बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीका १३ अस्पतालको स्तरोन्नति गरिने, निरन्तर बजेट विनियोजन गर्ने सरकारको तयारी

स्वास्थ्यमा नागरिकको पहुँच बढ्छ : मन्त्री जोशी
शुक्रबार, ०६ पुस २०८०, १२ : ४९
शुक्रबार, ०६ पुस २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले आफू मातहत रहेका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले हाल सेवा प्रवाह गर्दै आएको धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, मकवानपुरको हेटौंडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृतिं अस्पताल, काठमाडौँको टोखा चण्डेश्वरी अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, रसुवाको रसुवा अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तरोन्नति गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालय सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनका अनुसार भक्तपुर अस्पतालको क्षमता पनि ३०० शय्याको बनाउने निर्णय भएको छ भने धादिङ अस्पताल, त्रिसुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई १०० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ ।

यस्तै, सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाई स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शय्या र टोखा चण्डेश्वरी अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, रसुवा अस्पताललाई २५÷२५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिएको छ ।

यसअघि १०० शय्याको क्षमतामा सञ्चालित हेटौंडा र भक्तपुर अस्पतालको स्तरोन्नतिको तयारी भइरहेको उनले बताए । धादिङ अस्पताल, सिन्धुली अस्पताल ५०÷५० शय्या, त्रिशुली अस्पताल २५ शय्या र बकुलहर अस्पताल १५ शय्यामा सञ्चालन हुँदै आएका छन् ।

यस्तै चौतारा अस्पताल २५, रामेछाप २५, पशुपति चौलागाई स्मृति अस्पताल ५ र मेथिनकोट अस्पताल ५ शय्याको अस्पतालका रुपमा सञ्चालन भइरहेका छन् । टोखा चण्डेश्वरी अस्पताल १५, बज्रबाराही चापागाउँ अस्पताल १५ र रसुवा अस्पताल ५ शय्यामा सञ्चालन छन् ।

१ अर्ब ३१ करोड बजेट

प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ करोड ६२ लाख रुपैयाँ, धादिङ अस्पतालको लागि १० करोड ७ लाख रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ करोड ४१ लाख रुपैयाँ, रत्ननगर  बकुलहर अस्पतालका लागि ६ करोड ७१ लाख रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ करोड ८८ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर सेवा प्रवाह गर्दै आएका १३ वटा अस्पतालको स्तरोन्नतिका लागि सरकारले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ । 

प्रदेश सरकारले ती अस्पतालहरुको व्यवस्थापनका लागि १ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ बजेट व्यवस्था गरेको सूचना अधिकारी डा. भुसालले बताए । 

उनका अनुसार प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ करोड ६२ लाख रुपैयाँ, धादिङ अस्पतालको लागि १० करोड ७ लाख रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ करोड ४१ लाख रुपैयाँ, रत्ननगर  बकुलहर अस्पतालका लागि ६ करोड ७१ लाख रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ करोड ८८ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । 

यस्तै सिन्धुली अस्पतालका लागि १७ करोड ७५ लाख रुपैयाँ, भक्तपुर अस्पतालका लागि २१ करोड ५१ लाख रुपैयाँ, बज्रबाराही चापागाउँ अस्पतालका लागि ६ करोड ४६ लाख रुपैयाँ, टोखा चण्डेश्वरी अस्पतालका लागि ५ करोड ४४ लाख रुपैयाँ, मेथिनकोट अस्पतालका लागि ६ करोड ५७ लाख रुपैयाँ, चौतारा अस्पतालका लागि ६ करोड ७२ लाख रुपैयाँ, रसुवा अस्पतालका लागि ४ करोड ११ लाख रुपैयाँ र त्रिशूली अस्पतालका लागि १८ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी भुसालले बताए ।

health m

केही अस्पतालको भवन तथा औजार उपकरण खरिदका लागि सम्बन्धित अस्पतालले नै खरिद गर्ने गरी बजेटको व्यवस्था गरेको उनको भनाइ छ । 

मन्त्रालयले विनियोजन गरेको बजेटबाट त्रिशूली, भक्तपुर र सिन्धुली अस्पतालले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् भने हेटौंडा अस्पतालमा स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त बजेटबाट एमआरआइ मेसिन जडान कार्य अन्तिम चरणमा रहेको उनले बताए । अन्य अस्पताललाई पनि आवश्यक औजार तथा उपकरणका लागि सरकारले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको उनको भनाइ छ ।

स्वास्थ्यमा नागरिकको पहुँच बढ्छ : मन्त्री जोशी

प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल स्तरोन्नतिले नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गरेको बताए । उनका अनुसार अस्पताललाई स्तरोन्नति गर्दा स्वास्थ्य सेवा स्तरीय र व्यवस्थित हुनका साथै सहज स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्नेछ ।

411889962_788779192848211_7682986559040998681_n

मन्त्री जोशीले आगामी वर्षहरुमा अझै सुविधायुक्त अस्पताल बनाउँदै लगिने बताए । यसअघि नै करारमा कर्मचारीहरु नियुक्त गरी स्वीकृत शय्याभन्दा बढी सेवा दिँदै आएको र हाल सो कार्यलाई व्यवस्थित बनाउन मन्त्रिपरिषदबाट निर्णय गरिएको मन्त्री जोशीको भनाइ छ ।

सरकारले अस्पतालको सेवालाई व्यवस्थित बनाउन प्राविधिकतर्फ करारमा रहेका ५९९ कर्मचारीलाई स्थायी गर्ने गरी प्रदेश किताबखानामा दरबन्दी दर्ता गरी प्रदेश लोक सेवा आयोगबाट विज्ञापन गर्ने तयारी भएको उनले बताए । सो संख्याका स्थायी कर्मचारीले मात्र सहज स्वास्थ्य सेवा प्रवाह गर्न कठिन हुने हुँदा अपुग १५९ जना प्राविधिक कर्मचारी अस्पतालले नै करारमा भर्ना गर्नेगरी मन्त्रालयले स्वीकृति प्रदान गरेको उनले बताए ।

संघीय सरकारबाट प्राप्त ८८२ प्राविधिक, प्रशासनिक तथा आयुर्वेदिक र अतिरिक्त समूहका कर्मचारीहरुबाट सेवा प्रवाह गर्नेगरी अस्पताल व्यवस्थापनको तयारी सरकारले गरेको मन्त्री जोशीको भनाइ छ । प्रदेश सरकारले निरन्तर रुपमा प्रशासनिक तथा प्राविधिक खर्चका लागि बजेट तर्जुमा गर्ने र आवश्यक औजार उपकरण समेत सम्बन्धित अस्पतालले नै खरिद गर्नेगरी रकम व्यवस्था गर्ने तयारी गरिएको उनले बताए ।

मन्त्री जोशीले भने, ‘ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्यमा पहुँच वृद्धि गर्न र सहजता प्रदान गर्न अस्पताल स्तरोन्नति फलदायी हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप