सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

घर–घरमा गएर बीमा सेवा दिन अध्यक्ष सिलवालको निर्देशन

बुधबार, २० मङ्सिर २०८०, १५ : २८
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन दिएका छन् । मंगलबार लुम्बिनी प्रदेशको रूपन्देहीमा बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए ।

स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानुन, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिनसमेत अध्यक्ष सिलवालले निर्देशन दिए ।

ग्रामीण क्षेत्रका बासिन्दाका घरघरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमालेख ल्याउन लघु बीमा कम्पनीहरूलाई उनले निर्देशन दिए ।

कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका छन् । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप