शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

कचनकवल–सोलु जागरण अभियानबाट माओवादीले दिन खोजेको सन्देश के हो ?

बिहीबार, २५ वैशाख २०८२, २० : २८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि लगातार कद घट्दै गएको नेकपा(माओवादी केन्द्र) २०८४ सालको निर्वाचनलाई लक्षित गरी जनता केन्द्रित जागरण अभियानमा निस्किएको छ । 

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले शक्तिको स्रोत श्रमिक, कृषक वर्ग समुदाय छोडेर लामो सयम सत्ता स्वार्थमा अलमलिँदा माओवादी आन्दोलन लगातार कमजोर हुँदै गएको निष्कर्ष निकालेको थियो । 

जनयुद्धमा जनताको मुद्दा उठाएर माओवादी छोटो समयमै राजनीतिक उचाइमा पुगेको थियो । तर शान्ति प्रक्रियामा आएपछि पार्टीले बिस्तारै वर्ग समुदाय, सहिद तथा बेपत्ता परिवारसँग टाढिएकाले पार्टीले ठुलो मूल्य चुकाएको बैठकले निष्कर्ष निकाल्यो । 

र, आत्मालोचनासहित फेरि जनतामा जानुपर्ने निष्कर्ष निकाल्यो । यसै विषयलाई ध्यान दिँदै बैठकले पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

केन्द्रीय समिति बैठकको निर्णयअनुसार माओवादीले नेपालकै होचो स्थान झापाको कचनकवलबाट गत फागुन १२ गतेदेखि तराई मधेस जागरण अभियान सुरु ग¥यो । वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन भएको थियो ।

तराई मधेसका २० जिल्ला जोडिएका हुलाकी मार्ग जनसंख्याको हिसाबले असाध्यै महत्त्वपूर्ण रहेको छ । राज्यबाट  सबैभन्दा उपेक्षामा परेका विभिन्न समुदायसमेत यही मार्गअन्तर्गत जिल्लाहरूमा छन् । 

केन्द्रीय नेतृत्व नै ग्रासरुट तहका जनतामाझ पुगेर भेटघाट गर्ने, अन्तर्क्रिया गर्ने, ठुला–साना सभा गरेकाले अभियानबाट बहुआयामिक उपलब्धि भएको माओवादीले निष्कर्ष निकालेको छ । 

यही २१ गते बसेको पदाधिकारी बैठकले अभियान आफैँभित्र रूपान्तरणको शक्तिशाली भाव पैदा भएकोले  समाजवादी विचारधाराको प्रस्थानविन्दु बनेको प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।

‘अभियान बहुआयामिक उपलब्धि हासिल गर्दै समापन भएकाले सोचेभन्दा बढी उपलब्धिमूलक रह्यो । सबैलाई सकारात्मक चुनौती खडा गरेको छ । राष्ट्रिय एकता सुदृढ गरेको छ भने नेपाली समाजको सामाजिक–आर्थिक लगायतका पक्षको व्यवस्थित रूपमा अध्ययन अन्वेषण गर्नको लागि बलियो आधार तयार भएको छ,’ उनले भने, ‘नेता र कार्यकर्तामा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको छ । माओवादी पार्टी र नेतृत्वप्रति सकारात्मक राग जरैसम्म पैदा भएको छ । अभियानका क्रममा सहिद बेपत्ता योद्धाका परिवार र घाइते तथा उनका परिवारसँग घनीभूत रूपमा भेटघाट र छलफल भयो । जसले पीडित परिवार तथा नेता कार्यकर्तामा उत्साह र ऊर्जा पैदा गरेको छ ।’

सापकोटाले अभियानका क्रममा हजारौँ जना पार्टी प्रवेश गरेको दाबी गरेका छन् । उनका अनुसार करिब एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको छ । यद्यपि पार्टीप्रति जनताको राजनीतिक प्रभाव र आकर्षणलाई संगठनलाई ढाल्न निकै मिहिनेत गर्नुपर्ने सापकोटाको बुझाइ छ ।

‘पार्टीप्रति जनताका राजनीतिक प्रभाव र आकर्षणलाई ढिलो नगरीकन संगठित गर्ने कुरा चुनौतीपूर्ण छ । यसैलाई ध्यानमा राखी बलियो संगठनमा ढाल्न पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट दृढताका साथ संकल्प गरिएको छ,’ उनी भन्छन् ।

पहिलो चरणको अभियानबाट निकै उत्साहित भएको माओवादीले जेठ २ गतेदेखि मध्यपहाडी मार्गकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पूर्वमा पाँचथरको चियोभङ्ज्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघटसम्म रहेको छ । 

करिब १९ सय किलोमिटर रहेको यो मार्गले पहाडका २६ वटा जिल्ला जोडिएको छ । मतदाताको हिसाबले तराई मधेसपछि महत्त्वपूर्ण जिल्लाहरू यसै मार्गमा पर्छन् । यद्यपि माओवादी नेताहरूले अहिलेलाई १० दिनको मात्रै अभियानको कार्यतालिका बनाएका छन् ।

अभियान बैतडीको पाटनबाट सुरु हुने र संसारकै अग्लो हिमाल सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा पुगेर टुंगिने उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट संसद्मा पेस गर्ने भएकाले त्यसमा छलफल गर्न पहिलो चरणमा जेठ १० गतेसम्मको अभियानका कार्यक्रम तय गरिएको पोखरेलले स्पष्ट पारे ।

‘जेठ १५ गतेपछि सरकारले ल्याएको बजेटमाथि छलफल गर्नुपर्ने हुन्छ । अभियानको बाँकी कार्यक्रम पछि तय हुन्छ । जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु भएर १० गते सगरमाथा पुगेर टुंगिन्छ,’ उनले भने ।

अभियान होचो ठाउँबाट सुरु गरेर अग्लो ठाउँमा पुगेर टुङ्ग्याउनुको राजनीतिक सन्देश के हो भन्ने विषयमा उनले फेरि जनमत बिस्तारै माओवादीप्रति केन्द्रित हुँदै गएको रूपमा बुझ्न सक्ने बताए ।

‘विगतमा लामो समय हामी सत्ता केन्द्रित हुँदा कमजोर हुँदै गयौँ । माओवादी कमजोर हुँदा व्यवस्था विरोधी प्रतिगामी शक्ति सलबलाउन थाले । त्यस्ता शक्तिहरूलाई परास्त गर्न यो अभियान सफल भएको छ,’ उनले भने, ‘विगतमा भएका गल्तीलाई आत्मालोचनासहित पार्टीले स्वीकार गरी फेरि जनतामाझ गएका छौँ । आफ्नै वर्ग समुदाय, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग बसेका छौँ । नेतृत्व सीधै ग्रासरुटमा पुग्दा जनताका समस्याहरू प्रत्यक्ष बुझ्ने मौका मिलेको छ । यसले समुदायमा आधारित समाजवाद निर्माण गर्न रक्तसञ्चार भएको छ ।’

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद अर्यालले हरेक निर्वाचनमा खुम्चिँदै गएको पार्टी जनता केन्द्रित अभियानले पार्टीको कद अग्लिँदै गएको रूपमा पनि विश्लेषण गर्न सकिने बताउँछन् । 

नेपालको होचो स्थान केचनकवलबाट सुरु गरेको अभियान सोलुखुम्बुमा पुगेर टुङ्ग्याउनुको अर्थ माओवादीप्रति फेरि आम जनता आकर्षित हुँदै गएको सन्देश दिन पनि अग्लो स्थान रोजिएको उनको भनाइ छ ।

‘नेपालकै सबैभन्दा होचो स्थान झाबाट सुरु भएको अभियान पहाडको अग्लो स्थान सोलुखुम्बुमा समापन गर्ने प्रस्तावअनुसार नै दोस्रो चारणको अभियान थालिएको हो । यो अभियानले दिन खोजिएको सन्देश माओवादीप्रति जनमत आकर्षित हुँदै गएको छ । समाजवादी क्रान्तिका लागि यो अभियानले आधार बनाउँदै लगेको छ भन्ने नै हो,’ उपाध्यायले भने ।

अर्का उपमहासचिव हरिबोल गजुरेलले जरा केन्द्रित अभियानले पूर्वबाट माओवादी फेरि उदाइँदै छ भन्ने सन्देश प्रवाह भएको जिकिर गर्छन् ।

‘हामीले आफ्ना वर्ग समुदाय भुलेर लामो समय सत्तामा बस्दा पार्टी कमजोर भयो । यो अभियानले खासगरी पूर्वी क्षेत्र तथा सहरी क्षेत्रमा जनमत बढ्दै गएको छ । यसलाई अझै दुई वर्ष मिहिनेत गर्न सकियो भने २०८४ को निर्वाचनमा माओवादी बलियो शक्तिका रूपमा स्थापित हुने सम्भावना देखिन्छ,’ उनले भने ।

प्रवक्ता सापकोटा यस्ता अभियानले पार्टीलाई सकारात्मक चुनौती थपिएको जिकिर गरे । ओली सरकारको नालायकीका कारण जनतामा बिस्तारै माओवादीप्रति भरोसा बढ्दै गएको, समाजवाद निर्माणका लागि आधार तयार गरेको, अग्रगामी कार्यदिशा रहेको, पार्टीप्रति पूरै समर्पित भएर लागेका कार्यकर्ताको ठुलो पङ्क्ति आफूसँग रहेको, विचार र नेतृत्व धेरै माथिबाट स्थापित भएको रूपमा उनले विश्लेषण गरे ।

यद्यपि २०८४ सालमा ठुलो पार्टी बन्नका लागि मुख्य चुनौतीमा आन्तरिक गुटबन्दी, संगठन विस्तार, गुणात्मक वैचारिक प्रशिक्षण, कार्यनीति र रणनीतिबिचको तालमेल भएको स्वीकार गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप