बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

मङ्गलबार, २१ कात्तिक २०८०, १६ : १५
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । जाजरकोटसहितका भूकम्प पीडितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने निर्णय भएको छ । 

मंगलबार दिउँसो क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले उक्त रकम दिने निर्णय भएको हो । 

बैठकले १० लाख केन्द्रीय समिति र मातहतका समितिबाट उठाउने निर्णय गरेको हो । जसअनुसार पदाधिकारीले ५ हजार, केन्द्रीय सदस्यले तीन हजार, त्यसभन्दा तलका कमिटीले एकहजार र पाँचसय उपलब्ध गराउने निर्णय भएको इन्चार्ज शर्माले जानकारी दिए । प्राप्त रकम एक/दुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए । 

‘मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पदाधिकारी, केन्द्रीय समिति र त्यसभन्दा तलका कमिटीबाट क्रमशः पाँच हजार, तीन हजार, एक हजार र पाँच सय रुपैयाँ गरी १० लाख भूकम्प पीडितलाई दिने निर्णय भएको छ । संकलित रकम एक/दुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ’, शर्माले रातोपाटीसँग भने । 

यस्तै तीन जना उपाध्यक्षको कमाण्डमा राहत संकलन र स्वयम सेवक टोली गठन गरी परिचालन गरेको उनले बताए । शर्माका अनुसार पवन कार्कीको नेतृत्वमा राहत संकलन टोली बनाइएको छ । 

त्यसैगरी उपाध्यक्ष द्वय मदन भुल र अम्बरराज शाहीको कमाण्डमा स्वयंसेवक टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भुल नेतृत्वको १०० जना टोली रुकुम पश्चिम पठाइएको छ भने शाहीको टोली जाजरकोट खटिएको छ । उनीहरू एक महिनासम्म प्रभावित क्षेत्रको पुनर्निर्माण खटिने शर्माले जानकारी दिए । भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप