आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी कोशी प्रदेश

सोमबार, १६ पुस २०८०, १४ : २९
सोमबार, १६ पुस २०८०

काठमाडौँ । कोशी प्रदेशको टोली काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार खेलिएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

कोशी प्रदेशले अब बुधवार हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । एपीएफ क्लब गत आइतबार खेलिएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

दोस्रो क्वालिफायर खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १३ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

कोशी प्रदेशको जितमा ओपनर रुबिना क्षेत्रीले ३७ रनको योगदान गरिन् । कप्तानसमेत रहेकी रुविनाले केवल २३ बलको सामना गरी एक छक्का र सात चौका हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले पनि टोलीको खातामा अविजित ३८ रन थपिन् । उनले ३५ बलमा सात चौका हिर्काइन् ।

अप्सरी बेगम १२ रनमा अविजित रहिन् । उनले २१ बलमा दुई चौका प्रहार गरिन् । सुदूरपश्चिम प्रदेशकी बलर लक्ष्मी साउदले एक विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् ।

सुदूरपश्चिमका लागि ओपनर बिन्दु रावलले पनि १७ रन जोडिन् । कविता जोशीले १५ रन बनाइन् । सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशकी बलर सङ्गीता राईले दुई विकेट लिइन् । एलिसा खडिया, निशा शाह र सबनम राईले एक–एक विकेट हात पारे । सङ्गीता राई प्लेयर अफ दी म्याच घोषित भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप