शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभाका लागि माओवादीभित्र कर्णालीमा चुनाव हारेका पूर्व राज्यमन्त्रीदेखि युवा, विद्यार्थी नेतासमेत आकांक्षी

मङ्गलबार, १० पुस २०८०, १० : ०५
मङ्गलबार, १० पुस २०८०

सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट तीन वटा सिटका लागि प्रतिस्पर्धा हुँदैछ । त्यसका लागि दलहरूले आन्तरिक तयारी समेत गर्न थालिसकेका छन् ।

गठबन्धनकै आधारमा प्रतिस्पर्धा गर्ने हो भने कर्णालीमा तीन सिटमा तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले १/१ उम्मेदवार पाउने छन् । यद्यपि ती दलमा आकांक्षीहरुको भने लामो लर्को लागेको छ ।

नेकपा माओवादीबाट राष्ट्रिय सभामा जान चाहनेहरूमा युवा नेतादेखि बौद्धिक नेता र पूर्व राज्यमन्त्री समेतको चर्चा छ । सुर्खेतबाट पञ्चा सिंह राष्ट्रिय सभाका लागि सम्भावित उम्मेदवार हुन् । उनी जनवर्गीय संगठनबाट राष्ट्रिय सभामा जान सक्ने देखिन्छ । तर, यसअघि सुर्खेतबाट नरबहादुर विष्ट राष्ट्रिय सभा सदस्य भइसकेकाले माओवादीले सुर्खेतबाटै अर्को उम्मेदवार दिने सम्भावना न्यून छ ।

अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेकी सिंह जनवर्गीय संगठनबाट राष्ट्रिय सभामा जान चाहिरहेकी छन् । उनले यो विषयमा आन्तरिक तयारीसमेत गरिरहेको स्रोतले बतायो । 

हुम्लाबाट माओवादीका जिल्ला संयोजक समेत रहेका बौद्धिक नेता डा.दीपेन्द्र रोकायाले पनि आकांक्षा देखाएका छन् । रोकाया यसअघि ०७९ को प्रतिनिधि सभाकै चुनावमा भाग लिन चाहिरहेका थिए । तर, उनी ‘ब्याक’ हुनुपरेको थियो ।  प्रदेश योजना आयोगमा समेत काम गरिसकेका रोकाया पूर्व पत्रकार हुन् । यस्तै छिमी लामाले पनि आकांक्षा देखाएका छन् । उनी समानुपातिक संविधान सभा सदस्य भइसकेका व्यक्ति हुन् ।

सल्यानबाट सल्यानकी टीका बुढाथोकीले आकांक्षा देखाएकी छन् । उनी सहिद परिवारकी हुन् । कालिकोटबाट केन्द्रीय सदस्य गंगा खड्का र विष्णु विकले आकांक्षा देखाएका छन् । दलित कोटाबाट विक सम्भावित उम्मेदवार हुन् ।

जुम्लाबाट गोमा कुवँरले पनि राष्ट्रिय सभामा आकांक्षा देखाएकी छन् । ०७९ मा प्रतिनिधि सभामा उनी पराजित भएकी थिइन् । कुवँर पूर्व राज्यमन्त्री समेत भइसकेकी नेतृ हुन् । उनले एक पटक समानुपातिकबाट संसदको अनुभव बटुलिसकेकी छन् ।

दैलेखबाट पुराना माओवादी नेता थीरबहादुर कार्की र प्रेम कटुवालले आकांक्षा देखाएका छन् । कार्की यसभन्दा अघि एक पटक चुनाव लडेर पराजित व्यक्ति हुन् ।

रुकुम पश्चिमबाट केन्द्रीय सदस्य बसन्त शर्मा, जाजरकोटबाट केन्द्रीय सदस्य गगन खड्का, ढकविर रानाले पनि आकांक्षा देखाएका छन् ।

डोल्पाबाट मालबहादुर रोकाया र मुगुबाट सुकवीर बुढाले पनि आकांक्षा देखाएका छन् । बुढाले लगातार ११ वर्ष पार्टीको जिल्ला नेतृत्व सम्हालेका छन् ।

स्रोतका अनुसार भागबन्डामा दलित कोटा प¥यो भने कालिकोटका विष्णु विक एक नम्बरमा उम्मेदवार हुने देखिन्छ । उनी माओवादीमा निकै पुराना नेता पनि हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जिल्लाबाट नाम पठाउन निर्देशन गरिएको रातोपाटीलाई बताइन् । ‘जिल्लाबाट नाम आइसकेपछि प्रदेशमा छलफल हुन्छ र त्यसपछि उम्मेदवारको नाम फाइनल हुन्छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप