आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशी प्रदेशले सजिलै हरायो बागमती प्रदेशलाई

शुक्रबार, ०६ पुस २०८०, १२ : २९
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा कोशी प्रदेशको यो दोस्रो जित हो । यसअघि बिहीबार आफ्नो पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । बागमती प्रदेशको भने यो पहिलो हार हो । यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले १८.१ ओभरमा केवल दुई विकेट गुमाएर ९२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

कोशी प्रदेशका लागि ओपनर काजल श्रेष्ठले अविजित ४१ रन बनाइन् । उनले ५१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी अप्सरी बेगमले पनि ४१ रन बनाइन् । उनले ५४ बलमा एक छक्का र चार चौका हिर्काइन् । कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री दुई रन बनाउँदै आउट भएकी थिइन् । कोशी प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । बागमती प्रदेशका बलर संस्कृति फुयाल र सोनी पाख्रिनले एक–एक विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशका माथिल्ला चार ब्याटरले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । उनीहरुले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

पाँचौँ नम्बरकी ब्याटर यशोदा बिष्टले टोलीका लागि ४१ रनको योगदान गरिन् । उनले ५४ बलमा चार चौका पनि प्रहार गरिन् । छैटौँ नम्बरकी ब्याटर अस्मिना कर्माचार्यले पनि टोलीको खातामा २४ रन थपिन् । टोलीको कप्तान समेत रहेकी उनले २४ बलमा तीन चौका प्रहार गरिन् ।

बागमती प्रदेशका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीले अतिरिक्त रुपमा चार रन पाएको थियो । कोशी प्रदेशका बलर सबनम राई र अप्सरी बेगमले दुई–दुई विकेट लिए । संगीता राईले पनि एक विकेट हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप