मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कविता : च्यातिएको मन

आइतबार, ०१ पुस २०८०, १४ : ०४
आइतबार, ०१ पुस २०८०

बिहानिको घामसँगै 
टाउको मेरो भारी हुन्छ 
जिङ्ग्रिएको कपाल मेरो
झुस्स प¥या दारी हुन्छ 

चिन्ता बढ्छ भविष्यको
वर्तमान नै ठिक छैन 
पिरहरु धेरै नै छन् 
यत्तिमा नै सीमित छैन 

समाजले कुरा गर्छन् 
यो जाँठोको कामै छैन 
इज्जत पनि किन्नु पर्छ 
मसँग त दामै छैन 

माया पनि किन्नु पर्छ 
पैसा हुँदा मात्र पाइने 
आफ्नो भन्नु कसलाई यहाँ 
भावना पाउन पैसै चाहिने 

यता जाऊँ पैसै खोज्छन् 
उता हे¥यो पैसै रोज्छन् 
तर मसँग त पैसै छैन 
र त म नि मान्छे भइन 

बेरोजगारको हुलामा
म नि एउटा कुनामा छु 
इज्जत हुन्छ  टपरीमा
तर म त दुनामा छु 

यस्तो हैन मैले पनि 
कमाउन न चाहेको 
दुनियाको यो भिडमा 
जमाउन नचाहेको 

सपनाहरू ठुलो बोकी 
म पनि हिड्या अघि बढ्न 
खाल्टा खुल्टी पन्छाएर 
सफलताको शिखर चढ्न 

तर कमजोर भाग्य मेरो 
जे गर्दा नि भएन 
हरेक पल्ट पछारिन्छु 
पाइला अघि गएन 

आकुल ब्याकुल भएर 
पासपोर्ट बनाई गएर 
बिदेसिन्छु अब भन्दै 
घरको टाढा रहेर 

न त आयो भिसा मेरो 
न त पाएँ जानलाई 
अधुरै भए सपनाहरु 
खुसी बोकी लानलाई 

सुस्त चल्छ यो मन मेरो 
बार बार मरेर 
यस्तो भारी मन बोकेर 
बाच्नु खै के गरेर 

आफन्तको तीखो वचन 
यो मुटुलाई छेड्ने गर्छ 
घिन लाग्दो त्यो व्यवहारले
करौती झैँ रेट्ने गर्छ 

मलाई पनि चिन्ता छ नि 
भोलि आउने भविष्यको 
सम्झिन्छु म घरी घरी 
आफ्नैसँग डर मिसिएको 

कहाँ जाऊँ म भागेर
आफूलाई नै त्यागेर 
भिखारी नै भा’को छु 
सफलतालाई मागेर 
निद्राबाट जागेर 
पैसा पछि लागेर
जीवन जिउन बिर्सिसकेँ
धनको सीमा नागेर 

तर म त छोरा मान्छे 
हिम्मत यसै के हार्नु र ?
एक बारको यो जिन्दगी
दोधारमा के पार्नु र ?
सपनालाई के मार्नु र ?
बहानाले के टार्नु र ?
सुन्दर यो जिन्दगानी 
कालो दागले सिँगार्नु र  ?

जिन्दगीलाई जिउने हो 
च्यातिएको मन सिउने हो 
हो चोट आउँछ बेला बेला 
त्यो बेलामा पिउने हो 

सुन्दर यो जिन्दगीलाई 
दुःखसुख मिसाएर 
भारी हुन्छ बेला बेला 
 छहारीमा बिसाएर 

उपहार यो जीवनलाई
धैर्यताले कटाउने हो 
पिउन परे धेरै पीर 
थोरै खुसी चटाउने हो 
दुई हातलाई खटाउने हो
दुःख पीर हटाउने हो 
आँसु हासो मिश्रण गर्दै
जिन्दगीमा अटाउने हो

     –हजरिया, सर्लाही 
     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निश्चल दाहाल
निश्चल दाहाल
लेखकबाट थप