाम हो टेकप्रसाद ढुङ्गाना । २०५० साल साउन १ गतेदेखि नै न्याय सेवामा प्रवेश गरेका ढुङ्गाना पनि क्याडर जज नै हुन् । २०७३ पुष २९ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भइ हाल उच्च अदालत पाटनको कामु मुख्य न्यायाधीश रहेका पौडेल पनि सर्वोच्च अदालतको न्यायाधीशका लागि सम्भावित नाम हो । २०२८ साल पुष ६ गते जन्मिएका ढुङ्गाना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा २०९३ साल पुषसम्म न्यायाधीश रहन सक्छन् । उनी अहिले नै नियुक्त भएमा र नृपध्वज निरौलासमेत सर्वोच्चको न्यायाधीश बनेमा ढुङ्गाना वरिष्ठतम् न्यायाधीशसम्म बन्न सक्नेछन् । न्याय परिषद्का सदस्यसमेत रहेका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाको प्रियपात्र मानिने ढुङ्गाना समेत सर्वोच्च अदालतको न्ययायाधीशमा सिफारिस हुने सम्भावित नाम हो ।

सम्भावित नाम १० : डा. दिनमणी पोखरेल

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने अर्को नाम हो डा. दिनमणी पोखरेल । नेपाल सरकारको महान्यायाधिवक्तासमेत रहेका पोखरेल वरिष्ठ अधिवक्ता समेत हुन् । महान्यायाधिवक्ता सर्वोच्च अदालतको न्यायाधीशसरह हुने भएकाले यदि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएमा उनी पहिलो वरीयतामा सिफारिस हुनेछन् । २०३० सालमा जन्मिएका पोखरेल यथावस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएमा नहकुल सुवेदीपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । यस्तो अवस्थामा पोखरेल करिब २ वर्ष सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न सक्नेछन् ।

यसअघि हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्ताबाट राजीनामा गराई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्दा रोलक्रमको बिचमा पारेर गरिएका कारण दिनमणीको हकमा पनि त्यस्तै भएमा पनि उनी नृपध्वज निरौला (हाल सर्वोच्चको न्यायाधीश बनेमा) पछि करिब डेढ वर्ष प्रधानन्यायाधीश बन्न सक्नेछन् ।     

सम्भावित नाम ११ : डा. सुनिल पोखरेल

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने अर्को नाम हो डा. सुनिल पोखरेल । नेपाल बार एसोसिएसनको पूर्व महासचिव रहेका पोखरेल वरिष्ठ अधिवक्ता हुन् । लामो समयदेखि वकालत पेसामा सक्रिय पोखरेल पनि सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सम्भावित पात्र हुन् ।

सम्भावित नाम १२ : विजय मिश्र

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने अर्को नाम हो विजय मिश्र । वरिष्ठ अधिवक्ता मिश्र यसअघि पनि सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुने भन्दै चर्चामा रहेका पात्र हुन् । यद्यपि मिश्रको सम्भावना कति भन्ने कुरा उच्च अदालतबाट कति न्यायाधीश ल्याइन्छन् भन्ने कुरामा निर्भर हुन्छ । कानुनमन्त्री नेपाली कांग्रेसकै भएका कारण कांग्रेसको कोटाबाट कम्तीमा एक जना सर्वोच्चको न्यायाधीशमा पर्ने सम्भावना छ ।

सम्भावित नाम १३ : मेघराज पोखरेल

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने अर्को नाम मेघराज पोखरेल पनि हो । वरिष्ठ अधिवक्ता रहेका पोखरेल पनि नेपाली कांग्रेसकै कोटाबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनसक्ने पात्र हुन् । यद्यपि नेपाली कांग्रेसको कोटाबाट कसले वा क–कसले सिफारिस पाउने भन्ने कुरामा निर्भर हने भएकाले कांग्रेसबाट बढीमा दुई जनाको नाम सिफारिस हुने हुँदा यी तीनमध्ये कुनै दुई नाम सिफारिसमा पर्न सक्छ । तर कांग्रेसबाट एक जनाको मात्रै नाम सिफारिस हुने अवस्थामा पनि यी तीनमध्ये कुनै एक नाम सिफारिसमा पर्ने सम्भावना छ ।

यसपटक सर्वोच्च अदालतको न्यायाधीश सिफारिस र नियुक्तिमा नेकपा एमालेले चासो नदेखाएको र माग समेत नगरेको स्रोतको दाबी छ । एमालेको भागमा पनि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिसका लागि नाम माग भएमा रमेश बडालको नाम सिफारिस हुनसक्ने सम्भावना छ ।

उच्च अदालतको न्यायाधीशबाट सिफारिसमा पर्न सक्ने सङ्ख्या बढीमा ५ जना रहने न्याय परिषद् स्रोतले जनाएको छ । उच्च अदालतबाट कम्तीमा तीन र बढीमा पाँच न्यायाधीशको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुँदा वरिष्ठतामा अगाडि रहे पनि कतिपय व्यक्तिको नाममा धेरै उजुरी रहेका कारण उनीहरुको नाम सिफारिस हुने सम्भावना कम रहेको स्रोतले बताएको छ । उमेर पनि बाँकी रहेका उच्च अदालतका न्यायाधीशहरुलाई हाल उच्च अदालतको मुख्य न्यायाधीश बनाउने तयारीसमेत छ ।

यस्तो अवस्थामा डा. राजन भट्टराई, सत्यमोहन जोशी थारु, डा. रत्न बहादुर बागचन्द, लोहितचन्द्र शाह र महेश शर्मा पौडेललाई तत्कालका लागि उच्च अदालतको मुख्य न्यायाधीश बनाउने र अर्को पटकको नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना पनि छ ।

सर्वोच्च अदालतको न्यायाधीशका लागि आकांक्षी र तयारी तीव्र रहे पनि न्याय परिषद्ले कसरी सहमति जुटाएर सिफारिस गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।

न्याय परिषद्का सदस्यहरु माओवादी कोटाबाट डा. दिनमणी पोखरेललाई रोक्न चाहन्छन् । उनी प्रधानन्यायाधीशको लाइनमा रहने भएकाले दिनमणीलाई रोकेर डीएन पराजुलीलाई न्यायाधीशमा सिफारिस होस् भन्ने चाहन्छन् । तर संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने पोखरेललाई नै न्यायाधीशमा सिफारिस गर्न चाहन्छन् । यही विवादका कारण पनि न्याय परिषद्को बैठक बस्न र सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा ढिलाइ भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप