सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थका आधारमा नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिए सरकारलाई कुशासनको अर्को धब्बा लाग्छ : गगन थापा

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : १४
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताएका छन् ।

वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको भन्दै उनले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नका लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताएका हुन् ।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको पनि बताए ।

शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए ।

उनले कुनै अध्ययन र आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण शुरु हुने जिकिर गरे ।

‘नेपाल स्टक एक्सेन्जको अनुमति दिनुभन्दा पहिला पुँजीबजारको अवस्थाबारे अध्ययन गरेर कसरी र किन दिने भनेर निक्र्योल गरेपछि मात्रै दिनुपर्छ भन्ने नेपाल सरकारको निष्कर्ष हो । त्यसैको आधारमा धितोपत्र बोर्डलाई भन्यो । संसदको समितिले पनि ठिक हो भनेर नदिनु भन्यो’, उनले भने, ‘त्यसको केही समयपछि संसदको त्यही समितिले दिनु भनेर निर्देशन दिएको देखिन्छ । यो कुरालाई आड लगाएर केही कुरा सुनिरहेका छौं । धितोपत्र बोर्डको नेतृत्व विदा हुन केही दिन बाँकी छ । यस्तो बेलामा विदा बस्ने चलन हुन्छ । तर अहिले रातारात गरेर एक खालको दबाब सिर्जना गरिदै छ । ’

त्यो दबाबको आधारमा नयाँ लाइसेन्स त्यो पनि केही समूहलाई पोस्ने र फाइदा हुने गरी दिने तयारी भएको सुनेको भन्दै थापाले यो कुरा प्रधानमन्त्री र मन्त्रीसँगको भेटमा पनि भनेका बताए ।

महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिए ।

सरकारबाट भाषण सुशासनको र निर्णय कुसशासनको गर्ने काम हुनु नहुने भन्दै उनले सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गरे ।

‘कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङगो देश तातिन्छ । फेरि कुनै एक दुई जना मानिस पोस्नको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी नदिने भनेर आफैँ भन्यो । तर अहिले जबरजस्ती गरेर दिने र संसदीय समितिको निर्देशन आड राखेर दिने काय यदी हुन्छ भने अर्को दुर्भाग्यपूर्ण हुन्छ । सरकारले भाषण सुशासनको गर्ने अनि निर्णय एक प्रकारको कुसशासनको गर्ने कुराको निरन्तरता हुन्छ । समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएका छौं’, थापाले भने,  ‘होइन भने नचाहिने कुरामा अर्को कुशासनको धब्बा लाग्ने कुरामा हात नहालोस् । ’

उनले काँग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप