शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभाका लागि कर्णालीबाट कांग्रेसका युवा नेतादेखि मन्त्री भइसकेकाहरूको लर्को

सोमबार, ०९ पुस २०८०, १७ : ३६
सोमबार, ०९ पुस २०८०

सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा लागि नेपाली कांग्रेस कर्णाली प्रदेशबाट आकांक्षीहरुको लर्को लागेको छ । चर्चित युवा नेतादेखि यसअघि नै मन्त्री समेत भइसकेका कांग्रेसका नेताहरुसमेत राष्ट्रिय सभामा जान चाहिरहेका छन् ।

 राष्ट्रिय सभाको उम्मेदवारका लागि कांग्रेस पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारका लागि नाम सिफारिस गरी पठाउन भनेको छ । सोही अनुसार जिल्लाबाट प्रदेश कमिटीमा नाम सिफारिस भएर आइसकेका छन् । 

कर्णालीबाट एउटा अन्य, दलित र महिला सिटमा उम्मेदवार हुनेछन् । राष्ट्रिय सभाका लागि कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले आकांक्षा देखाएका छन् । कालिकोट निवासी शाही यसअघि प्रत्यक्षतर्फ पटक–पटक चुनाव हारेका व्यक्ति हुन् । यद्यपि उनी युवा वर्गमा निकै चिनिएका नेता हुन् । पार्टीभित्र प्रदेश कमिटीको सभापतिमा समेत पराजय भोगेका शाहीले राष्ट्रिय सभामा जान चाहेका हुन् । कालिकोटबाट नै कालीबहादुर सहकारी, दैलेखबाट रवीन्द्रराज श्रेष्ठ, हिमबहादुर शाही, रंगबहादुर शाहीको नाम चर्चामा छ । हिमबहादुर शाही ०७४ मा समानुपातिकबाट प्रदेश सभा सदस्य भई कानुन मन्त्री समेत भइसकेका नेता हुन् । रंग शाही पनि गणतन्त्र भन्दा पहिला नै सांसद भइसकेका पुराना नेता हुन् । 

सुर्खेतबाट डम्बर जिसी लगायतका पुराना नेताहरू छन् । मुगुबाट हस्तबहादुर मल्ल, जाजरकोट सनक कार्की, रुकुम पश्चिमबाट कृष्ण रोकाया, मानबहादुर नेपाली, सल्यानबाट पूर्व केन्द्रीय सदस्य विन्दु रेग्मी, ध्रुव पुरी लगायतका नेताहरूको नाम चर्चामा छ ।  

जुम्लाबाट दीनबन्धु श्रेष्ठको नाम पनि चर्चामा छ । उनी ०७४ मा प्रदेश सभा सदस्य भई जलस्रोत तथा ऊर्जा मन्त्री समेत भइसकेका नेता हुन् । लंक बहादुर शाही लगायत अन्य नेताहरूले पनि चाहना देखाएका छन् । महिलातर्फ खासगरी खगिसरा आचार्य, रामछाया शाही, यशोदा शाही लगायतको नाम चर्चामा छ ।

कांग्रेसले गठबन्धनबाट कर्णालीमा तीन वटा मध्ये दुई वटा सिट पाउनुपर्छ भनेर केन्द्रलाई भनेको एक नेताले रातोपाटीलाई बताए । 

पार्टी केन्द्रले मंगलबारसम्म उम्मेदवारको नाम पठाउन भनेपछि सोमबार जिल्लाबाट आएका नामउपर प्रदेश कमिटीले छलफल चलाएको छ । 

प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा र नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एंव कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सहभागितामा छलफल भइरहेको हो । कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार आजको बैठकमा विविध विषयमा छलफल भएको छ । सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले मंगलबार बिहान पुनः छलफल चल्ने र निष्कर्षमा पु-याइने उनको भनाइ छ । उम्मेदवारको नाम पनि मंगलबार नै टुङ्गिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप