मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संस्थापनइतरको बैठक सर्‍यो, शेखर-गगनको विभाजन टर्‍यो

सोमबार, २५ मङ्सिर २०८०, १९ : ५३
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो । इतर पक्षको बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।

नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक सारिएको बुझिएको छ । महामन्त्री थापाले मंगलबारका लागि बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएका थिए ।

नेता अरजुनरसिंह केसीले सत्तापन इतर पक्षलाई सामुहिक ढंगले अगाडि बढाउन बुधबारका लागि बैठक सारिएको रातोपाटीलाई बताए । 'भोलि गगनजीको उपत्यका बाहिरको कार्यक्रम रहेछ । सबै मिलेर सामूहिक रुपमा छलफल गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ भोलिको सट्टा पर्सी एक बजे बैठक बस्छ ,' उनले भने, 'हामी सबै एककै ठाउँमा हुन्छौं ।' 

नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले पनि मंगलबारको बैठक बुधबारलाई सरेको बताए । नेता कोइराला र महामन्त्री थापा पक्षका नेताहरुले मंगबारकोको बैठकलाई बुधबार सारेर समूहलाई विभाजत हुनबाट रोकेको देखिन्छ । 

१५ औं महाधिवेशनमा सभापतिको तयारीमा रहेका नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध समधुर भने छैन । केन्द्र र प्रदेशको मन्त्री छनोटमा पनि नेता कोइराला र महामन्त्री थापाबिच विवाद देखिएको थियो । नेता कोइरालाले सभापति शेरबहादुर देउवासँग समूहगत भन्दा पनि व्यत्तिगत डिल गरिरहेको थापाको आरोप थियो ।

कांग्रेसका ९ जना मन्त्री संघीय सरकारमा पुग्दा समेत महामन्त्री गगन थापा ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा ‘कमब्याक’ गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । कोशी प्रदेशमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्दा नेता कोइराला र महामन्त्री थापाबिचको सम्बन्ध धुमिलो बन्यो । संस्थापन इतर पक्षकै कार्कीलाई मुख्यमन्त्री बनाउने सन्दर्भमा नेता कोइरालाले बेवास्ता गरेको महामन्त्री थापाको गुनासो थियो ।

 सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिचको संवादबाट कोशीको विद्रोह व्यवस्थापन भएपनि उनीहरुबीच संवादहीनताको अवस्था छ ।

विगतदेखि कोइराला र थापाबिच  आशंका र अविश्वासपूर्ण सम्बन्धन चलिरहेको छ । २०७९ पुस ६ मा संसदीय दलको निर्वाचनबाट कोइराला र थापाबिचको सम्बन्ध लयमा थियो । इतर पक्षको नेताले समूह जोगाउन दबाब दिएपछि कोइराला दलको नेतामा बाध्य भएर थापाको प्रस्तावक बनेका थिए । सभापति देउवासँग दलको नेतामा भिड्दा कोइरालाबाट प्राप्त सहयोग नपाएको थापाको गुनासो थियो ।

कात्तिक २ मा प्रेस युनियन काठमाडौँको शुभकामना आदान–प्रदान कार्यक्रममा कोशी प्रकरणलाई सङ्केत गर्दै महामन्त्री थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाएका थिए ।

संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने हिसाब भए पनि २५ मत मात्र पाएको भन्दै देउवाको विकल्प खोज्न खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।

यस्तै, मन्त्री नियुक्ति लगायतका सन्दर्भमा कोइरालाले सभापति देउवासँग एकलौटी डिल गरेको थापाको गुनासो थियो । विपक्षी खेमाको नेतृत्वको रूपमा कोइराला दह्रो खुट्टा नटेक्दा सभापति देउवासँग संघर्ष फितलो हुन पुगेको थापाको बुझाइ छ ।

असोज १४ मा काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कांग्रेस रूपान्तरण अभियानको कार्यक्रमले कोइराला र थापाबिचको अविश्वासको डोरी थप तन्काउने काम गरेको थियो । नेता कोइराला र महामन्त्री थापाको सहमतिमा कार्यक्रम तय भएको थियो । तर, अन्तिममा पार्टीको ब्यानर बाहिरको कार्यक्रममा सहभागी नहुने भन्दै कोइरालाले बहिष्कार गरिदिएका थिए ।

कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने कोइरालाले महामन्त्री थापासँग संवाद नै गरेका थिइनन् । उक्त कुरा नेता कोइरालाले पनि रातोपाटीसँग कुराकानीमा स्वीकार गरेका थिए । नेता कोइराला र महामन्त्री थापाबिचको दुरी बढाउन मुख्यमन्त्री कार्कीको पनि भूमिका देखिन्छ ।

मुख्यमन्त्री बन्नुअघि र पछि पटक–पटक काठमाडौँ आए पनि कार्कीले पनि महामन्त्री थापालाई कहिल्यै भेटेनन् । काठमाडौँ आएर मुख्यमन्त्री कार्कीले सभापति देउवा, नेता कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाससम्म पुगेर भेटेका थिए ।

महामन्त्री थापाले आफूलाई मुख्यमन्त्री हुनबाट रोक्न भूमिका खेलेको मुख्यमन्त्री कार्कीको बुझाइ छ । ओखलढुंगाको जिल्ला सम्मेलनमा महामन्त्री थापाकै अगाडि मुख्यमन्त्री कार्कीले चर्को विरोध गरेका थिए । कोइरालालाई भावी सभापतिका भएको घोषणा गरेका मुख्यमन्त्री कार्कीले  महामन्त्रीहरुको भूमिका अपरिपक्क रहेको बताएका थिए ।

कांग्रेसका जिल्ला सम्मेलनमा पनि नेता कोइराला र महामन्त्री थापा समूह विभाजित भइरहेको छ । कोइराला सहभागी केही जिल्ला सम्मेलन महामन्त्री थापा निकटले बहिस्कार गरिदिएको थिए । बुधबार नेता कोइराला र थापा एक ठाउँमा उभिएपनि उनीहरुको सहयात्रा शंकापूर्ण नै छ ।

इतर पक्षमा विश्व-प्रदीपको इन्ट्री अनिश्चित

मंगलबारको बैठकबारे महामन्त्री थापासँग छलफल नगरेका नेता कोइरालाले शर्मा र पौडेललाई निम्तो नै नपठएको पाइएको छ । महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत इतर समूहमा जोड्न कोइरालामाथि दबाब दिएका थिए ।  

असोज २ गते बैठकमा कोइरालाले शर्मा र पौडेललाई समेत बैठकमा डाकेका थिए । आफूसँग आन्तरिक परामर्श नगरी एकैचोटि बैठकमा बोलाएको भन्दै शर्मा गएनन् भने पौडेल पनि अनुपस्थित रहे । असोज २ मा बसेको इतर पक्षको बैठकमा वातावरण मिलाएर अर्को बैठकमा महामन्त्री शर्मा र नेता पौडेललाई बोलाउने सहमति भएको थियो । शर्मा र पौडेलले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।

महामन्त्री शर्मा १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर विजयी भएका थिए । तर अहिले उनी नेता सिंहसँग मात्रै सीमित छैनन् । शर्माले पार्टीको संसदीय दलको निर्वाचनमा भने अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए ।

त्यसयता उनी निरन्तर महामन्त्री थापासँग नजिक रहेर काम गरिरहेका छन् । यस्तै नेता पौडेल १४ औँ महाधिवेशनमा सभापति शरेबहादुर देउवाको प्यानलबाटै महामन्त्रीको उम्मेदवार भने थिए । महाधिवशेनमा पराजित भएपछि भने पौडेलले देउवा र सिटौला दुवैको साथ छोडेका छन् ।

संसदीय दलको निर्वाचनमा महामन्त्री थापाको समर्थन बनेका पौडेल त्यसयता थापासँगै सहयात्रा गरिरहेका छन् । १५ औं महाधिवेशनमा नेतृत्व लिने गरी अगाडि बढेका थापाले शर्मा र पौडेलसँगको सम्बन्धन कसिलो बनाएको पाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप