आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेशमा माओवादी केन्द्रको जनमत खस्किँदै

अहिलेको तयारीले ०८४ चुनाव जित्न कठिन छ : प्रह्लाद बुढाथोकी
शनिबार, १६ मङ्सिर २०८०, १५ : ४८
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । तराईको आठ जिल्ला समेटिएर बनेको मधेस प्रदेशमा माओवादी केन्द्रको तुलनात्मक रूपमा अन्य प्रदेशमा भन्दा जनमत निकै खस्किएको छ ।

साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार मधेससहित देशभर पार्टी रूपान्तरण विशेष अभियान जारी छ । तर मधेसमा तीन महिने अभियानले माओवादी जाग्न बाँकी नै रहेको स्थायी कमिटी सदस्य एवं अभियानको बारा जिल्ला इन्चार्ज प्रह्लाद बुढाथोकीको बुझाइ छ । अन्य प्रदेशको तुलनामा मधेसमा विशेष समस्या देखिएका पार्टीलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ । तर समग्रमा अभियानले संगठनलाई चलायमान बनाउन राम्रै सङ्केत गरेको बुढाथोकीले बताए ।  

‘तीन महिने अभियानले मधेसमा माओवादी जाग्न बाँकी नै रहेको छ । प्रयत्न जारी छ । त्यही अनुसार गतिविधि भएका छन् । कतै जागेको छ । मुख्य पार्टीलाई चलायमान बनाउने प्रयास हो । त्यसअन्तर्गत विभिन्न गतिविधि भएको छ । अभियानले राम्रै सङ्केत गरेको छ’, उनले भने ।  

अहिलेको तयारीले २०८४ को चुनाव जित्न नसकिने र पार्टीलाई झकझकाउने तथा  चलायमान बनाउने काम भएको उनले बताए । ‘पार्टीलाई नयाँ ढङ्गले नढालीकन अगाडि बढ्न त्यति सजिलो छैन । त्यसका लागि नयाँ कार्यक्रम आउनुपर्छ’, उनले भने, ‘अभियानपछि सङ्गठनात्मक क्षेत्रमा काम गर्न नयाँ कार्ययोजना  सङ्गठन निर्माण, विस्तारको तयारीका लागि अर्को योजना आउँछ । त्यसपछि केही भन्न सकिन्छ ।’ 

समस्या कहाँ छ ? 

मुख्य कुरा पार्टी विधि र पद्धतिमा नबढेकै कारण समस्या उनको अनुभव छ । उनले पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेकाले विधि, पद्धति र प्रक्रियामा ढाल्ने नै चुनौती रहेको बताए । 

‘पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेका छन् । विधि, पद्धति र प्रक्रियामा ढाल्ने चुनौती छ । यी कुरा नभई अन्य काम गर्न सकिँदैन । त्यसलाई रूपान्तरण गर्ने कुरा हो । जनतामा माओवादीप्रति ठुलो अपेक्षा थियो’, तीन महिनाको अनुभव सुनाउँदै उनले भने, ‘सामान्य सांस्कृतिकवादी कोणबाट सोच्नेहरूले उनीहरूलाई भोट दिइरहेका छन् । क्रान्तिकारी र आमूल परिवर्तनकारी सोचमा विकास भए, त्यसबाट प्रभावित भए उनीहरूमात्र रहने हुन् । जसबाट ठुलो परिवर्तन भइरहेको छ भन्ने कुरा जनताले महसुस गरेनन् । त्यसले जनतामा चरम निराशा  देखिन्छ । अहिलेको मुख्य समस्या नै यही हो । हामीले उठाएका एजेन्डाहरू पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको स्थिति हो । पार्टीमा पनि विधि र पद्धतिमा लान सकेनौँ ।’

मधेसको समस्या के हुन् ?

मधेसको समस्याबारे अहिले नै समीक्षा गरेर ठोस धारणा बनाइसकेको उनले बताए । उनकाअनुसार प्रक्रियामै रहेकाले समीक्षा बैठकपछि ठोस रूपमा भन्न सकिन्छ । मुख्य रुपमा पार्टी जुन ढङ्गले निर्माण हुनुपर्ने त्यसबमोजिम हुन नसकेकोले पार्टी खस्किँदै गएको उनको बुझाइ छ । 

‘मधेसमा अन्त भन्दा फरक समस्या छ । अशिक्षा, गरिबी, उत्पीडनलगायतको समस्या छ । चेतनाको स्तर निकै कमजोर छ । यी सबै हिसाबले पार्टी अलि खस्किएको छ । त्यसका पार्टीभित्र गुटबन्दीका कुराहरू छन् । गुटबन्दी अन्तभन्दा मधेसमा चर्को छ । गुटबन्दीले संगठनलाई शिथिल बनाएको छ । नेता तथा कार्यकताको चेतनाको कुराले जनता नेतामुखी हुँदा समस्या आएको छ । त्यसैले पैदा गरेको समस्या पनि हो’, बुढाथोकीले बताए ।  

पुराना दलप्रति जनता किन आकर्षित हुन सकेनन् ? 

नयाँ दलप्रति जनता आकर्षित हुनु स्वभाविक हुने उनको तर्क छ । उनले पुराना दलहरूले परिणाम दिन नसक्दा समस्या आएको बताए । 

माओवादीको हकमा पार्टीलाई व्यवस्थित रूपमा परिचालन गर्न नसक्नु, चुनावी टेक्निक नबुझ्नु, जुन हरकत छन्, ती चिजहरू यहाँको सापेक्षतामा परिचालन गर्न नसक्नु कमजोरी रहेको उनको भनाइ छ । त्यस्तै जात, धर्म र समुदायका आधारमा प्रभावित हुने जनमत बढी भएकाले मधेसमा विशेष कार्यक्रम आवश्यक रहेको बुढाथोकीले बताए । 

३२ वटा निर्वाचन क्षेत्र रहेको मधेसमा २०७४ मा माओवादीले ५ सिट जितेको थियो ।  मधेस प्रदेश सभामा प्रत्यक्षमा ६ वटा सिट जितेको थियो । स्थानीय तहको चुनावमा माओवादीले २१ वटा पालिका जितेको थियो । तर २०७९ को चुनावमा प्रतिनिधिसभातर्फ एक सिट पनि जित्न सकेन । यस्तै माओवादीले प्रदेश सभामा चार वटा सिट जितेको छ । जबकि अघिल्लो चुनावमा ६ वटा सिट जितेको थियो । स्थानीय तहतर्फ मधेसका २१ वटा पालिका जितेको माओवादी यो पटक १० वटा पालिकामा खुम्चिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप