आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

आइतबार, १५ पुस २०८०, १२ : ४४
आइतबार, १५ पुस २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

पहिलो क्वालिफायर खेलमा पराजित भएको कोशी प्रदेशले भने अब इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले एपीएफ क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । पहिलो क्वालिफायर खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरका चार विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको एपीएफ क्लबका लागि इन्दू बर्माले अविजित ५६ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दूले ५० बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरिन् । ओपनर सीता रानामगरले पनि ४५ रन बनाइन् । कप्तानको भूमिकामा रहेकी सीताले केवल ३७ बलमा दुई छक्का र तीन चौका प्रहार गरिन् । ओपरन ज्योति पाण्डेले १२ रन बनाइन् । रोमा थापा १८ रनमा अविजित रहिन् । कोशी प्रदेशकी बलर रुविना क्षेत्रीले एक विकेट लिइन् ।

जवाफी ब्याटिङ गरेको कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन जोडिन् । कप्तान रुविना क्षेत्रीले २२ रन बनाइन् । लकिता राजवंशीले १४ रन बटुलिन् । एपीएफका बलर रेखा रावल, सोनु खड्का, सुमन बिष्ट र सीता रानामगरले एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप