सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

बढ्यो फिल्म निर्माण, ८ महिनामा एक सयवटा दर्ता

सोमबार, ०९ पुस २०८०, ११ : ००
सोमबार, ०९ पुस २०८०

काठमाडौंँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को छायाङ्कन बिहीबार सम्पन्न भयो । हरिवंश आचार्य, विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ५०औँ दिनको नियमित छायाङ्कनपछि सकिएको हो ।

‘महाजात्रा’ मात्र होइन, दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’, सिमोस सुनार निर्देशित फिल्म ‘हात्तीछाप’ र मिलन चाम्स निर्देशित फिल्म ‘अन्जली’को पनि भर्खर छायाङ्कन सकिएको छ ।

‘डिग्री माइला’, ‘रङ्गेली’, ‘दान्भी’, ‘अगस्य’ लगायत केही फिल्म छायाङ्कन पूरा गर्ने तरखरमा छन् भने ‘फर्की फर्की’, ‘११ः५५’, ‘यो मन त नेपाली हो’ लगायत करिब आधा दर्जन फिल्म फ्लोरमा छन् ।

त्यसो त यतिबेला छायाङ्कनका लागि तयारीमा रहेका फिल्म पनि कम छैनन् । जसमा भर्खर घोषणा भएको ‘राजमहल’देखि सुरेन्द्र पौडेलको निर्देशन रहने ‘वरिष्ठ बलराम’, विश्वास तिमल्सिना र राज ऋषिको निर्देेशन रहने ‘लोकल हिरो’, दीपेन्द्र के खनालको निर्देशन रहने ‘मेयर’, सन्तोष सेनको निर्देशन रहने ‘बलिदान’, यम शेर्पाको निर्देशन रहने ‘कार्साङ’, वसन्त निरौलाको निर्देशन रहने ‘ज्वाइँ साब’ र दिनेश राउतको निर्देशन रहने ‘पूजार सार्की’ लगायत छन् ।

छायाङ्कन सकाएका, फ्लोरमा रहेका, छायाङ्कन तयारी गर्दै गरेका मात्र होइन, निर्माण घोषणा गर्दै भित्रभित्र पोष्टप्रोडक्सनमा रहेका फिल्मसमेत धेरै छन् । फिल्म क्षेत्रका यी गतिविधि नियाल्ने हो भने अहिले फिल्म निर्माण बढेको अनुमान लगाउन सकिन्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का पनि पछिल्लो समय फिल्म निर्माण बढेको बताउँछन् । दिन प्रतिदिन बढ्दो फिल्म क्षेत्रको आकर्षणले निर्माण बृद्धि भएको हुन सक्ने उनको अनुमान छ ।

‘फिल्मको प्रदर्शनमा ५० प्रतिशत सेयर पाउने निर्णय, ३ मिनेटको टिजर हलमा फ्रिमा बज्ने निर्णयले पनि निर्माण उत्साह थपेको हो’, खड्काले भने ‘अब सर्भर चार्ज लगायत धेरै सुविधा निर्माताको पक्षमा थपिँदै छ । त्यसले पनि फिल्म निर्माण अझै बढाउँछ भन्ने लाग्छ ।’

निर्माण बढेसँगै फिल्मको व्यवसाय पनि बढाउनु पर्ने चुनौती थपिएको खड्का सुनाउँछन् । उनी थप्छन्, ‘निर्माण बढ्नु राम्रो हो । निर्माण अनुसार व्यवसाय बढाउन सकियो भने फिल्म उद्योग पनि फस्टाउँछ ।’

चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी (पीडित) पनि फिल्म निर्माणमा उत्साहजनक प्रगति देखिएको बताउँछन् ।

‘पछिल्लो समय फिल्म निर्माण प्रक्रियामा उत्साहजनक प्रगति देखिएको छ । स्तरीय फिल्म निर्माणको क्रम बढ्दो छ’, बुढाथोकीले भने, ‘नेपाली फिल्मप्रति पब्लिकको रुचि बढेको पनि देखिन्छ ।’

अहिलेको स्थिति कायम रहने हो भने नेपाली फिल्मको बजार राम्रो चलायमान हुने अनुमान बुढाथोकीको छ ।

‘हालै धेरै फिल्मको छायाङ्कन सकिएको छ । केही फिल्म छायाङ्कन सकाउने तरखरमा छन् । केही फ्लोरको तयारीमा समेत देख्न सकिन्छ’, बुढाथोकी थप्छन् ।

उनी भन्छन्, ‘मौलिक कथाका, फरक धारका फिल्म समेत बन्दैछन् । त्यो उत्साहजनक कुरा हो ।’

८ महिनामा एक सयभन्दा बढी दर्ता

छायाङ्कन र निर्माण घोषणाको तुलनामा फिल्म दर्ता भने निकै धेरै भएको देखिन्छ । यो वर्षको वैशाखदेखि मङ्सिर अन्तिमसम्म अर्थात् ८ महिनामा मात्रै चलचित्र विकास बोर्डबाट एक सयभन्दा बढी फिल्मले निर्माण इजाजत लिएका छन् । यो सूचीमा नेपाली फिचर फिल्मदेखि जनजाति र भाषाभाषीसम्मका फिल्म छन् । इजाजत पत्र लिनेमा पुराना राम्रा ब्यानरदेखि नयाँ ब्यानरसम्म देख्न सकिन्छ ।

यसले पनि फिल्म निर्माण द्रुत गतिमा वृद्धि भइरहेको सङ्केत गरेको छ । बोर्डले पनि पहिलेको तुलनामा यो वर्ष फिल्म दर्ता बढी भएको बताएको छ ।

वैशाखमा देववाणी, सिक्कुम, डाकिनी लुकिङ, हकरा, बाघचाल, डेष्टिनेशन इन्ड अफ द लाइन, जोखाना र ज्वाइँसाबले निर्माण इजाजत लिँदा जेठमा कारा, चोरको स्वर, बलिदान, म्याउ, सोलीडोली, फन फनी, देवघाट, नीरफूल, उनको सुइटर, रंग नम्बरले निर्माण इजाजत लिएका छन् ।

त्यस्तै असारमा सैबै ट, मायाबी, हाम्रो मेयर साव, श्रद्धा सुमन, वाणी, आर्यतारा, उपहार, हिमालयन रोबिनहुड, नौलाख तार, ओह प्रिय, देश प्रेमी, काजी, विमान २०३०, कार्साङ, कोत पर्व, फर्की फर्की, वरिष्ठ बलराम र साउनमा ‘हली’, तेलभिसा, रावायण, अनागरिक, होलटाइमर, जय नेपाल, रंगेली, जम्प, घरज्वाईं, चमेलीको पोइले निर्माण इजाजत लिएका छन् ।

भदौमा महानगर (पुनर्निर्माण)सँगै सुरु भएको निर्माण इजाजत लाइटर, तिम्रै हुने मन छ, डिङ्जे, पापी मन, सेमेःबा, मोदिबेनी, हब्बा, सट्कट् रातारात, मालामाल, गिज्री, एल्लो, अवतार, भिमादेवी इन सिड्नी, कोसेढुङ्गा, परदेशी २ पुन निर्माण, १२ गाउँ, युक्पुङ, राजमहल र असोजमा ट्विंकल ट्विंकल, पसले, हृदयको यात्रा, पञ्चामृत, थत्थमा, बिहार से काठमाडौँ, तिमी भए पुग्छ, जुनूनको अन्त्य, मायाको बदला, ब्रम्हजंगको भिडियो (पुनर्निर्माण), लोकल हिरो, पल्लबी, घर संसारले पनि अनुमति लिएका छन् ।

यस्तै कात्र्तिकमा रेडअन, छब्बीस करोड, बेहुली, खजुरे ब्रो, टेण्डर, आरवीले निर्माण इजाजत लिँदा मङ्सिरमा भने यो मन त मेरो हो, दुखी आत्मा, लाखे आजु, पूजार सार्की, सोफी, सुगुप र गाउँ नै रमाइलो, अर्गानिक माया, रिमै, इन्दिरा धिमे मैचा, मनसार, ऐरी, खेल, चिराख, कंगारु, मायाका रङहरुले निर्माण इजाजत लिएका छन् । यीमध्ये केही फिल्मले पुनः निर्माणको इजाजत लिएको देखिन्छ । कुनै महिनामा ५÷६ फिल्मले मात्र निर्माण इजाजत लिँदा कुनै महिना भने १० भन्दा बढी फिल्मले निर्माण इजाजत लिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप