शनिबार, १२ जेठ २०८१
ताजा लोकप्रिय

वैदिक कथा : सङ्गतको प्रभाव

आइतबार, ०३ मङ्सिर २०८०, १० : ४०
आइतबार, ०३ मङ्सिर २०८०

नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले असललाई खराब र खराबलाई असल बनाउन सक्छ । यसको अर्थ हो जस्ताको सङ्गत गरियो त्यस्तै बनिन्छ वा भइन्छ । आगोको सङ्गतमा आए पानीले पनि तातो बन्नुपर्छ । पानीको सङ्गतमा गए आगोले पनि चिसो हुनुपर्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै अद्भूत कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । एक पटक भेडाको बथानमा एउटी गर्भिणी सिंह आइपुगेकी थिई । उसलाई देख्ने बित्तिकै भेडाहरू भाग्न थाले । भागेका भेडालाई भेट्टाउँछ भनेर दौडिँदा गर्भीणी सिंहलाई अतिरिक्त बल गर्नुप¥यो, जसले गर्दा उसलाई समय नपुग्दै सुत्केरी बेथाले च्याप्यो र तत्कालै त्यहीँ बच्चा जन्माई । तैपनी ऊ एउटा सानो भेडाको पाठो समाउन सफल भई र त्यसैलाई लिएर हिँडी तर उसको बच्चा भने भेडाकै बथानमा छुट्यो । 

ऊ बिस्तारै भेडाकै बथानमा हुक्र्यो, बढ्यो तर भइदियो के भने ठूलो हुँदा पनि भेडाको सङ्गतले गर्दा उसको स्वभाव भने भेडाको जस्तै भयो । भेडाकै बथानमा बस्थ्यो, उनीहरूले जस्तै भ्याभ्या गथ्र्यो, घाँस खाएर प्राण बचाउँथ्यो । 

समय बित्दै गयो उसले पनि भेडाजस्तै बनेर जीवन व्यतीत गरिरह्यो । त्यत्तिकैमा एक दिन एउटा अर्को घटना भयो । भएको के थियो भने सदा झैँ भेडाहरू चौरमा चरिरहेका थिए एउटा जब्बर सिंह आक्रमण गर्न आइपुग्यो । उसलाई देख्ने बित्तिकै भेडाहरूमा भागाभाग चल्यो । अरू त ठीकै थियो, सिंहलाई देखेर भेडाहरू भाग्ने नै भए तर यहाँ त उनीहरूको साथमा सिंहको बच्चा पनि भागिरहेको थियो । आफूलाई देखेर आफ्नै जातिका बन्धु पनि भागेको देखेर सिंंहलाई आश्चर्य लाग्यो । उसले त्यसको रहश्य बुझ्न सकेन र मीठो स्वरमा भन्यो–

‘ए भाइ ! किन भाग्छौ ? पख । मलाई देखेर भेडाहरू भागेको त बुझियो तर तिमी किन भाग्यौ त्यो भने बुझिएन । भेडाहरू हाम्रा आहार हुन् । त्यसैले हामीलाई देख्ने बित्तिकै मार्छ भनेर भाग्छन् तर तिमी हाम्रै जातिका हौ । आफ्नै जातिकालाई देखेर पनि किन यसरी भागिरहेका छौ ? कि आफूलाई पनि भेडा नै ठान्यौ ? तिमी त सिंह हो, सिंह बुझ्यौ ?’

सिंहको कुरा सुनेर भेडो सिंहले डराउँदै भन्यो–

‘भोभो पर्दैन तिम्रो मीठो कुरा तिमीसितै राख । आफ्नै जातिका हौ भनेर खान खोजेका होइन ? म पनि त्यति मूर्ख छैन बुझ्यौ ? मेरा जतिका भनेका त यिनै भेडाहरू नै हुन्, जसको साथमा बसेको छु, खाएको छु, सुतेको छु । जब होस समालेदेखि यिनीहरूको साथमा पाएको छु भने तिमी कसरी मेरो सजातीय हुन सक्छौ ।’

भेडा सिंहको कुरा सुनेर असली सिंह थप आश्चर्यमा प¥यो । आखिर हो के यो ? यसले किन त्यसो भनिरहेको छ ? यस्तैयस्तै सोच्दै उसले भन्यो–

‘कुरो त्यसो होइन भाइ ! तिमीले कुरा बुझेनौ । म तिम्रै सजातीय बन्धु हुँ । त्यसैले तिमीलाई केही गर्दिन । बरू आऊ साथमा । सँगै मिलेर भेडाको सिकार गरौँ ।’

त्यसपछि भेडो सिंहले अनकनाउँदै भन्यो–

‘होइन तिम्रो साथमा आउन सक्दिनँ । किनकि तिम्रो रूप देखेर डर लागिरहेको छ । मीठो कुरामा भुलाएर अन्य भेडालाई जस्तै खाइदियौ भने के गर्ने ? यसै पनि तिम्रो कुरामा विश्वास गर्ने आधार नै के छ र ? तिमी मेरै सजातीय हौ भन्ने छ कुनै प्रमाण छ ?’

त्यसपछि सिंहले त्यसो हो भने आऊ भनेर उसलाई एउटा कुवामा लिएर गयो र टाउको पानीमा डुवाएर उसको अनुहार देखाउँदै बाहिर आफ्नो अनुहार देखाउने गर्न थाल्यो । जब तीनचार पटक यस्तो गरेको थियो ऊ पनि भ्याभ्या गर्न छाडेर सिंहले जस्तै गर्जन लाग्यो । 

धेरै पहिलेदेखि गुरुहरूबाट सुन्दै आएको यस उपनिषद् कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर सङ्गतले पार्ने प्रभाव भने सत्य हो । जबसम्म त्यही सिंह भेडाको सङ्गतमा थियो भेडाको जस्तै गथ्र्यो तर जब उसले सिंहको सङ्गत पायो वा सङगतमा प¥यो तब आफ्नो स्वभाव देखाउन समर्थ भयो । 

यो एउटा सानो दृष्टान्त हो । जहाँ पनि सङ्गतले पार्ने प्रभाव यस्तै हुन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप