अन्तर्राष्ट्रिय भलिबल रेफ्री चौलागाईलाई प्रश्न : के नेपालमा रेफ्रीको लाइसेन्स किनबेच हुने गरेको सत्य हो ?
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री हुन्, पूर्णप्रसाद चौलागाई । भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने निकै कम रेफ्रीमा पर्छन्, उनी । हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । एसियाली खेलकुदमा रेफ्रीको भूमिकामा सहभागी हुने निकै कम नेपाली खेलकर्मीमध्ये उनी पनि एक थिए । यसका अतिरिक्त भलिबलका अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । त्यसअघि उनी लामो समय राष्ट्रिय रेफ्रीको भूमिकामा पनि सक्रिय दिए ।
भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । राष्ट्रिय खेलको मान्यता पाएको लामो समय बितिसक्दा पनि यो खेलले सरकारबाट पाउनुपर्ने जति सहयोग पाउन नसकेको गुनासो पनि बेलाबखत सुनिने गरेको छ । नेपालमा भलिबल खेलको पछिल्लो परिवेश, नेपाली भलिबलमा प्राविधिक जनशक्तिको अवस्थाजस्ता विषयमा केन्द्रित रहेर चौलागाईसँग गरिएको कुराकानीको सम्पादित अंश :
सरकारले भबिलललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको लामो समय भइसक्यो, भलिबलको अहिलेको अवस्था कस्तो छ ?
भलिबलको अवस्था पहिलाको भन्दा निकै सुधार भइसकेको छ । जुन हुनुपर्ने त्यो त पक्कै भएको छैन, तर राष्ट्रिय खेल घोषणा गरिसकेपछि गाँउदेखि सहर सबैतिर राम्रो देखिइरहेको छु । हरेक महिना कहीँ न कहीँ प्रतियोगिताहरू भएको प्रत्यक्ष पनि देखिन्छ र समाचारहरूमा पनि हेर्न पाइन्छ । खुसी लाग्छ ।
राष्ट्रिय खेल घोषणा भइसकेपछि भलिबल खेलको विकासमा सरकारको लगानी कस्तो छ नि ?
भलिबल खेलमा मात्र होइन, सरकारको लगानीको अवस्थाको कुरा गर्ने हो भने सिङ्गो खेलकुद जगत्मा नै सरकारको लगानी नाजुक छ । सरकारले हरेक आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि छुट्टाउने बजेटका कारण हामी सबै निराश हुने गरेका छौँ । त्यसमाथि राष्ट्रिय खेल घोषण गरेपछि पनि भलिबललाई हेर्ने दृष्टिकोण फेरिएको छैन । अहिले भलिबल क्षेत्रलाई माया गर्ने शुभेच्छुक र प्रायोजकहरुले गर्दा नेपाली भलिबलले यो उचाइ हासिल गरेको हो ।
भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि र पछाडिको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
समयसँगै हरेक कुराको विकास हुन्छ । यसमा कुनै दुई मत हुँदैन । तर, यस्तो विकास भनेको बिस्तारै हुने कुरा हो। खेलकुद क्षेत्रको विकासमा सरकारले विनियोजन गर्ने बजेटले निकै ठुलो अर्थ राख्छ । तर, यो पक्ष निकै निराशाजनक छ । अहिले नेपाल भलिबल सङ्घले हरेक वर्ष तीन देखी पाँचवटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्छ ।तर, यी प्रतियोगिताका लागि पनि राष्ट्रिय खेलकुद परिषद् वा सरकारले दिनुपर्ने बजेट दिएको अवस्था छैन । हामी प्राविधिक क्षेत्रको मान्छे हौँ । प्राविधिक दृष्टिकोणले हेर्दा पनि विभिन्न तालिमहरू सञ्चालन हुनुपर्ने, रेफ्री रिफ्रेसर कोर्सहरू हुनुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्नलाई विदेशमा गएर तालिम लिन पाउनुपर्ने, देशभित्रै पनि विभिन्न कोर्सहरू सञ्चालनमा आउनुपर्ने हुन्छ । तर, त्यस्तो भएको छैन । राज्यले यस्ता कुराहरूमा ध्यान दिएजस्तो मलाई लाग्दैन ।
हरेक भौगोलिक अवस्थामा सहजै खेल्न मिल्ने लोकप्रिय खेल भए पनि नेपालमा भलिबलको विकास किन प्रभावकारी रूपमा हुन सकेको छैन ?
नेपालको परिप्रेक्षमा प्रभावकारी र भूगोलमा सुहाउँदो भएर नै यो खेललाई राष्ट्रिय खेल घोषणा गरिएको हो । नेपालमा विगतदेखि नै भलिबल निकै लोकप्रिय खेल हो । जस्तो सुकै भूगोलमा पनि खेल्न सकिने भएकाले यसले यति धेरै लोकप्रियता हासिल गरेको हो । यो खेल सानो ठाउँमा सजिलै खेल्न सकिने, यसका नियमहरू पनि जो सुकैले सजिलै बुझ्न सक्ने र नन् रिस्की गेम भएकाले यो खेल खेल्दा कुनै चोटपटक पनि लाग्दैन र विपक्षी टोलीका खेलाडीहरूसँग द्वन्द्व पनि हुँदैन ।म त देशभित्र यो खेलको लोकप्रियता दिनदिनै बढिरहेको देख्छु । यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।
पछिल्लो समय भलिबल खेलका प्रतियोगिताहरू कत्तिको आयोजना भइरहेका छन् ?
पछिल्लो समय भलिबलका प्रतियोगिताहरू दिनानुदिन बढिरहेको छ । तर, धेरै प्रतियोगिताहरू सञ्चालन गरेर मात्र यो खेलको विकास हुन्छ भन्ने पनि होइन । राष्ट्रिय खेलका घोषणा गरिसकेपछि सरकारले पनि यो खेलको विकासका लागि ठोस योजना अघि सार्नुपर्ने हुन्छ । विद्यालय स्तरदेखि नै यो खेलको विकास गर्दै लैजानु पर्ने आवश्यकता छ । अहिले नेपालमा भलिबलको राष्ट्रिय टोली मात्र छ । त्यसैले हामीले गुणात्मक विकास गर्दै लैजाने हो भने यू–१९, यू–१८ लगायतका उमेर समूहका टोलीहरू पनि बनाउनु आवश्यक छ । यसले गर्दा राष्ट्रिय टोलीका लागि पनि गतिलो ‘ब्याकअप! तयार पार्न सकिन्छ । यसले दीर्घकालीन रूपमा पनि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्न सजिलो हुन्छ ।
यसमा नेपाल भलिबल सङ्घको भूमिका कस्तो पाउनुहुन्छ ?
अहिले नेपाल भलिबल सङ्घकै भूमिकामा हामी सम्पूर्ण रेफ्री र खेलाडीहरू निर्भर भएको अवस्था छ । भलिबल सङ्घले राम्रो लिडरसिप पायो भने नै यो खेलको गुणात्मक विकास हुने हो । प्रतिभाशाली खेलाडीहरू उत्पादनमा पनि नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समयमा राष्ट्रिय खेलको रूपमा घोषणा गरेपछि भलिबल खेलले गतिलो नतिजा पनि ल्याउन थालेको छ । प्राविधिक पक्ष र प्रशिक्षणको पाटो पनि निकै राम्रो छ । विगत २ वर्षदेखि नेपालको राष्ट्रिय टोलीले विदेशी प्रशिक्षकबाट नियमित रूपमा प्रशिक्षण पाउँदै आएको छ । भलिबल सङ्घले पाँच–सात जनाको सङ्ख्यामा अन्तर्राष्ट्रिय रेफ्रीहरु पनि उत्पादन गरेको छ ।
यसअघि भलिबल सङ्घको नेतृत्व गर्नेहरू पनि बेठिक थिएनन् । तर,समग्र रूपमा हेर्ने हो भने अहिलेको नेतृत्वसँग हामी खुसी छौँ । किनभने अन्तर्राष्ट्रिय रूपमा एफआईभीबी (अन्तर्राष्ट्रिय भलिबल महासंघ) र एभीसी (एसियाली भलिबल महासंघ) सँग खुलेर छलफल गर्ने र नेपालको भलिबल खेलको विकासका लागि स्पष्ट योजनाहरू राख्न सक्ने क्षमता अहिलेको नेतृत्वसँग देख्छु ।
खेलकुद सङ्घहरूमा खेलकुद विकासको भन्दा पनि राजनीतिक विषयले बढी प्राथमिकता पाउँछ भनिन्छ नि ?
अन्य केही खेल सङ्घहरूमा यस्तो भइरहेको पनि देखेको छु ।मैले आफ्नै आँखाले कतिपय खेलमा राजनीति हस्तक्षेप भइरहेको देखेको छु। पहिले हाम्रो भलिबल संघमा पनि राजनीतिक प्रभाव बढी थियो रे । तर,पछिल्लो समय मैले भलिबल संघमा राजनीतिको खासै प्रभाव देखेको छैन । राजनीतिक हस्तक्षेपका कारण दिक्क मान्नुपर्ने अवस्था हामीले भोग्नु परेको छैन । व्यक्तिगत रूपमा सङ्घका कुनै पदाधिकारीको राजनीतिक दलसँग सम्पर्क होला । कुनै पदाधिकारी राजनीतिक दलमा आस्था राख्ने पनि होलान् । तर, त्यसको प्रभाव अहिले सङ्घभित्र भने देखिएको छैन । मेरो विचारमा कुशल खेल पदाधिकारीले राजनीतिकर्मीलाई समेत खेलकुद क्षेत्रको विकासमा परिचालन गर्न सक्नुपर्छ ।
पछिल्लो समय भलिबल खेलमा प्रायोजकको अवस्था कस्तो छ ?
मैले बुझेसम्म प्रायोजकहरू भित्राउने विषय नेतृत्वको क्षमतामा भर पर्छ ।विश्व खेलकुदलाई नै हेर्ने हो भने पनि प्रायोजकहरू नै खेलकुद विकासका मेरुदण्ड हुन् । पछिल्लो पटक नेपाल भलिभल सङ्घले पनि विभिन्न प्रतियोगिता आयोजना गर्दा प्रयोजकहरूको गतिलै उपस्थित रहेको देखिन्छ । त्यसमा पनि नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘काभा विमेन्स प्रतियोगिता’ आयोजना गर्दा पनि प्रायोजकहरूले निकै रुचि देखाएको पाइन्छ । खासमा खेल सङ्घका पदाधिकारीको खुबी भनेकै कुनै पनि प्रतियोगिता आयोजना गर्दा प्रायोजकहरूले कत्तिको चासो देखाउँछन् भन्ने कुरामा भर पर्छ । हाम्रो देशको अहिलेको अवस्था पनि शतप्रतिशत सरकारको मुख ताकेर बस्ने छैन ।अहिलेको नेतृत्वले आफ्नै क्षमतामा हरेक तीन–तीन महिनामा प्रतियोगिताहरू आयोजना गरिरहेको देखिन्छ। यसलाई सकारात्मक रूपमै लिनुपर्ने हुन्छ । सङ्घले आफ्ना खेलाडीहरूलाई कहिले नेदरल्यान्ड्स त कहिले मालदिभ्सलगायतका राष्ट्रमा पठाएर अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पनि दिएको देखिन्छ । यसका अतिरिक्त विदेशी प्रशिक्षकहरूलाई नेपालमै भित्राएर पनि प्रशिक्षण सञ्चालन गरिहरेको देखिन्छ । मेरो विचारमा यो निकै सकारात्मक पक्ष हो । राज्यले निर्वाह गर्नुपर्ने भूमिका खासै प्रभावकारी नदेखिए पनि सङ्घले भने आफ्नो गतिविधिमा कमी आउन दिएको देखिँदैन ।
नेपाली भलिबलमा पुरुष टोलीभन्दा महिला टोलीको प्रदर्शन केही अब्बल देखिन्छ । खासमा यथार्थ के हो?
पक्कै पनि नेपाली महिला टोलीको प्रदर्शन निकै राम्रो छ ।अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि महिला टोलीले स्तरीय प्रदर्शन गर्दै आएको देखिन्छ । महिला टोलीका अधिकांश खेलाडी त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छन् । यसका अतिरिक्त छनोट चरण पार गरेर आउने महिला खेलाडीको सङ्ख्या पनि उल्लेख्य छ । सबै पक्षको उपयुक्त समायोजन भएकाले पनि महिला टोलीको अवस्था राम्रो देखिन्छ । हाम्रो पुरुष टोलीलाई पनि नराम्रो भन्न मिल्दैन । योभन्दा पनि ठुलो कुरा भनेको भौतिक पूर्वाधारको हो । खेलाडीहरूको खानपिनकै विषयमा पनि छलफल गर्न सकिन्छ ।खेलाडीको प्रदर्शनमा धेरै पक्षले असर पारिरहेको हुन्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । नेपालमा एउटा खेलाडीले खेल मैदानमै सक्रिय रहेर आफ्नो जीवन चलाउन सक्ने अवस्था छ कि छैन भन्ने कुराले पनि महत्त्व राख्छ । यदि कुनै खेलाडी मानसिक दबाबमा रहन्छ भने त्यसको प्रत्यक्ष असरखेल मैदानमा उसको प्रदर्शन पनि पर्छ । त्यसैले प्रतियोगिताहरूमा खेलाडीको प्रदर्शनको कुरा गर्दा हामीले अन्य धेरै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ ।
ढिलै भए पनि पछिल्लो समय नेपाल भलिबल सङ्घले राष्ट्रिय टोलीका खेलाडीहरूलाई थोरै भए पनि पारिश्रमिक दिन सुरु गरेको छ । यो निकै सकारात्मक पक्ष हो ।हामीले जतिसुकै तर्क–वितर्क गरे पनि आर्थिक पक्षले निकै ठुलो अर्थ राख्छ । खेलाडीको समस्यालाई सङ्घ, राखेपले, मन्त्रालयले र राज्यले बुझेन भने कसले बुझ्ने ? जहाँसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हाम्रो प्रदर्शनको कुरा छ, धेरै समस्याहरूका कारण हाम्रो बेस नै कमजोर भएको हो कि जस्तो लाग्छ मलाई त । हामीले स्कुल स्तरदेखि नै यी कुराहरू सिक्नु वा सिकाउनु पर्ने थियो । खेलाडीहरूले खेल खेलेर मात्र हुँदैन अबको युगमा खेलाडीहरू शैक्षिक रूपमा पनि अब्बल हुनु आवश्यक छ ।
हाम्रो स्तरमा गुणात्मक सुधार ल्याउन के कस्ता कुरामा ध्यान पुर्याउनु पर्ने अवस्था देख्नुहुन्छ ?
खेल्नलाई ग्राउन्ड चाहियो । टेनिङ गर्नलाई वातावरण चाहियो । खेलाडीका लागि आवश्यक पोसाक, सन्तुलित भोजनजस्ता हरेक कुराको उचित व्यवस्थापन हुनुपर्यो ।हामीले सानाभन्दा साना कुरालाई ध्यानमा राखेर अगाडि बढ्न सक्यौँ भने पक्कै पनि छिट्टै नै नेपाली भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर देखाउने छ । हामीसँग पूर्वाधारको अभाव हो हाम्रा खेलाडीको क्षमतामा शङ्का गर्ने कुनै ठाउँ भेटिँदैन ।
नेपालमा भलिबल खेलको प्राविधिक जनशक्तिको वर्तमान अवस्था कस्तो छ?
खासगरी नेपालमा भलिबल खेलको रेफ्रीहरु धेरै छौँ । सम्पूर्ण रेफ्रीहरु दक्ष नै हुनुहुन्छ। हरेक गाँउ, वडा, प्रदेशहरूमा रेफ्रीहरु यत्रतत्र सर्वत्र नै छौँ। रेफ्रीहरुको दक्षता, योग्यता र क्षमताको कुरा गर्ने हो भने खेल खेलाइसकेपछि उहाँहरू आफैले पनि बुझ्न सक्नुहुन्छ ।
सङ्ख्यात्मक हिसाबमा नेपालमा लाइसेन्सप्राप्त रेफ्रीहरु कति छन्?
नेपालमा लाइसेन्सप्राप्त रेफ्रीहरु पाँच सय जनाभन्दा धेरै हुनहुन्छ । हालै मात्र भलिबल सङ्घले नयाँ मापदण्ड निर्धारण गरेको छ, जुन मापदण्ड धेरै पहिला बन्नुपर्थ्यो । अहिले अन्तर्राष्ट्रिय नियमानुसार, कुनै पनि पनि व्यक्ति भलिबलको रेफ्री भइसकेपछि भलिबलको सर्वोच्च निकाय एफआईभीबीमा दर्ता हुनुपर्छ भन्ने मान्यता छ ।रेफ्रीहरु नेपाल भलिबल संघमा पनि अनिवार्य रूपमा दर्ता हुनुपर्छ भन्ने मान्यता छ । पछिल्लो चरणमा भलिबल सङ्घले सम्पूर्ण रेफ्रीहरुको तथ्याङ्कलाई डाटाबेसमा राख्ने काम पनि निरन्तर रूपमा अघि बढाइरहेको छ । अहिलेसम्म चार सयभन्दा बढीरेफ्रीहरु डाटाबेसमा समावेश भइसकेका छन् । जसमध्ये एक सय जना राष्ट्रिय रेफ्री छन् भने बाँकी तीन सय ५० जनाजति प्रादेशिक रेफ्रीहरु रहेका छन् ।
तपाइँले नेपालमा रेफरीको सङ्ख्या भन्दै गर्दा विदेशमाहजारौँको सङ्ख्यामा खेलाडीहरू भएको देशमा थोरै सङ्ख्यामा रेफ्रीहरु हुने अनि नेपालमा भनेरेफ्रीहरुको सङ्ख्या यति धेरै किन ?
मलाई पनि यही लाग्थ्यो । किनभने हाम्रो देशमा खेलाडीभन्दा बढीरेफ्री उत्पादन भइरहेको अवस्था छ । एकतर्फबाट हेर्ने हो भने त यो धेरै राम्रो पक्ष हो । रफ्रीहरु उत्पादन भइरहनु भनेको देशभित्र भलिबल खेलको विकासमा टेवा पुग्नु पनि हो । तर, रेफरीको जिम्मेवारी निकै गहन हुन्छ । हामीले त्यो जिम्मेवारीलाई कसरी निर्वाह गरिरहेका छौँ भन्ने कुरामा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ । हामी सबै रेफ्रीहरुले आफ्नो क्षमताको मूल्याङ्कन आफैले गर्ने हो ।
पछिल्लो समय विभिन्न प्रतियोगिताका क्रममा रेफ्रीहरुकै कारण विवाद सृजना भएको उदाहरणहरू पनि हामीसँग छ । यति धेरै क्षमतावान् रेफ्रीहरु भएको देशमा यस्तो अवस्था कसरी सृजना हुन्छ छ ?
रेफ्रीहरुकै कारणले विवाद भएको त खासै म देख्दिन। रेफ्री भनेको न्यायाधीश हो । न्याय गर्ने ठाउँले सही न्याय दिनुपर्छ ।प्रतियोगिताका क्रममा रेफ्रीहरुसँगै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शकहरूको पनि उत्तिकै भूमिका हुन्छ जस्तो मलाई लाग्छ । एक–दुई ठाउँमा रेफ्रीहरुको कारणले पनि विवाद भएको हुन सक्छ । रेफ्रीका कारण विवाद नै हुँदैन भनेर म भन्दिन पनि । रेफरीको निर्णयका कारण पनि हो–हल्ला र भै–झगडा हुन्छन् । तर, समग्रमा भन्ने हो भने रेफ्रीकै कारणले मात्रै सधैँ विवाद सृजना हुँदैन । यसको अर्थ सबै रफ्री राम्राछन् भनेर पनि म ठोकुवा गर्दिन । किनभने पक्कै पनि हामी रेफ्रीहरुमा पनि केहीकमी–कमजोरी छन् । रेफ्रीका दुईवटा आँखा हुन्छन् भने दर्शकका हजारौँ आँखाले खेललाई हेरिरहेको हुन्छ । मेरो मान्यता भनेको हामी रेफ्रीहरुले जानीजानी गल्ती गर्नु भने हुँदैन ।
प्राविधिक जनशक्तिको उत्पादनमा नेपाल भलिबल सङ्घको भूमिकालाई कस्तो छ नि ?रेफ्री लाइसेन्समा ब्यापक चलखेलहुने गरेको पनि सुनिन्छ । वास्तविकता के हो ?
म त त्यस्तो देख्दिन । यति धेरै रेफ्रीहरु उत्पादन भइसकेपछि कसरी भए भन्ने प्रश्न त उठ्छ नै । मापदण्डको हिसाबले हेर्ने हो भने त रेफ्रीहरुको सङ्ख्या धेरै नै होला । नेपाल भलिबल सङ्घले रेफ्रीहरु दर्ता हुनुपर्छ भन्ने आह्वान गरेपछि करिब पाँच सय जना रेफरीको नाम दर्ता भइसकेको सुनेको छु् ।नेपाल भलिबल सङ्घले पनि यस विषयमा छानबिन गर्ला । मैले पनि यो विषयमा गुनासो सुन्ने गरेको छु तर, सङ्घले काम गरिरहँदा अहिले नै कसैले पनि आफ्नो छुट्टै धारणा बनाइहाल्नु राम्रो हो जस्तो मलाई लाग्दैन ।
धेरै खेलाडी भएको देशहरूमा पनि रेफरीको सङ्ख्या ९० जना मात्र रहेको पर्याप्त उदाहरण छन् । तर, नेपालमा पाँच सयभन्दा बढी रेफ्री हुनुमा नेपाल भलिबल सङ्घको भूमिकामाथि प्रश्न उठ्छ कि उठ्दैन?
विगतमा के भयो म त्यसतर्फ जान चाहन्न । भलिबल सङ्घको भूमिकामाथि पनि प्रश्न उठाउन सकिने ठाउँ होलान् । तर, अहिले यस्तै प्रकारका विकृति हुन नदिन र यस्ता खाले प्रवृत्तिहरू रोक्कालागि नै रेफ्रीहरुलाई डाटाबेसमा समावेश गर्ने र त्यही डाटाबेसबाट स्तरीय रेफ्रीहरुलाई एफआईभीबीमा पठाउने अनिरेफ्रीहरुलाई वर्गीकरण गर्ने काम सङ्घले गरिरहेको छ । आशा छ, निकट भविष्यमा रेफ्रीहरुको उचित व्यवस्थापन नेपाल भलिबल सङ्घले गर्नेछ।
हालै सम्पन्न एसियाली खेलकुदमा तपाईँ नेपालको प्रतिनिधित्व गर्ने एक मात्र भलिबल रेफ्रीहुनुन्थ्यो। एसियाली खेलकुदमा नेपाली भलिबलको प्रदर्शनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
खासमा एसियाली खेलकुदमा मैले नेपालको खेल हेर्न पाइन। म रेफरीको भूमिकामा सहभागी भएको थिएँ । यस्तो अवस्थामा मलाई नेपालको खेल खेलाउने जिम्मेवारी दिइँदैन । त्यसमाथि त्यहाँ भलिबलको मात्र चार वटा स्टेडियम थियो । तर, हाम्रो सबैभन्दा ठुलो प्रतियोगिता नै एसियन गेम हो। यति महत्त्वपूर्ण प्रतियोगितामा पनि नेपाली भलिबल खेलाडीको प्रदर्शन निकै राम्रो रह्यो । एसियाका प्रभावशाली राष्ट्रहरूको सहभागिता रहने एसियाली खेलकुदमा हाम्रा खेलाडीले गरेको प्रदर्शनलाई म असाध्यै राम्रो भन्छु ।
पक्कै पनि हरेक ठुला प्रतियोगितामा सहभागी हुने टोलीको लक्ष्य उपाधि जित्नु नै हुन्छ । प्रतिद्वन्द्वी जतिसुकै ठुला भए पनि हामीले शिखर चुम्ने सपना नै देख्ने हो । तर, त्यो लेभलमा सफलता हात पार्न हामीले अझ धेरै मेहनत गर्नुपर्ने हुन्छ । जापान, इरान, चीनजस्ता राष्ट्रहरू भनेको तुलनात्मक हिसाबले असाध्यै बलिया राष्ट्रहरू हुन् । खेलकुद क्षेत्रमा उनीहरुले गरेको लगानी पनि निकै ठुलो छ ।त्यसैले पनि यी राष्ट्रहरूसामु हामी निरीह बन्ने हो । मेरो एउटा सुझाव के छ भने वास्तवमा देश विकास गर्ने हो भने खेलकुद क्षेत्रमा अझ बढी लगानीको आवश्यक छ । विश्वलाई आफ्नो देश चिनाउने सबैभन्दा प्रभावशाली माध्यम भनेकै खेलकुद क्षेत्र हो ।
नेपाली भलिबलमा प्रशिक्षणको पाटो कति प्रभावकारी देख्नुहुन्छ नि ?
हरेक खेलाडी, प्रशिक्षक र रेफ्री आफूसम्बद्ध खेलको नियममा अपडेट हुन जरुरी छ । भलिबलका नीति–नियम अनिवार्य रूपमा कोचहरूले पनि जान्न जरुरी छ । किनभने एउटा रेफ्रीमात्रैले हरेक नियमहरू जानेर खेललाई नियन्त्रण गर्न सक्दैन । यी सम्पूर्ण नियमहरू खेलाडी, कोच, अफिसियल र अन्य खेल पदाधिकारीले पनि बुझ्नु जरुरी छ । प्रशिक्षकको अवस्था अहिले नेपालमा जति हुनुपर्ने त्यतिहुनसकेको छैन । नेपाल भलिबल सङ्घले विदेशबाट मगाएर पनि तालिमहरू प्रदान गरिरहेको छ। तर, पूर्वाधार र सुविधाहरू भएन भन्ने खेलाडीहरूको गुनासो छ । यी सम्पूर्ण कुराहरूको समाधान राज्यबाट भयो भने नेपाली भलिबलको भविष्य राम्रो देखेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित
-
ह्युमपाइपले जोडियो तातोपानी नाका
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का