सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : पटेल पञ्जाब, मिचेल चेन्नई र कोट्जी मुम्बईमा

मङ्गलबार, ०३ पुस २०८०, १५ : ३७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा भारतका हर्षल पटेललाई पञ्जाब किङ्सले किनेको छ । पञ्जाबले हर्षललाई ११ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

भारतीय टोलीका तिब्रगतिका बलर हर्षल पटेललाई रोजय च्यालेन्जर्स बैंगलोरले रिलिज गरेको थियो । उनी सबैभन्दा बढी आईपीएलको खेल खेल्ने खेलाडीको सूचिमा पनि पर्छन् । उनले हालसम्म आईपीएलमा ९१ खेल खेलिसकेका छन् ।

आईपीएलमा उनले हालसम्म एक सय ११ विकेट लिइसकेका छन् । ३३ वर्षीय हर्षल दायाँहाते मध्यमतेज गतिका बलर हुन् । उनले हालसम्म भारतका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेल्ने अवसर पाएका छन् ।

आफ्नै शैलीको बलिङका कारण उनी ब्याट्सम्यानहरुलाई झुक्याउन खप्पिस मानिन्छन् । खासगरी मिडिल र डेथ ओभरका लागि उनी निकै उपयुक्त मानिन्छन् । तल्लोक्रममा क्रिज समाल्न आएर उनी टोलीलाई आवश्यक पर्दा आक्रामक ब्याटिङ पनि गर्न सक्छन् ।

हर्षलले हालसम्म भारतका लागि २५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २९ विकेट पनि लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २५ रन दिएर चार विकेट हो ।

अघिल्लो सिजनको आईपीएलमा उनले १३ खेल खेलेर १४ विकेट लिएका थिए । उनलाई त्यतिबेला बैंगलोरले १० करोड ७५ लाख भारतीय रुपैयाँमा किनेको थियो । त्यतिबेला चेन्नई र हैदराबादले पनि उनलाई खरिद गर्न चासो देखाएका थिए । यसपटक आईपीएलको अक्सनमा उनको नाम सेट–२ मा परेको थियो । उनको न्युनतम मुल्य दुई करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी न्युजिल्यान्डका ड्यारेल मिचेललाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । ३२ वर्षीय अलराउन्डर मिचेलका लागि चेन्नईले १४ करोड भारतीय रुपैयाँ खर्चिएको हो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् ।

यसैगरी दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीलाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । उनलाई मुम्बईले पाँच करोड भारतीय रुपैयाँमा किनेको हो । उनी प्रभावशाली बलर हुन् । दायाँहाते तिब्रगतिका यी बलरको सामना गर्न विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानहरु पनि हच्किन्छन् ।

२३ वर्षीय कोट्जीले दक्षिण अफ्रिकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । हालसम्म भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनले विश्वकपमा २० वटा विकेट लिएका थिए ।

भारतीय पिचमा पनि उनको प्रदर्शन अब्बल रहँदै आएको छ । कोट्जीले हालसम्म दक्षिण अफ्रिकाका लागि चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ६ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर तीन विकेट हो ।

घरेलु टी–२० क्रिकेटमा भने उनले ४२ खेल खेलेर ६० विकेट लिइसकेका छन् । आईपीएलमा भने उनले पहिलो पटक खेल्न लागेका हुन् । यसपटक अक्सनमा उनी सेट–२ मा परेका थिए । उनको न्युनतम मुल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप