सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

आन्तरिक अर्थतन्त्रमा देखिएन सुधार

आइतबार, ०८ पुस २०८०, २१ : ५६
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउँदै आए पनि व्यवहारमा त्यसो हुन नसकेको तथ्याङ्कले देखाएको छ । मौद्रिक नीतिको समीक्षापछि अर्थ मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका थिए ।

यसबाहेक अर्थमन्त्री डा. महतले पटक–पटक आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिइरहेको बताउँदै आएका छन् । तर, बाह्य क्षेत्रको तथ्याङ्क ठिकठाक देखिँदा आन्तरिक अर्थतन्त्रमा भने सुधारको संकेत देखिएको छैन । ५ महिनाको भन्सार विभागको तथ्याङ्कले समेत आन्तरिक अर्थतन्त्रमा गतिशीलता नफर्किएको देखाउँछ ।

आन्तरिक माग धान्न चाहिने वस्तु उत्पादनका लागि पर्याप्त उद्योगधन्दा कलकारखाना नहुँदा आवश्यक पर्ने अधिकांश वस्तु विदेशबाट ल्याउनुपर्ने स्थिति छ । यस्तै, उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत विदेशबाटै आउँछ ।

गत आर्थिक वर्षको ५ महिनाको अवधिमा आयात भएको वस्तुको तुलनामा यो वर्षको सोही अवधिमा ३.३९ प्रतिशतले आयात घटेको छ । यसले अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको भने पनि आन्तरिक मागमा बढोत्तरी नआएको स्पष्ट पार्छ ।

यस्तै, यस अवधिमा नेपालको निर्यात समेत ६.०९ प्रतिशतले खुम्चिएको छ । आयातमा आएको गिरावटको ठ्याक्कै दोब्बरले निर्यात खुम्चिएको छ । यसबाट, माग घटेर विदेशी वस्तुको आयात मात्रै घटेको नभइ निर्यात पनि प्रभावित बनेको देखिन्छ ।

वैदेशिक व्यापारतर्फको अधिकांश सूचक नकारात्मक अवस्थामा छ । व्यापारघाटा घट्नुबाहेक अन्य सूचकलाई सकरात्मक रुपमा लिन सकिँदैन । सोही कारण सरकारले अर्थतन्त्रमा सुधारको छनक देखिइरहेको बताउँदै आए पनि त्यसो हुन नसकेको तथ्याङ्कले देखाउँछ ।

नेपाल राष्ट्र बैंकका अनुसार औद्योगिक कच्चा पदार्थका रुपमा रहेको एमएस विलेटको आयातसमेत खुम्चिएको छ । यसबाट निर्माण क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नरहेको पुष्टि गर्छ । यस बाहेक, कच्चा सोयाबिन तेल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको समेत आयात खुम्चिएको छ । यसबाट बजारमा माग नै नरहेको देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार चार महिनाको अवधिमा सुनको आयात ५५ प्रतिशतले खुम्चिएको छ ।

शुद्ध फलामको आयात २.५ प्रतिशतले घट्दा डिजेल ९ प्रतिशतले र पेट्रोल ३ प्रतिशत तथा एलपी ग्यास २१ प्रतिशतले घटेको छ । यसबाट आन्तरिक बजारमा आर्थिक गतिविधि न्यून देखिन्छ । डिजेल र पेट्रोलको खपत अर्थतन्त्र चलायमान बन्दामात्रै हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि निरन्तर पेट्रोलियम पदार्थको खपत घट्दो अवस्थामा छ । जबकि, बिजुलीबाट चल्ने सवारीको प्रयोग बढ्दो अवस्थामा रहे पनि पेट्रोलियम पदार्थको आयात तथा प्रयोग विस्थापन नै गर्ने अवस्थामा विद्युतीय सवारी पुगेको छैन ।

यस्तै, नेपालबाट धागोको निर्यात समेत घटेको छ । ऊनी गलैँचा र कार्पेटको निर्यात समेत घट्दा जमोठ कपडा र जुटबाट बनेका सामग्रीको समेत निर्यात खुम्चिएको अर्थ मन्त्रालको तथ्याङ्कले देखाउँछ । यसबाहेक, भारतीय नीतिका कारण फस्टाइरहेको पाम तेलको निर्यातमा समेत ८१ प्रतिशतको गिरावट आएको छ ।

घाटामा बजेट खाता

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको बजेट खाता घाटामा छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट तय गरिएको लक्ष्यअनुसार आजको मितिसम्म सरकारी बजेट खाता झण्डै १ खर्ब रुपैयाँले घाटामा छ । सरकारले आजसम्म ४ खर्ब ९३ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ । जबकि, आजसम्म ३ खर्ब ९६ अर्ब ६६ करोड रुपैयाँमात्रै आर्जन गरेको छ । यसअनुसार ९७ अर्ब रुपैयाँले बजेट खाता घाटामा छ ।

चालु वर्षका लागि अर्थमन्त्री डा. महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । हालसम्म लक्ष्यको २८.२ प्रतिशत मात्रै खर्च भएको छ । यसमा पनि विकास बजेट १२ प्रतिशतमात्रै खर्च भएको छ । विकास खर्च नबढ्दा निर्माण क्षेत्र सुस्ताउने र समग्र अर्थतन्त्रमै त्यसको प्रभाव पर्ने गर्छ ।

चालु खर्च ३३ प्रतिशत हुँदा वित्तीयतर्फ २५ प्रतिशतमात्रै खर्च भएको छ । यसबाट समेत देशको आन्तरिक अर्थतन्त्रको वर्तमान अवस्था बुझ्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप